बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

आन्दोलनमा उल्लेख्य जनसहभागिताले हौसला बढायो : कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीका १३ भ्रातृसंस्थाले सोमबार ७७ वटै जिल्लामा गरेको विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्‍न भएको बताएको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्‍न भएको बताएका हुन् । 

विज्ञप्तिमा देउवाले आन्दोलनमा देखिएको जनसहभागिताले कुशासनविरुद्धको जनभावना अभिव्यक्त गरेको बताएका छन् । ‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

देउवाले प्रदर्शनमा सहभागी सबैमा पार्टीका तर्फबाट आभार प्रकट गरेका छन् । प्रदर्शन सफल बनाउन भ्रातृ संघका नेता कार्यकर्ताका साथै पार्टीका शुभचिन्तक र शुभेच्छुकहरू तथा सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका छन् ।