दाहाललाई ओलीका तीन ‘सरप्राइज’, जसले बढायो दूरी

काठमाडौं :
घटनाक्रम
१. कर्णालीमा कँडेलको असफल ‘कू’
असोज २५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुध्द अविश्वासको प्रस्ताव दर्ता भयो । १८ सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्तावको नेतृत्वकर्ता थिए, यामलाल कँडेल । जसमा माधवकुमार नेपाल पक्ष र स्वयं पूर्वमाओवादी पक्षकै ३ नेता थिए । जुन खबर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका लागि ‘सरप्राइज’ जस्तै थियो । दाहाललाई गलाउने ओलीकै रणनीति अनुरुप प्रस्ताव आएको पूर्वमाओवादी पक्षीय नेताहरूको आरोप छ ।
बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्रीको पद धरापमा पर्ने ठानिएको थियो । तर अध्यक्ष दाहाल नेपाल समूहका सांसदसहित आफ्नो समूहका तीन जनालाई प्रस्तावको विपक्षमा ल्याउन सफल भए । अविश्वासको प्रस्ताव अस्वीकृत भयो । तत्काललाई मुख्यमन्त्रीको कुर्सी जोगियो । पूर्वमाओवादी अर्थात् दाहाल पक्षको जीत भयो ।
कर्णाली घटनाले केन्द्रमा दुई अध्यक्षबीचको दूरी बढायो । विवाद समाधान गर्न काठमाडौं बोलाइएका कर्णालीका नेताहरूले दुवै अध्यक्षलाई भेटे । तर समाधानको कुनै उपाय निस्केन । उल्टै दुवै अध्यक्षले छुट्टाछुट्टै निर्देशन जारी गरे । मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट गुलावजंग शाहलाई हटाउने निर्णय बदर गर्ने ओलीको निर्देशन र त्यो टुंग्याउने जिम्मा प्रदेश कमिटीको साथै प्रदेश सरकारलाई दिने भन्दै दाहालले छुट्टै पत्र पठाए । त्यसको ‘इगो’ भने सकिने कुरा भएन । जुन प्रस्ताव अस्वीकृत हुँदासमेत नेता कँडेलले व्यक्त गरेका थिए । उनले अब नयाँ रणनीतिका साथ अघि बढ्ने इकागजलाई बताएका थिए ।
२. मन्त्रिपरिषद पुर्नगठन
लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारीलाई अर्को ‘सरप्राइज’ दिए, मन्त्रिमण्डल पुर्नगठनको । दाहालको इच्छा विपरीत ओलीले असोज २८ मा मन्त्रिपरिषद्मा हेरफेर, नियुक्ति र कार्यविभाजन गरे ।
रक्षा मन्त्रालय सम्हालिरहेका ईश्वर पोखरेललाई मन्त्रिपरिषद कार्यालयमा तानियो । महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिइयो । यस्तै सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बनाइयो ।
मन्त्रिपरिषद् पुनर्गठन अघि कार्यकारी अध्यक्ष दाहाल र ओलीबीच पटक-पटक परामर्श भयो । दाहाललले अधिकांश मन्त्री फेर्नुपर्ने धारणा राखिरहेका थिए । तर सहमति नहुँदै ओलीले एक्कासी मन्त्रिपरिषद् पुर्नगठन गरे ।
यसअघि मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक नियुक्ति गर्दा सचिवालयमा छलफल गर्नुपर्ने पौडेलसहित संयोजकत्वको ६ सदस्यीय कार्यदलले सुझाव दिएको थियो । सुझावमा ‘सचिवालय सदस्यहरूको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने उल्लेख थियो ।
तर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा न त सचिवालयको बैठक डाके न त सचिवालयका सदस्यलाई नै सोधे । कार्यदलको सुझाव लत्याएर पुनर्गठन गरियो । ओलीले आफू निकट पात्रहरुलाई मात्रै मन्त्रिपरिषद्मा समेटेको दाहाल पक्षको आरोप छ । यसले पनि दुई अध्यक्षबीचको दूरी बढायो ।
३ ‘रअ’ प्रमुखसँग गोप्य भेट
ओली-दाहालको सम्बन्धमा चिसो ल्याउने अर्को कारण हो भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको ‘सरप्राइज’ नेपाल भ्रमण । सुटुक्क नेपाल आएका भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा दुई घण्टा गोप्य छलफल गरेर दाहाललाई ‘सरप्राइज’ दिए । भेटका क्रममा रअका प्रमुख गोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याको वार्तामार्फत् समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको भनी प्रधानमन्त्रीको सचिवालयले पुष्टि गर्यो । भेटका क्रममा अरु के-के विषयमा छलफल भयो, केही खुलेन ।
यसले ओली दाहालबीच थप अविश्वास पैदा गर्यो । भारतसँग सीमा समस्याका कारण लामो समय संवादहिनताको अवस्थामा गोयलले सुटुक्क काठमाडौं आएर प्रधानमन्त्री ओलीलाई भेटेपछि दाहाल थप शसंकित बनेका हुन् ।
यसअघि मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक नियुक्ति गर्दा सचिवालयमा छलफल गर्नुपर्ने महासचिव विष्णु पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले सुझाव दिएको थियो । तर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा न त सचिवालयको बैठक डाके न त सचिवालयका सदस्यलाई नै सोधे ।
जसको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत आपत्ति जनाए । निजी विचार भन्दै सार्वजनिक अभिव्यक्ति दिएका प्रवक्ता श्रेष्ठले गम्भीर प्रश्न उठाउँदै विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कूटनीतिक मूल्य र आचारसंहिताविपरितको भेट भएको जिकिर गरे । यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने श्रेष्ठको भनाइ छ । यी त पछिल्ला केही घटनाक्रम हुन्, जसले ओली दाहालको दूरी देखिन्छ ।
परिणामः
पर्सामा दुःखद घटना
पछिल्लो समय ओली-दाहालबीचको दूरी बढ्दै गएको नेकपाकै नेताहरू बताउँछन् । यसैको पछिल्लो उदारहण हो, पर्सा घटना । पर्सामा पूर्वमाओवादी र एमाले समूहको विवादमा एक कार्यकर्ताले ज्यानै गुमाउनु पर्यो । ज्यान गुमाउने नेकपा पर्सा बिन्दवासिनी गाउँपालीका कमिटी सचिव एवं जिल्ला कमिटी सदस्य उमेश चौरसिया हुन् । उनी पूर्वमाओवादी पृष्ठभूमिका कार्यकर्ता हुन् ।
घटनाका दोषीलाई कारबाहीको माग गर्दै पूर्वमाओवादी पक्षले एक हप्तादेखि आन्दोलन गरिरहेको थियो । बिहीबार बल्ल प्रहरीले जाहेरी दर्ता गरेको छ । जाहेरीमा पूर्वसांसद राजकुमार गुप्ताको नामसमेत भएपछि प्रहरीले जाहेरी लिन नमानेको प्रहरीले बिहीबार मात्रै लिएको हो । दोषीलाई कारबाहीको माग गर्दै पूर्वमन्त्री पार्टी स्ठायी समिति सदस्य मातृका यादवसहितका नेताहरू आन्दोलनमा थिए । प्रहरीले प्रधानमन्त्री ओलीकै दबाबमा जाहेरी दिन नमानेको आन्दोलनरत नेताहरूको आरोप लगाइरहेका थिए ।
सो घटनाका दोषीविरुद्ध मुद्दा दर्ता गर्न प्रहरी नमान्नु अत्यन्तै बिडम्बना भएको भन्दै कार्यकारी अध्यक्ष दाहालले एकल रुपमा विज्ञप्ति नै जारी गरेका थिए । उनले चौरसियाको हत्या घटनाबारे तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न ओली नेतृत्वको सरकारसँग मागसमेत गरेका थिए ।
आफ्नै पार्टीको सरकार छ । एउटा जिल्लामा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्न कार्यकारीलाई विज्ञप्तिमार्फत् सरकार गुहार्नुपर्यो । यसले पार्टी कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीको दुरी देखाउँछ । दाहालको सचिवालयकाअनुसार प्रधानमन्त्री ओलीसँग दाहालको प्रत्यक्ष भेटवार्ता नभएको एक हप्ता बढी भयो । सचिवालयकाअनुसार तत्कालै भेटवार्ता गर्ने पनि कुनै कार्यक्रम तय भएको छैन ।
केन्द्रीय समिति स्थगित
आगामी १५ देखि १७ गतेसम्म बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक एक महिना पर सारिएको छ । कोभिड-१९ महामारीको कारण देखाउँदै बैठक सारिएको छ । बैठक मङ्सिर १५ देखि १७ गते आयोजना गरिने नेकपाले जनाएको छ । तर नेकपा कार्यकर्ता भने कोभिड बहाना मात्रै भएको बताउँछन् ।
नेकपा केन्द्रीय सदस्य निरज आचार्यले नेतृत्वको गृहकार्य अभावका कारण बैठक सरेको बताए । महामारीको समयमा बैठक सर्नु स्वभाविक भएपनि मूलतः गृहकार्य अभाव पनि कारण रहेको उनको भनाइ छ । स्थायी समितिले गरेका अधिकांश निर्णय कार्यान्वयन नभएका कारण बैठक स्थगित भएको उनको तर्क छ । ‘असोजभरिमा पार्टी एकताका बाँकी काम पूरा गर्ने कार्ययोजना थियो । स्थायी समिति बैठकले पनि त्यही निर्णय गरेको हो । जनवर्गीय संगठनका अधिकांशको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन’ उनले भने, ‘पार्टीका केन्द्रीय आयोग अझै गठन हुन सकेका छैनन् । पार्टीको एकीकृत क्रियाशील सदस्यता नवीकरण अझै हुन सकेको छैन । यी काम असोजभित्रै गरिसक्नु पर्ने हो । तर हुन सकेन ।’ यसले पार्टीलाई भने असर गर्ने उनको भनाइ छ ।
केन्द्रीय सदस्य रामकुमारी झाक्रीले बहाना बनाएर बैठक स्थगित गरिएको बताइन् । नेतृत्वको अलोकतान्त्रिक चरित्रका कारण बैठक स्थगित गरिएको उनले आरोप लगाइन् । ‘बिग्रेको पार्टीलाई विभिन्न बहाना चाहिन्छ । केन्द्रीय समिति स्थगित गर्न कोभिड बहाना बन्यो’ उनले भनिन्, ‘पार्टीमा लोकतन्त्र समाप्त भयो । गत भदौमा स्थायी समितले गरेका एउटा निर्णय पनि कार्यान्वयन भएन ।’ पार्टी प्राइभेट कम्पनी जस्तो हुँदै गएको उनले आरोप लगाइन् ।
महाधिवेशन प्रभावित हुने संकेत
दुई अध्यक्षबीचको सहमति हुन नसक्दा आगामी चैतमा गर्ने भनिएको नेकपाको महाधिवेशसमेत प्रभावित हुने देखिएको छ । पार्टी एकताकै बाँकी काम पूरा नभएकाले तोकिएकै समयमा महाधिवेशन नहुने आशंका उत्पन्न भएको हो । केन्द्रीय सदस्य आचार्य पनि यसमा सहमत छन् । अहिलेकै गतिमा पार्टी चले तोकिएको समयमा महाधिवेशन नहुने उनको तर्क छ । ‘अहिलेकै अवस्थामा पार्टी चल्ने हो भने चैतमा महाधिवेशन हुने सम्भव छैन’ उनले भने, ‘निर्णय गर्ने र कार्यान्वयन नगर्ने परिपाटी छ । यसले त आशंका पैदा गर्छ । स्थायी समितिले गरेका निर्णय कार्यान्वयन हुन सकेन । यसले स्वभाविक रुपमा अन्यौलता ल्यायो ।’
तर विगतको परिपाटी त्यागेर दु्र्त गतिमा काम गर्ने हो भने तोकिएकै समयमा पनि महाधिवेशन सम्भव हुने उनको भनाइ छ । ‘मन, बचन र कर्मले तयारी गर्यो भने सम्भव छ ।’ उनले भने, ‘केन्द्रीय समिति बैठकअघि एकताका बाँकी काम सक्नुपर्छ । त्यसपछि कार्यतालिका बनाएर काम भयो भने समयमै हुने सम्भावना पनि रहन्छ ।’
केन्द्रीय सदस्य झाक्रीले पनि अहिलेको अवस्थाले महाधिवेशन अनिश्चित हुने बताइन् । निर्णय गर्ने तर कार्यान्वयन गर्ने परिपाटीले पार्टी बिग्रेको उनको भनाइ छ । ‘पार्टी निर्णय गर्ने र कार्यान्वयनमा ध्यान नदिने भएपछि एकपछि समस्या बल्झिँदै गयो । पार्टीमा निर्णय गर्नलाई मात्र निर्णय हुन्छ, त्यसपछि कार्यान्वयन गर्ने बेला एक अक्षर हुँदैन’ उनले भनिन् । सामूहिक छलफल र बैठकबाहेक निकासको कुनै उपाय नभएको उनी बताउँछन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधान…

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने…

कांग्रेस संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्ट…

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

प्रतिक्रिया