प्रधानमन्त्री ओलीले गरे पुल्चोक-गोन्द्राङ सडक स्तरोन्नतिको शुभारम्भ

चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक-गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् । भरतपुर महानगरपालिका-१० स्थित विमानस्थल अगाडि शनिबार प्रधानमन्त्री ओलीले शुभारम्भ गरेका हुन् । उनले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरे ।
पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई छ लेनमा विस्तार गर्न लागिएको हो । शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
सडक निर्माणको जिम्मा इण्डो सगुन जेभी बुटवलले पाएको छ । दुई वर्ष चार महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ । सम्झौतापछि ठेकेदार कम्पनीले काम गरिरहेको छ । डिभिजनल प्रमुख कृष्णराज अधिकारीका अनुसार एक अर्ब १२ करोड लागतमा स्तरोन्नति गर्न लागिएको हो ।
टिकौली वन छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने अधिकारीले जानकारी दिए ।
सडक छेउका अतिक्रमित घरटहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ भने ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ । शहरी सौन्दर्यतालाई समेत ख्याल गरेर सडक स्तरोन्नति गरिँदै छ ।
सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्र हुनेछ । त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुने अधिकारीले जानकारी दिए ।
त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुनेछ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरकफरक रहेको छ । पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलगअलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ ।
यो क्षेत्र जिल्लाको घनाबस्ती र बजार रहेको क्षेत्र हो । यसकै आसपासमा अधिकांश सरकारी कार्यालय रहेका छन् । बाइपास सडक र ग्रामीण क्षेत्रबाट आएका सडक यही आएर जोडिएका छन् । (रासस)

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया