शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

रोमन अब्रामोभिचले चाहेको प्रशिक्षक बन्‍न नसकेका लाम्पार्ड

माउरिजियो सारी हटेपछि चेल्सीमा अब को प्रशिक्षक बन्‍ने भन्‍ने विषयमा खासै बहस भएन । किनभने चेल्सीको नजर पहिलाबाटै पूर्व खेलाडी फ्रान्क लाम्पार्डमाथि थियो । जो इंग्लिस फुटबलको दोस्रो श्रेणीको डर्बी काउन्टीबाट प्रशिक्षण करियर सुरु गरिरहेका थिए । खेलाडी हुँदा चेल्सीमा अत्याधिक मनपराइएका लाम्पार्ड करिब पाँच वर्षपछि स्टामफोर्ड ब्रिज फर्किए ।

चेल्सीमा लाम्पार्डको सुरुवात सन्तोषजनक रह्यो । पहिलो सिजनमा उनले चेल्सीलाई शीर्षचारमा छनौट गराए । त्यस उपलब्धीले लाम्पार्डलाई चेल्सीमा लिग उपाधि फर्काउन सक्ने प्रशिक्षकका रुपमा दर्ज गरायो । तर यात्रा साचे जस्तो तरिकाले अघि बढेन । अन्ततः उनको १८ महिने चेल्सी बसाई सोमबार अन्त्य भयो ।

चेल्सीमा लाम्पार्डको बर्खास्ती अकास्मात लिइएको निर्णय होइन । बेलायतमा प्रख्यात रहेको सञ्चार माध्यम दि एथलेटिकका अनुसार लाम्पार्डलाई चार महिनाअघि नै हटाउने योजना चेल्सीको थियो । तर लाम्पार्डको स्थानमा ल्याउन लागिएका राल्फ रागनिकले चेल्सी आउन इन्कार गरेपछि पूर्व चेल्सी खेलाडीको बसाई लम्बियो ।

सिजनको सुरुवातमा दुई सय मिलियन पाउण्ड भन्दा बढी रकम खेलाडी खरिदमा खर्च गरेका लाम्पार्डले अपेक्षाकृत नतिजा ‘डेलिभर’ गर्न सकेनन् । पछिल्लो आठ खेल मध्ये पाँच खेलमा लाम्पार्ड नेतृत्वको टिम पराजित रह्यो । जसले चेल्सी बार्डलाई नयाँ निर्णय दिन बाध्य बनायो ।

दि एथलेटिकका अनुसार लाम्पार्डको चेल्सी निर्देशक मरिना ग्रानोभ्सकाईसँगको सम्बन्धमा चिसोपना आउनु पनि बर्खास्तीको एक कारण हो । कतिपय खेलाडीहरुले लाम्पार्डका विषयमा गुनासो पनि गरेको बताइएको छ । लाम्पार्डको खेल रणनीति कमजोर रहेको उनीहरुको गुनासो रहँदै आएको दि एथलेटिकले लेखेको छ । लाम्पार्डले गएको ‘समर विन्डो’ मा ठूलो बजेट खर्च गरे पनि यस जनवरी सरुवा बजारमा पुनः नयाँ खेलाडी अनुबन्ध गर्न चाहेका थिए । वेष्टह्यामका मिडफिल्डर डेक्लान राइस अनुबन्ध गर्ने लामपार्डको चाहना थियो । जसले ग्रानोभ्सकाईलाई बेखुश बनायो ।

त्यसो त लाम्पार्डले चेल्सी आएर रिस्क मोलेका थिए । सरुवा बजारमा प्रतिबन्ध झेलिरहेको चेल्सीको प्रस्ताव स्विकार गर्दा लाम्पार्ड भावुक पनि थिए । एक दशक भन्दा बढी चेल्सीमा खेलाडीका रुपमा रहेका लाम्पार्डलाई आफुले माया गरेको क्लब फर्कने बाहेकको विकल्प नभएको होईन । दि एथलेटिकले आफ्नो स्रोतको हवाला दिँदै लेखेको छ, ‘लाम्पार्डलाई अर्को क्लबबाट पनि प्रस्ताव आएको थियो । तर उनले कम तलबमै चेल्सी रोजे । डर्बी काउन्टीसँग विदा मागिसकेका लाम्पार्डलाई चेल्सीले अन्य प्रशिक्षकहरुलाई भन्दा कम तलबको प्रस्ताव राख्यो । जसलाई लाम्पार्डले स्विकार गरे ।’

ग्रानोभ्सकाई नेतृत्वको चेल्सी प्रशासन र लाम्पार्डबीच मतभेद बढ्दै गयो । लाम्पार्डले चाहेको प्रशिक्षक राख्‍न नपाउने देखि ग्रानोभ्सकाईले भनेकै क्लब स्टाफलाई प्रशिक्षण टोलीमा भूमिका दिनुपर्ने सम्मका समस्या देखिए । गोलकिपर केपाबा बारेमा पनि मतभेद रहेको दि एथलेटिकले लेखेको छ । यस्ता समस्याहरुका कारण ग्रानोभ्सकाई र लाम्पार्डबीच दुरी बढ्दै गएको र अन्ततः चेल्सी निर्देशक प्रशिक्षक परिवर्तन गर्नुपर्ने निचोडमा पुगेको बताइएको छ ।

त्यसो त लाम्पार्डले पनि आफ्नो भूमिकामा खरो उत्रन सकेनन् । उनको नेतृत्वमा चेल्सीले न त रक्षात्मक खेल देखाउन सकयो न त अग्रपंत्तिमा बलियो देखियो । आफ्नो खेलाडी जीवनमा नौ चेल्सी प्रशिक्षक बर्खास्तीमा परेको देखेका लाम्पार्ड अन्‍नततः रोमन अब्रामोभिचले चाहेको प्रशिक्षक बन्‍न सकेनन् ।