कलेजबाट फर्किंदा २२ वर्षीय पारस सधैँ कमलपोखरी छिर्थे

काठमाडौँ : ‘तैरिरहेको कमलको फूल, बीचमा नीलो आकाशको छायाँ ।’ ताजै छ डिल्लीबजारका पारसराज वज्राचार्यको मानसपटलमा । तर केही वर्षदेखि उनी त्यो सुन्दर पोखरीमा पहेँलो स्काभेटर यताउता गरेर भित्तामा सिङाउरी खेलेझैँ देख्छन् ।
अनि घर पुगेर पुराना तस्बिर नियाल्छन् । घरीघरी त्यो पोखरीमा किन यो पहेँलो मानव निर्मित साँढे पसेर सिङाउरी खेल्छ ? उनलाई लाग्छ, विकास भनेको यही हो ? उनलाई त्यस्तो लागे पनि अधिकांशलाई भने कमल पोखरीमा साँढे रूपको स्काभेटर चलेको विषय नयाँझैँ लाग्छ ।
त्यस्तै भयो, माघ ५ गते काठमाडौँ महानगरपालिकाले कमलपोखरीमा स्काभेटर चलायो । माटो निकालेर बुढानिलकण्ठ पुर्यायो । कमलपोखरीमा स्काभेटर चलेको देखेर अभियन्ताहरू रुष्ट बने । किन स्काभेटर चल्यो भन्दै सामाजिक सञ्जालमा तर्क-वितर्क भए ।
किनकि सबैलाई यो विषय नयाँ थियो । तर डिल्लीबजारका भर्खरै टीन एजलाई पार लगाएका बज्राचार्यलाई भने यो विषय नयाँ लागेन । किनकि उनले पहिले पनि कमलपोखरीमा स्काभेटर चलेको प्रत्यक्ष देखेका थिए, २६ सेप्टेम्बर २०१९ मा ।
यो तारिख अझै उनको मनासपटलमा ताजै छ । यही दिन उनले कमलपोखरीमा स्काभेटर चलेको देखेका थिए । कमलपोखरीको केही पर रहेको किस्ट कलेजमा बीआइटी पढ्छन्, उनी । बोर्ड परीक्षा नजिकिँदै थियो । त्यसैले उनी कलेजमा प्रवेश पत्र लिन कलेज गएका थिए । कलेजबाट फर्किएर उनी कमलपोखरीमा छिरे । कमलपोखरीमा त्यही बेला स्काभेटर चलिरहेको थियो ।
अनि उनले एक महिना अघिसम्म त्यहाँ फुलेका कमल याद गरेका थिए, उतिबेलै । पारसले अन्तिमपटक कमलपोखरीमा २०१९ अगस्ट २५ मा कमल फुलेको देखे । जसलाई उनले आफ्नो क्यामेरामा कैदसमेत गरेका छन् । उनको फोटो हेर्नेलाई लाग्छ, अझै कमलपोखरीमा हरियाली छ । त्यहाँ निलो आकाश छचल्किरहेर मानव जातिलाई सहरको मध्यभागमा प्रकृतिसँग भुलाएको छ ।
अहिले होइन, त्यति बेलै त्यो सौन्दर्यलाई मानव निर्मित स्काभेटरले गुमनाम बनाएको थियो । हुन पनि, २०१९ कै सेप्टेम्बर २६ मा कमलपोखरी पुग्दा त्यहाँ उनले कमलपोखरी पहिले जस्तो देखेनन् । पोखरीमा निर्बाध स्काभेटर चलिरहेको थियो । पोखरी वरिपरि जथाभावी काला तार फालिएको थियो । पोखरीको पानीलाई त्यतिकै राखेर धमाधम स्काभेटर चलाइँदै थियो । स्काभेटरले पोखरीलाई कोतरेर झनै कुरूप पारिरहेको देखेर उनलाई नमज्जा लाग्यो । पोखरीमा के भइरहेछ ? मनमा जिज्ञासा पलायो ।
‘यहाँ के भइरहेछ, किन खनेको ?’ कमलपोखरीको डिलमा उभिएर रमिता हेरिरहेकाहरूलाई उनले सोधे । ‘पोखरीमा जाने सिँढी बनाउने रे’ हेरिरहेकामध्ये एक जना बोले । पोखरीमा जान सिँढी ? किन चाहियो सिँढी ? उनका मनमा अनेक प्रश्न उब्जिए । अनेक चोट सहेर राम्रो बन्दै गएको कमलपोखरीमा स्काभेटरले कोतरेको उनलाई फिटिक्कै मन परेको थिएन ।
पारस ‘पार्ट टाइमर फोटोग्राफर’ पनि हुन् । सानैदेखि फोटो खिच्न रुचाउँछन्, उनी । जहाँ पुग्छन्, त्यहाँको फोटो खिच्ने रहर छ, उनलाई । त्यसैले कमलपोखरीको डिलमा उभिएर केही फोटो खिचिहाले । ती फोटो उनले आफूसम्म मात्रै सीमित राखेनन् । देशभर मात्रै नभई दुनियाँले देखोस् भनेर ‘गुगल म्याप्स’मा सेयर गरे ।
गुगल म्याप्सले आफ्ना प्रयोगकर्ताहरूले समेत योगदान गर्न मिलोस् भनेर ‘गुगल लोकल गाइड प्रोग्राम’ राखेको छ । जसमा मानिसहरूले आफूले देखेको, गएको ठाउँहरूका फोटो पनि पोस्ट गर्न सक्छ । पारसले पनि यही फिचरको फाइदा उठाउँदै कमलपोखरीमा स्काभेटर चलिरहेको एउटा फोटो सेप्टेम्बर २६ गते गुगल म्याप्समा अप्लोड गरेका थिए ।
गुगल म्याप्समा राखेको उनको फोटोमा न कसैले लाइक गर्यो वा न कमेन्ट । यदि गरेको भए उनलाई गुगलले मेल पठाउँथ्यो । तर उनले राखेका कमलपोखरीका फोटोमा कसैले रियाक्ट गरेन । त्यसपछि उनी कयौँ पटक कमलपोखरी पुगे । त्यहाँ उनले देखे, स्काभेटर एक ठाउँमा मात्रै सीमित भएन । पोखरी वरिपरि नै स्काभेटरले कोतरेको दागहरू थियो ।
त्यसपछि उनी परीक्षामा व्यस्त भए । केही समयपछि देशमा लकडाउन पनि भयो । उनी बाहिर निस्कन पाएनन् । पछिल्लोपटक उनी छठको बेलामा कमलपोखरी पुगेका थिए । उनले सोचेका थिए, पोखरी बनिसक्यो होला, पोखरीको सिँढीमा उभिएर छठ मनाउनेहरूको भिडिओ गज्जब आउँछ ।
तर जब कमलपोखरी पुगे, उनी खिन्न भए । किनकि पोखरीमा पानी थिएन । छिपछिपे हिलो मात्रै थियो । त्यही हिलोमा उभिएरै भए पनि मानिसहरू छठको पूजा गरिरहेका थिए । पोखरी पानी सुकेर कुरूप बन्दै गइरहेको बेला छठका व्रतालुहरूले यसलाई सजाउन खोजिरहेका थिए । दियो बालेर, फूल नैवद्य चढाएर, पोखरीलाई जीवन्त बनाउन खोजिरहेका थिए ।
उनीहरूको हरेक क्रियाकलाप पारस आफ्ना क्यामेरामा कैद गर्दै थिए । जसका लागि उनी आफैँ पनि हिलोमा जान पर्यो । ‘पोखरीको पानी सुकाएर पनि पूरै सुकिसकेको थिएन, थोरै पानी थियो, त्यहाँ पनि कुल्चिँदा कुल्चिँदा हिलो भइसकेको थियो,’ उनी भन्छन्, ‘भिडिओ खिच्दाखिच्दै मेरो खुट्टा पनि हिलोमा गाडिएको थियो । तैपनि मैले खिचेर भिडिओ बनाएँ ।’
पोखरीको हालत उनलाई चित्त बुझेको थिएन । उनको मनमा प्रश्नै-प्रश्न जन्मिसकेका थिए । पोखरीको पानी कहिले सुकाइयो ? पोखरी किन अहिलेसम्म बनेन ? पोखरीको पानी किन सुकाइयो ? कहिले भरिन्छ पोखरीमा पानी ? यस्तै प्रश्नहरूको भूमरीमा फसिरहेका बेला उनको जिज्ञासा मेटाइदिए स्पोर्टस् क्लबका अध्यक्ष राजेन्द्र सिंहले ।
डिल्लीबजारका २२ वर्षीय पारसले अन्तिमपटक कमलपोखरीमा २०१९ अगस्ट २५ मा कमल फुलेको देखे । जसलाई उनले आफ्नो क्यामेरामा कैदसमेत गरेका छन् ।
काठमाडौँ महानगरले छठको केही दिनअघि मात्रै पानी सुकाइएको कुरा खड्गीले पारसलाई सुनाए । खड्गीले नै पारसलाई पोखरी पुनःनिर्माण भइरहेको कुरा बताएका थिए । र, यसलाई बचाउन पनि ठूलै मुभमेन्ट हुने समेत सुनाएका थिए ।
उनी ढुक्क थिए, पोखरी बच्नेछ भन्नेमा । तर दिनानुदिन पोखरीको अवस्था नाजुक हुँदै गयो । छिपछिपे हिलो पनि सुकेर छियाछिया भइसकेको छ, कमलपोखरी । पोखरीको साइज घटाएर वाल लगाइँदै छ । पारसले सानैमा देखेको पोखरी र अहिलेको पोखरीमा कुनै भिन्नता छैन । किनकि सानोमा घरबाट कमलपोखरी नजिकै रहेको कृष्ण पाउरोटी पुग्दा पोखरी लेउ र घाँसले भरिएको थियो । उनी भन्छन्, ‘अहिले स्काभेटरले कुरूप बनाएको छ, पहिले लेउ र घाँसले पोखरीलाई कुरूप बनाएको थियो । सानोमा यसलाई देख्दा पोखरी नै हो भन्ने लाग्दैनथ्यो ।’
पोखरीको यो दुर्दशा देखेर त्यतिबेला पनि उनको मन नराम्रोसँग कुँडिन्थ्यो । तर पछि संरक्षणको पहल भयो । त्यहाँ सफाइ भयो । बार हाल्ने काम भयो । पहिलेभन्दा केही सफा भयो । मानिसहरूलाई पोखरीमा पुग्न सजिलो भयो । पोखरी ठूलो भएकाले थुप्रै मानिस यहाँ अटाउँथे ।
बिहान र बेलुकीको समयमा यहाँ सय/डेढ सय जनाभन्दा बढी मानिस हुन्थे । उनी पनि खाली समयमा पोखरीमा पुगिहाल्थे । साइकल लिएर पोखरी वरिपरि राउन्ड लाउँथे । २०१७ देखि त किस्ट कलेजमा पढ्न थालेपछि बाटो नै त्यही भयो । त्यसपछि त हरेक दिन उनले कमलपोखरी देखे । कलेजबाट फर्किंदा त कमलपोखरी नछिरी मन थामिँदैन थियो ।
गर्मी मौसममा त झनै उनलाई पोखरी छेउछाउ जान मन पथ्र्याे । गर्मी मौसममा पोखरीको महत्व पनि धेरै हुने उनको तर्क छ । उनी भन्छन्, ‘किनकि काठमाडौंमा गर्मी मौसममा शीतल खोज्दै मानिस यहाँ आइपुग्छन् । पानीको छेउमा बस्दा चिसोले शीतल दिन्छ ।’ गर्मी महिनामा साँझको समयमा पोखरी वरिपरि चमेरोहरू उड्छन् । त्यसलाई समेत उनले आफ्नो क्यामेरामा कैद गरेका छन् ।
वातावरणीय हिसाबले महत्वपूर्ण यो पोखरीको अवस्था भने एकनास नरहेको पारस सुनाउँछन् । उनले सानैदेखि कमलपोखरी देख्दै आए, तर कमलपोखरी कहिल्यै पनि उस्तै रहेन । स्थिर रहेन । कमलपोखरीमा केही न केही भइराख्यो । जस्तो सिद्धपोखरी पहिले पनि उस्तै थियो, अहिले पनि उस्तै छ, तर कमलपोखरीको अवस्था यस्तो रहेन ।
उनले २०१८ जनवरी १३ को साँझ खिचेको फोटोमा कमलपोखरीमा टनाटन पानी थियो । वरिपरिका भवनमा बलिरहेको बत्तीको छायाँ कमलपोखरीको पानीमा परेर पानी पनि झिलिमिली देखिएको छ । तर २०१८ को डिसेम्बरमा फेरि यहाँ काम हुँदै थियो । हिँड्ने बाटो उप्काएर नयाँ बनाइँदै थियो । त्यतिबेला पनि माछा जथाभावी मारिएको थियो । मरेका माछा पोखरी किनारमा थुपारिएको थियो । त्यसको पनि उनले फोटो खिच्न भ्याएका छन् ।
‘यो पोखरी बन्ने र बिग्रने धेरै भयो,’ उनी भन्छन्, ‘कहिले पार्क राख्ने भनियो भने कहिले त्यही पार्क भत्काइयो । कहिले भर्याङ राखियो, कहिले भर्याङ हटाइयो । कहिले माछा पालियो, कहिले तिनै माछा जथाभावी मारियो । कहिले बोटबिरुवा रोपेर हराभरा बनाइयो, कहिले तिनै बोट बिरुवा निमोठियो । अहिले त झनै कमलपोखरीको अवस्था दयनीय बनेको छ ।’
उनी त ‘कमलपोखरीमा कंक्रिट पनि पहिलो पटक प्रयोग भएको होइन’ भन्छन् । यहाँ कंक्रिट प्रयोग भएको लामो समय भइसकेको छ । कंक्रिटको गेट त पहिले नै बनेको हो । कमलपोखरीलाई वरिपरिबाट सिमेन्टेड नै गरिएको छ । यहाँ बस्न बनाइएको बेञ्चहरू पनि सिमेन्टकै छन् । अहिले पुनःनिर्माणको नाममा त पोखरी झनै दयनीय बनेको छ ।
‘विकासको नाममा विनाश भइरहेछ,’ उनी भन्छन्, ‘स्काभेटरले कमलपोखरीलाई मात्र कोतरेको छैन, हाम्रो मनमा पनि कोतरेको छ । राम्रो बनाउने नाममा बिजोग बनाउन हुन्न ।’ तस्बिरहरूमा पोखरी सम्पदाको इतिहास जोगाउन पारस प्रयास गरिरहेका छन् । कमलपोखरी मात्रै नभई काठमाडौंकै नागपोखरी, ललितपुरको पिम्बाहा पोखरी, लगायत थुप्रै पोखरीहरूको फोटो खिचेर राखेका छन् । त्यस्तै विभिन्न सांस्कृतिक एवं पर्यटकीय स्थानहरूको समेत उनले फोटो खिचेर राखेका छन् ।
उनी भन्छन्, ‘पोखरीहरू हाम्रा गहना हुन् । यसलाई जोगाउन पहल गर्नुपर्छ । म फोटोहरूमार्फत जोगाउने कोसिस गरिरहेको छु । र, यो कार्यलाई निरन्तरता दिन चाहन्छु ।’ पारसले एक्लैले पोखरीहरूको अभिलेखीकरणको काम गरेकामा सम्पदा बचाउ अभियन्ता आलोकसिद्धि तुलाधर पनि खुसी छन् ।
‘हामी सम्पदा बचाउन लागेका छौँ । तर कुनै पनि सम्पदा बचाउन अभियान गर्दा सबैभन्दा पहिले सूचना चाहिए, लिच्छवीकालको अभिलेख, ताम्रपत्र, थ्यासफु(पुस्तक)हरू खोज्छौँ, त्यो अभिलेख हो । त्यसले मुस्किल समाधान गरिदिन्छ,’ उनी भन्छन्, ‘उहाँले गरिरहनुभएको अभिलेखीकरण नै हो । कमलपोखरीले विभिन्न कालखण्ड पार गरिरहेको छ, र त्यो एउटै ठाउँको विभिन्न कोणबाट तस्बिर उनले खिचेका छन् । अहिलेको समयमा त्यो महत्वपूर्ण छ ।’
आलोक त पारसलाई प्रोफेसनल्ली नै यस्तो काममा लाग्न सुझाव दिन्छन् । उनी भन्छन्, ‘यो काम ठूलो र भास्ट पनि भएकाले यसलाई संस्थागत गरेर प्रोफेसनल्ली लाग्नुभए हुन्छ । भविष्यमा पानी सम्पदा जोगाउन यस्ता कामले धेरै ठूलो काम गर्छ ।’

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया