आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

२०७८ का लागि प्रकाशन गर्न १४ पात्रोले पाए स्वीकृति

फाइल तस्बिर

काठमाडौँ  :  नेपाल पञ्‍चाङ्ग निर्णायक समितिले विसं २०७८ का लागि १४ पात्रो (पञ्‍चाङ्ग) लाई प्रकाशन स्वीकृति दिएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्‍चाङ्ग , बाबुराम पञ्‍चाङ्ग , नरनाथ पञ्‍चाङ्ग , हिमाल पञ्‍चाङ्ग , अठोला पञ्‍चाङ्ग , तारकेश्वर पञ्‍चाङ्ग , सूर्य पञ्‍चाङ्ग , आकाश दर्शन पञ्‍चाङ्ग , बगलामुखी पञ्‍चाङ्ग , शुभ पञ्‍चाङ्ग , बाबा गोरखनाथ पञ्‍चाङ्ग , कीर्ति पञ्‍चाङ्ग , सिद्धि पञ्‍चाङ्ग , खप्तड तारानाथ पञ्‍चाङ्गलाई स्वीकृति दिइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले  जानकारी दिए ।  
 
विगत वर्षमा पुस अन्तिम साता नै पात्रो प्रकाशन भइसक्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण पञ्‍चाङ्ग कार जम्मा भएर रुजु गर्न समस्या भएकाले काममा ढिलाइ भएको थियो । ढिलो गरी काम शुरु गरिरहेका बेला मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेपछि काम गर्ने कि नगर्ने अलमल भएकाले पनि अर्को तीन हप्ता ढिला भएको उनले जानकारी दिए ।   

पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । विसं २०७० मा वर्तमान समितिलाई गठन आदेश स्वीकृत नभएसम्मका लागि काम गर्नु भनी नियुक्तिपत्र दिइएको अध्यक्ष एवं धर्मशास्त्रका जानकार प्राडा रामचन्द्र गौतमले बताए । यही पत्रका आधारमा पुस २१ पछि समितिको काम ठप्प भएको थियो । माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णय गरी अर्को समिति गठन नभएसम्म विसं २०७८ को पात्रो प्रकाशन र नियमित काम वर्तमान समितिबाटै चलाउने निर्णय गरेसँगै पत्र पुगेपछि फेरि काम सुरु भएको थियो ।
 
समितिले सकेसम्म श्रीपञ्चमी नसके प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गतेसम्म पात्रो प्रकाशन गरिसक्ने जनाएको छ । १४ वटा पात्रोलाई प्रकाशनका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय भए पनि पञ्‍चाङ्ग भित्र राखिने सामग्रीका बारेमा अहिले पनि छलफल चलिरहेको छ । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्‍चाङ्ग भनिन्छ । 

पछिल्लो समय सामान्य मानिसले पनि बुझ्न भनी घडीपलालाई बजेमा रुपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ । यस वर्ष समितिले पनि आधिकारिक पञ्‍चाङ्ग निकाल्ने भएको छ । पञ्‍चाङ्ग लाई स्वीकृति दिएपछि समितिको आधिकारिक पञ्‍चाङ्ग का बारेमा मन्त्रालयमा छलफल गरी काम अघि बढाइने जनाइएको छ । 

मन्त्रालयले यस वर्ष समितिको आधिकारिक पञ्‍चाङ्ग निकाल्न पनि बजेट विनियोजन गरेको छ । आगामी वर्षदेखि समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भएको छ । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष गौतमले बताए । अन्य भित्तेपात्रो पात्रो सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल शुरु भएको समितिले जनाएको छ । रासस