कर्णालीमा सुत्केरीको अवस्था : कलिलैमा ज्यान गुमाउँछन् आमाहरु

सुर्खेत : कालीकोटको रास्कोट नगरपालिका-२ की २८ वर्षीया सीरा सार्की सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भयो । गएको भदौ ९ गते सिराले चौथो सन्तान (छोरा) जन्माएकी थिइन् । तर, उनले छोरालाई समाउन नपाउँदै मृत्युवरण गरिन् । यसअघि पनि उनका दुई छोरी र एक छोरा थिए । अत्याधिक रक्तश्राव र समयमा उपचार नपाएका कारण उनको ज्यान गएको हो ।
‘बिमार लागेपछि उनका श्रीमानाई खबर पुग्यो, श्रीमान् नपुग्दै उनको बच्चा जन्मिसकेछ,’ सिराका जेठाजु हरसिंह सार्कीले भने, ‘घरमै बच्चा जन्मियो समयमै अस्पताल पुर्याउन नसक्दा मृत्यु भयो ।’ सीरालाई भदाै ८ गते बेलुका ५ देखि नै सुत्केरी बेथाले च्यापेकाे थियाे । काममा गएका श्रीमानलाई ५०:३० बजेतिर खबर भयो । ६ बजेतिर श्रीमान् घर आए । श्रीमतीलाई व्यथाले च्यापेको थाहा पाएपछि छिमेकी बोलाउन गए ।
छिमेकी बाेलाउन गएका श्रीमान् फर्किनसक्दै सीराले घरमै बच्चा जन्माइन् । तर, रगत बग्न भने राेकिएन । धेरै रगत बगेपछि स्थानीयकाे सहयाेगमा उनका श्रीमानले स्टेचरमा बाेकेर नजिकैकाे स्वास्थ्य चाैकीमा पुर्याए । बल्लतल्ल स्वास्थ्य चाैकी पुर्याएपनि उनलाई त्यहाँ उपचार सम्भव नहुने भएपछि रिफर गरियाे । सीराका परिवार र स्थानीयले स्टेचरमै बाेकेर त्यहाँबाट एक घण्टा टाढाकाे सामुदायिक अस्पताल पुर्याए । त्यहाँ पनि प्राथमिक उपचार मात्र गरेर सीरालाई जिल्ला सदरमुकाम मान्ममा रहेकाे जिल्ला अस्पताल रिफर गरियाे । तर, सीराकाे उपचार जिल्ला अस्पतालमा हुनै पाएन । सदरमुकामकाे अस्पतालमा उपचारकाे लागि लैजाँदै गर्दा बाटाेमै उनकाे मृत्यु भयाे ।
0000
दैलेखको ठाटीकाँध गाउँपालिका-१ की २२ वर्षिया पार्वती शाहीले पनि सुत्केरीपछि रगत बग्ने समस्याका कारण अकालमै ज्यान गुमाइन् । पार्वतीलाई गएको भदौ ११ गते सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । दिउँसो बच्चा जन्मिएको केही समयमै उनलाई रक्तश्राव भयो । रक्तश्राव नरोकिएपछि स्वास्थ्यकेन्द्रमा उपचार सम्भव भएन । स्वास्थ्य संस्थाले जिल्ला अस्पताल दैलेखमा रेफर गर्यो । जिल्ला अस्पतालमा पनि उपचार सम्भव नहुुने देखिएपछि उनलाई सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफर गरियो । अस्पतालसम्म ल्याउन एम्बुलेन्स पाइएन । अन्य सवारी साधनको तयारी गरेर सुुर्खेत ल्याउँदा-ल्याउँदै बाटोमै उनकाे ज्यान गयो ।
अत्याधिक रक्तश्रावका कारण सुत्केरी आमाको ज्यान गएका कर्णालीका यी घटना प्रतिनिधि हुन् । अत्यधिक रक्तश्राव, इम्बोलिजम्, पाठेघर फुट्ने समस्या, गर्भवती अवस्थामा हुने कम्पन (मुर्छा पर्ने समस्या) लगायतका कारण सुत्केरीहरूले ज्यान गुमाउने गरेको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले बताइन् ।
पछिल्लो चारवर्षको अवधिमा कर्णालीमा ७५ जना सुत्केरी महिलाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा २२ जना, ०७४/७५ मा १९ जना ,०७५/०७६ मा प्रदेशभर १३ जना आमाले ज्यान गुमाएका छन् । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा मृत्यु हुनेको संख्या बढ्यो । उक्त वर्ष प्रदेशभर २१ जना आमाले ज्यान गुमाए । निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक बसन्तमान श्रेष्ठका अनुसार साउन यता ६ महिनाको अवधिमा मात्रै १० जना सुत्केरी आमाले ज्यान गुमाएका छन् ।
दुर्गम क्षेत्रमा स्वास्थ्य उपचारकाे पहुँचबाट टाढा रहेका रहेका गर्भवती तथा सुत्केरी महिलालाई ठूला अस्पतालहरूमा पुर्याउन संघीय सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ‘एअर लिफ्टिङ’ सेवा दिँदै आएको छ । तर, उपचार अभावमा मृत्यु भएकी सीरा र पार्वतीकाे गाउँमा याे कार्यक्रमकाे बारेमा कुनै जानकारी नै छैन ।जटिल समस्या भएका गर्भवती महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धारसमेत हुँदै आएको भए पनि सबैको सहज पहुँचमा छैन । कर्णालीका २७ प्रतिशत गर्भवती महिलाले अझै सुरक्षित सुत्केरी सेवाको पहुँचमा नरहेको सरकारी तथ्यांक छ ।

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रतिक्रिया