गण्डकीका फ्रण्टलाइनरलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप कार्यक्रम शुभारम्भ गरेको छन् । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम सुरु गरे गण्डकीमा मुुख्यमन्त्री गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट खोप कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
बिहान १०ः३० बजे मुख्यमन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा.अर्जुन आचार्यलाई खोप सामग्री हस्तान्तरण गरेपछि प्रदेशका ११ वटै जिल्लामा खोप अभियान सुरु भएको घोषणा गरिएको हो । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलगायत कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि गण्डकीमा पहिलो खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति फिजिसियन प्राध्यापक डाक्टर बुद्धिबहादुर थापालाई लगाइएको छ ।
खोप लगाएपछि प्राध्यापक थापाले संसारलाई हायलकायल बनाएको कोरोनाविरुद्धको खोपको प्रतीक्षामा सबै स्वास्थ्यकर्मी रहेकोमा महामारी सुरु भएको एक वर्षभित्रमा खोप प्राप्त भएपछि गण्डकी प्रदेशभर सकारात्मक सन्देश जाने विश्वास आफूले लिएको बताए । ‘भ्याक्सिन लगाएपछि केही अप्ठ्यारो अनुभव भएको छैन, कोभिड–१९ विरुद्धको अभियानमा सबैभन्दा अत्यावश्यक भ्याक्सिन पाएपछि हामी सबै स्वास्थ्यकर्मी उत्साहित भएका छौँ । सम्पूर्ण जनतालाई प्रेरणा दिनका लागि म आफैँले खोप लगाउन सुरुआत गरेको छु, सबै जनतालाई खोप प्रयोग गरिदिन आग्रह गर्दछु ।’
कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोना महामारीविरुद्ध सुरुवाती शून्यताको अवस्थाबाट छोटो समयमा सुविधासम्पन्न प्रयोगशाला, स्वास्थ्य उपकरण तथा जनशक्तिका क्षेत्रमा महत्वपूर्ण सफलता हाँसिल भएको बताए । महामारी सुरु भएको एक वर्षभन्दा कम अवधिमा भौतिक पूर्वाधार र स्वास्थ्य संरचनाको सृदृढीकरण, उपकरण व्यवस्थापन तथा ६८ स्थानमा प्रयोगशाला स्थापना भएर कोभिड-१९ विरुद्धको अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएर काम गर्नेहरुबाट ठूलो योगदान भएको उनले बताए ।
‘गण्डकी प्रदेशसहित नेपालभर कोरोना भ्याक्सिन सुरुआत भएबाट कोभिड–१९ विरुद्धको लडाइँमा ठूलो सफलता हाँसिल भएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘महामारी प्रारम्भ भएको एक वर्ष नपुग्दै खोपको अनुसन्धान तथा उत्पादन आउनुु विज्ञान प्रविधिका कारणले सम्भव भएको छ ।’ गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले गत वर्ष माघ १० गते नेपालमा पहिलो कोरोना सङ्क्रमण देखिएपछि प्रदेश सरकाले माघ १२ गतेदेखि कोरोनाविरुद्ध योजनाबद्ध कार्यक्रम सुरु गरेको बताइन् ।
गण्डकी प्रदेशका ११ वटै जिल्लास्थित जिल्ला अस्पतालमा माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप दिइने निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया