बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

ओली पूर्वराजा ज्ञानेन्द्रको बाटोमा : सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रको बाटोमा लागेको बताएका छन् । सोमबार पार्टीका १३ भ्रातृसंस्थाले काठमाडौँमा आयोजना गरेको विरोध सभामा नेता सिंहले प्रतिनिधि सभामा विश्‍वासको मत लिने आँट नगरेर हठातमा विघटन गरी ओलीले पूर्वराजा ज्ञानेन्द्रको बाटोमा अगाडि बढिरहेको बताए । 

सिंहले आमनेपाली जनताले सडकबाट दबाब दिएपछि ओलीको होस खुल्ने बताए । ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ, ’ सिंहले भने । राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिले ओलीको कदमलाई पनि सच्याउने विश्‍वासमा आफू रहेको उनले बताए । 

ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावनाविपरीत संविधान कुल्चेर प्रतिनिधि सभा  विघटन गरेको नेता सिंहले बताए । ओलीले संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै सिंहले संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिड्न गलत भएको बताए । प्रतिनिधि सभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको ललिपप देखाएको बताए । ओलीले आफू तानाशाह बन्‍न प्रतिनिधि सभा भंग गरेको उनको भनाइ छ । 

संविधानको विशेषता शक्ति सन्तुलन भएकाले यसलाई सुधार गरी चेक एण्ड ब्यालेन्समा राख्‍ने काम न्यायपालिकाको भएको सिंहले बताए । नेकपालाई नामको मात्र कम्युनिस्ट पार्टी भएको सिंहको भनाइ छ ।