चीन देखाउँछ चमत्कार, विषम साल २०२० मा पनि आर्थिक वृद्धिदर धनात्मक

मानव इतिहासमा सन् २०२० कोरोना महामारी (कोभिड-१९) को वर्षको रूपमा अङ्कित रहनेछ । गत वर्ष (२०२०) समग्र विश्व नै यसै कोभिड-१९ को चपेटामा पर्यो । विकसित तथा उदीयमान अर्थव्यवस्था सँगसँगै पूरा विश्व अर्थव्यवस्था नै धरायशी भएको छ । आमनागरिकको सामान्य दिनचर्या समेत बिथोलिएको यस्तो जटिल परिस्थितिले विश्वलाई नै सङ्कटतर्फ धकेलिरहेको छ ।
हालको अवस्थालाई नियाल्दा पनि संकेत राम्रो देखिँदैन । चालु वर्ष २०२१ को पूर्वार्ध पनि यसै कहरको सामना र प्रतिकारमा बित्ने देखिन्छ । साथै विश्वव्यापी अर्थव्यवस्थाको पुनःस्थापना अझै कठिन देखिन्छ ।
यस्तो विषम परिस्थितिमा पनि दोस्रो आर्थिक शक्ति राष्ट्र चीनको सन् २०२० को आर्थिक वृद्धिदर भने धनात्मक रह्यो । चीनबाहेक अरू कुनै पनि ठूला अर्थव्यवस्थाले यस्तो सकारात्मक वृद्धि दर कायम राख्न सकेनन् । यद्यपि चीनको वार्षिक वृद्धि दर २.३ प्रतिशत मात्रै थियो तर कोभिड-१९ र त्यसको प्रभावमा देखिएको मन्दीको अवस्थामा यो ठूलो उपलब्धि हो ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले जनवरी १८ तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार चीनको कुल गार्हस्थ उत्पादन (जीडिपी) गत वर्ष २.३ प्रतिशतले वृद्धि भएको छ । यस बाहेक गत वर्षको जीडिपीले पहिलो पटक १०० खर्ब चिनियाँ युआनको थ्रेसहोल्ड पार गर्दै एउटा इतिहास पनि रचेको छ । सन् २०२० को जीडिपी १०१.६० खर्ब युआन (१५.४२ खर्ब डलर) पुगेको छ ।
कोरोना महामारीका कारण विश्व आर्थिक जगत्सँगै चिनियाँ अर्थतन्त्र पनि डाँवाडोल भएको थियो । सन् २०१९ को पहिलो त्रैमासिकमा चीनको जीडिपी ६.८ प्रतिशतले ऋणात्मक रहेको थियो । तर दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतको वृद्धि गर्न सफल भएको थियो ।
यसबाट चीनले कोभिड-१९ लाई तीन महिनामा नियन्त्रणमा लिनुका साथै आर्थिक गतिविधि चलायमान गर्न सफल भएको स्पष्ट हुन्छ । जब कि गत वर्ष मै महिनामा आयोजित चीनको दुई अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङले सो वर्षको आर्थिक लक्ष्य नै तोकेका थिएनन् । त्यस बेला प्रधानमन्त्री लीले कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्रमा पुगेको क्षतिबाट जोगिने सम्भावना न्यून रहेको समेत औंल्याएका थिए ।
यस्तो महामारीको अवस्थाबीच चीनले निर्णायक कदम चालेर सतर्कता तथा सावधानीपूर्वक व्यवस्थापन गर्दै औद्योगिक उत्पादन तथा आपूर्ति शृङ्खलालाई प्रभावकारी ढंगमा अगाडि बढाएको थियो । यस्ता विविध कदमहरू चालेर दोस्रो त्रैमासिकमा नै सकारात्मक वृद्धि गर्न सफल भएको थियो ।
आर्थिक गतिविधि चलायमान गर्न आर्थिक कुपन बाँड्नुका साथै साना ठूला व्यापारीलाई सहज वातावरण सिर्जना गराइएको थियो । साथै विज्ञान र प्रविधिको प्रयोग, रिमोट वर्क तथा अनलाईनका माध्यमबाट कारोबारहरू अघि बढाइएको थियो ।
महामारीको अवधिमा प्रत्यक्ष रूपमा हुने सामाजिक गतिविधि बन्द भए तापनि इन्टरनेट अनलाईन बजार निकै फस्टाएको थियो । १ अर्ब ४० करोड बढी जनसंख्या, ४० करोडभन्दा बढी मध्यम आय समुदाय र ८० करोड बढी इन्टरनेट प्रयोगकर्ताको यो उपभोग बजार चिनियाँ अर्थतन्त्र पुनःस्थापनको बलियो आधार हो । कुल ४ सय १२ खर्ब चिनियाँ युआनबराबरको उपभोग्य वस्तुको विक्रीले चीनभित्र निकै सशक्त बजार रहेको प्रष्ट हुन्छ । सन् २०२० मा उपभोक्ता खर्चले जीडीपीमा ओगटेको अनुपात ५४.३ प्रतिशत रहेको छ ।
यस्तो विषम २०२० को आर्थिक वृद्धिदर भने धनात्मक रह्यो । चीनबाहेक अरू कुनै पनि ठूला अर्थव्यवस्थाले यस्तो सकारात्मक वृद्धि दर कायम राख्न सकेनन् ।
यसै गरी देशभित्र बाहेक देशबाहिरको माँग अनुसार मास्कलगायत स्वास्थ्य सामग्रीको जोडतोडले उत्पादनसँगै निर्यात गरिएको थियो । गत मार्चदेखि डिसेम्बरसम्म चीनले २ खर्ब २४ अर्ब २० करोड मास्क निर्यात गरेको थियो । साथै सन् २०२० मा टेक्सटाइल, चिकित्सासम्बन्धी उपकरण तथा वस्तु र औषधिको कुल निर्यात मात्रा ३१ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ ।
उपभोगपछि निर्यात चिनियाँ अर्थतन्त्रको अर्को मुख्य चालक शक्ति रहेको छ । सन् २०२० मा चीनको कुल आयात तथा निर्यात अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढेर ३२.१६ खर्ब युआन पुगेको छ ।
निर्यातमाअघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धिसँगै कुल रकम १८.५९ खर्ब युआन र आयातमा ०.२ प्रतिशतको कमीसँगै १३.४२ खर्ब युआन भएबाट चीनले ५.१७ खर्ब युआन व्यापार बचत (सरप्लस) गरेको छ । विश्वव्यापी रूपमा फैलिँदै गएको महामारी, विश्व अर्थतन्त्रमा देखिएको मन्दी र संरक्षणवादको अवस्थामा चीनको यो उपलब्धि उल्लेखनीय छ ।
यस बाहेक गत वर्ष चीनले क्षेत्रीय वृहत् आर्थिक साझेदारी (आरसिइपी) मा हस्ताक्षर गरेको छ । यूरोपेली यूनियनसँग पनि सम्झौता भएको छ । आरसिइपीका अरू १४ सदस्यसँगको चीनको वैदेशिक व्यापार १०.२ खर्ब युआन पुगेको छ । जसले चीनको कुल आयात निर्यातको ३१.७ प्रतिशत भाग ओगटेको छ ।
यसैगरी महामारीको प्रभावबीच पनि चीनले साङहाईमा सन् २०२० को नोभेम्बर ५ देखि १० तारिखसम्म ७२.६२ अर्ब डलर बराबरको कारोबार सम्झौतासँगै नयाँ रेकर्ड बनाउँदै तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सफलताका साथ आयोजना गरेको थियो ।
प्रेस सम्मेलनमा, उक्त एक्स्पो ब्युरोका उपनिर्देशक सुन छङहाईले एक्स्पोको अघिल्लो संस्करणमा गरिएका सम्झौताभन्दा यस पटक २.१ प्रतिशतले बढेको बताएका थिए । अघिल्ला दुई संस्करणमा क्रमशः ५७.८३ र ७१.१३ अर्ब डलर बराबरको सम्झौता भएको थियो ।
कोभिड-१९ को नियन्त्रण, विशाल घरेलु बजार, निर्यात तथा वैदेशिक लगानीका लागि सुरक्षित वातावरणका कारणले गर्दा बाकी दुई त्रैमासिकमा चीनको आर्थिक वृद्धि गतिले तीव्रता पाएको थियो । तथ्याङ्क अनुसार, सन् २०२० को तेस्रो त्रैमासिकमा ४.९ र चौथोमा ६.५ प्रतिशतले वृद्धि भएको थियो । यसबाट पनि चीन आर्थिक समृद्धिको लयमा रहको स्पष्ट देखिन्छ । उपभोग, निर्यातपछि लगानी चिनियाँ अर्थतन्त्रको अर्को खम्बा हो ।
सन् २०२० मा चीनले वास्तविक प्रयोग गरेको विदेशी पुँजी ९ खर्ब ९९ अर्ब ९८ करोड चिनियाँ युआन पुगेको छ र यो ६.२ प्रतिशतले बढेको छ । विदेशी पुँजी भित्र्याउने लगानी गन्तव्यको रुपमा चीनको आकर्षण निरन्तर बलियो देखिएको छ ।
यसै गरी, सन् २०२० चीनको सेवायुक्त व्यवसायले वास्तविक प्रयोग गरेको विदेशी पुँजी ७ खर्ब ७६ अर्ब ७७ करोड चिनियाँ युआन पुगेको छ, जुन १३.९ प्रतिशतले बढेको छ । उच्च प्राविधिक उद्योगले भित्र्याएको विदेशी पुँजी ११.४ प्रतिशतले बढेको छ ।
यस क्रममा चीनले लगातार दुई वर्षअघिदेखि विदेशी लगानीकर्ताको लगानी व्यवसायको प्रोत्साहन सूची संशोधन गर्दै वैदेशिक व्यवसायकालागि नयाँ अवसरहरू सिर्जना गर्दैआएको छ । सन् २०२० जनवरी १ बाट वैदेशिक लगानी कानुन औपचारिक रुपमा लागू भएको थियो ।
यसबाहेक चीनले आफ्नो बजारलाई विश्वको बजार बनाउन जोड दिँदै बजारमूलक, कानुन सम्बद्ध र अन्तर्राष्ट्रिय व्यापार मैत्री वातावरणको सिर्जना पनि गर्दै आएको छ । गत वर्षको जुलाईमा राष्ट्रपति सी चिनफिङले व्यवसायीहरूसँगको एक सम्मेलनमा यो नयाँ ढाँचा अर्थात् दूल सर्कुलेसन (दोहोरो चक्र) को प्रस्ताव राखेका थिए ।
बढ्दो संरक्षणवाद, विश्वव्यापी आर्थिक मन्दी र बिग्रिएको अन्तर्राष्ट्रिय बजारको यस्तो अवस्थामा चीनले आफ्नो विशाल घरेलु बजारको फाइदा उठाउँदै चीन र विश्व अर्थव्यवस्थाको पुनःस्थापनाका लागि पहल गर्नुपर्ने औंल्याएका थिए । यो दोहोरो चक्रमा चीनको घरेलु बजारलाई मुख्य आधारको रूपमा लिएर आन्तरिक तथा विदेशी बजारको उत्थानलाई एक अर्काले प्रवर्द्धन गर्दछ ।
कोभिड-१९ को अवधिमा नै आर्थिक वृद्धिलाई सकारात्मक राख्न सफल चीन यो चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको महत्वपूर्ण वर्षमा अझै अग्रगामी छलाङ मार्नेमा कुनै शंका छैन ।
यसै गरी, गत वर्ष चीनले समग्र रूपमा गरिबी निवारणसँगै सम्पन्न समाजको निर्माणको लक्ष्य पूरा गरेको छ । चीनले आठ वर्षमा १० करोड गरिब जनतालाई गरिबीमुक्त गर्दै गत वर्ष चीनभरि बाँकी रहेका सबै गरिब गाउँठाउँहरू गरिबीबाट मुक्त भएका छन् र चीनले संयुक्त राष्ट्र संघको दिगो विकासका लागि २०३० एजेण्डाअनुरूप निर्धारित गरिबी निवारण लक्ष्य दश वर्षअघि हासिल गरेको छ ।
यस बाहेक यस वर्षबाट चीनको १४औं पञ्च वर्षीय योजना पनि आरम्भ भएको छ । यो योजना तथा वर्षबाट चीनको पूर्ण रूपमा शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माण गर्ने नयाँ यात्रा पनि आरम्भ भएको छ । यसलाई दोस्रो शताब्दी लक्ष्यतिरको पहिलो पाँच वर्षे योजना पनि मान्न सकिन्छ भने चालु वर्ष पहिलो शताब्दी लक्ष्य प्राप्तिको वर्ष हो ।
यो वर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी हो । चीनले नयाँ चरणको यात्रासँगै निश्चित रूपमा उच्च गुणस्तरीय विकाससँगै स्थिर रूपमा आर्थिक वृद्धि गर्ने छ । अवश्य चुनौतीहरू हुने छन् तर चीनले विश्वव्यापी आर्थिक सुधार, स्थायित्व तथा विकासमा योगदान पुर्याउने छ ।
गत डिसेम्बर १६ देखि १८ तारिखसम्म बेइजिङमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आर्थिक कार्य बैठकले महामारीबाट आएको परिवर्तन र बाह्य वातावरणमा धेरै अनिश्चितता भएबाट चिनियाँ अर्थतन्त्रको पुनःउत्थानको आधार बलियो नभएको मूल्याङ्कन गरेको छ ।
साथै सो बैठकले बहुपक्षवादी झण्डा फहराउँदै विश्व संचालनको सुधारमा सक्रियताकासाथ भाग लिँदै मावनजातिको संयुक्त भाग्य समुदायको निर्माणलाई अघि बढाउँदै जाने पक्षमा जोड दिएको छ । यसबाहेक, सन् २०२१ मा समष्टिगत नीतिको निरन्तरता र आर्थिक पुनःउत्थानलाई समर्थन गर्दै हतार नगरी दीर्घकालीन रूपमा स्थिर वृद्धि तथा खतराबाट जोगिने दीर्घकालीन सन्तुलन नीतिप्रति केन्द्रित रहने जनाइएको छ ।
यसै बीच यो वर्ष चीनको अर्थतन्त्र ७.९ प्रतिशत पुग्ने अनुमान विश्व बैंकको छ । यसै गरी अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनको आर्थिक वृद्धि दर ८.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । जब कि विश्व अर्थव्यवस्था ५.५ प्रतिशत रहने उसको अनुमान छ । आर्थिक सहकार्य तथा विकास संगठनद्वारा जारी विश्व आर्थिक आउटलुक रिपोर्टमा सन् २०२१ मा चीनले विश्व आर्थिक विकासमा एक तिहाईभन्दा बढी योगदान गर्ने अनुमान गरिएको छ ।
यसर्थ, कोभिडको अवधिमा नै आर्थिक वृद्धिलाई सकारात्मक राख्न सफल चीन यो चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको महत्वपूर्ण वर्षमा अझै अग्रगामी छलाङ मार्नेमा कुनै शंका छैन । अन्तर्राष्ट्रिय संघसंस्थाको प्रक्षेपण, घरेलु बजार, दोहोरो चक्र ढाँचा, खुला तथा सुधार नीति र बहुपक्षीयवादको झण्डा बोकेको चीन सुनिश्चित रूपमा आर्थिक समृद्धिको लयमा देखिन्छ ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया