नेकपाका दुवै समूहको नजर अदालततिर

काठमाडौँ : निर्वाचन आयोगले नेकपाका दुवै समूहको दाबीलाई अस्वीकार गर्दै वैधानिक आधार टेक्न सुझाएको छ । आइतबार आयोगले त्यस्तो निर्णय गरेपछि सत्तापक्ष अर्थात कामचलाउ प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहलाई निकै ठूलो राहत मिलेको छ । आयोगमा निकै लामो बहसपछि सत्तापक्षलाई राहत मिल्ने निर्णय भएको हो । तर, आयोगको निर्णयले पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूह भने केही तनाब र दबाबमा परेको छ ।
दाहाल-नेपाल समूह के गर्ने अलमलमा छ । यद्यपि समूहका अध्यक्षा माधवकुमार नेपालले भने आफूलाई आयोगले अध्यक्ष अस्वीकार गरे पनि दाहाललाई स्वीकार गरेको बताएका छन् । उनले भनेका छन्, ‘आयोगको पत्रमा के लेखेको छ भने २०७५ जेठ २३ को विवरण र विधानबाहेक अरु कुनै मानिने छैन । भनेपछि त्यो सडक छाप, धुलो छाप पार्टीको कुनै अर्थ छैन । क्लियर भएन ? उसले सिधै भन्छ, ४४१ केन्द्रीय सदस्य, ४५ जनाको स्थायी कमिटी । ४५ जनामध्ये २८ जना हामीसँग हुनुहुन्छ । ओलीको सानो झुण्डसँग थोरै मान्छे छन् ।’
नेपालले ४४१ केन्द्रीय सदस्य मध्ये ७ जना पदमा नभएको पनि बताए । केही नियुक्तिमा गएका छन भने केहीको मृत्यु भैसकेकाले अहिले मान्य हुने केन्द्रीय सदस्य ४३४ रहेको नेपालले बताए । उनीहरुमध्ये ३०० भन्दा बढी केन्द्रीय सदस्य दाहाल-नेपाल समूहसँग रहेकाले पनि उनीहरूमा थप विश्वास बढेको देखिन्छ । यो आधारमा ७० प्रतिशत बढी दाहाल र नेपाल पक्षसँग रहेको दाबी उनीहरूले गर्दै आएका छन् ।
‘निर्वाचन आयोगले पत्रमा स्पष्ट रूपमा भनेको छ । ४४१ लाई आधार मान्छौं । दुई अध्यक्षलाई मान्छौं । यसकारण मलाई (माधव नेपाल) मान्दिनँ पनि भनेको छ । तर, केही भएको छैन । कमरेड प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधिकारिता रह्यो,’ नेपालले भने, ‘केपी शर्मा ओलीलाई त हामीले हटाइसकेका छौं, ओली समाप्त ! केन्द्रीय कमिटीले अध्यक्ष पदबाट निकाली सकेपछि कुरै खत्तम । निर्वाचन आयोगले अधिकार छ भनेर लेखेको छ । आयोगले अनुशासनको कारबाही गर्ने पुरानो निर्णय लागू हुनेछ भनेर लेखेको छ ।’
दाहाल-नेपाल समूह र कामचलाउ प्रधानमन्त्री ओलीले आधिकारिकताका लागि आयोगमा पेश गरेका निर्णयहरू अवैधानिक भएको र त्यसलाई नमान्ने निर्णय आयोगले आइतबार साँझ गरेको हो । आयोगको निर्णयले नेकपा विवाद कहाँ पुगेर टुंगिने हो यसै भन्न नसक्ने अवस्था देखा परेको छ । यता दाहालले आफ्ना पूर्वसहयोद्धा डा. बाबुराम भट्टराईलाई पनि आफूसँगै ल्याउने प्रयास गरेका छन् । यसमा उपराष्ट्रपति नन्दबहादुर पुन लागि परेका छन् ।
वर्तमान विवादले ओली समूह पार्टीका सबै कमिटीहरूमा अल्पमतमा छ । आयोगबाट यस्तो निर्णय आउँदा ओली पक्षलाई राहत मिलेको आंकलन गर्न सकिन्छ । कामचलाउ सरकारका उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलको धारणाले पनि त्यो राहात मिलेको खुल्छ । पोखरेलले सोमबार आन्दोलनको बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा आयोगको निर्णय जायज भएको बताए ।
‘निर्वाचन आयोगमा आफ्नो समूह नै आधिकारीक नेकपा भएको दाबी गरेर पत्र बुझाए पनि दुवै समूहलाई आयोगले मान्यता नदिएकाले त्यो निर्णयलाई हामीले सम्मान र सकारात्मक रूपमा लिएर अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले राख्नुभएको अडानलाई आयोगको निर्णयले बल पुग्ने देखेका छौँ । हामी फुटको पक्षमा छैनौं । नेकपा फुटेको छैन र चाहेर पनि फुट्दैन ।’ प्रथम अध्यक्षको हैसियतले प्रधानमन्त्रीले आफ्नो कामकारबाही अघि बढाउने जानकारी पोखरेलले दिए । केही विषयमा कुरा नमिलेर चोइटिएर जानेहरू पार्टीमा फर्किने र उनीहरू माथि अनुशासन उल्लंघनको कारबाही हुनेसमेत उनले स्पष्ट पारका छन् ।
प्रतिनिधि सभा विघटनपछि बोल्दै नबोलेर गुमनाम बसेका नेकपा ओली समूहका बफादार नेता सुवास नेम्वाङले पनि आयोगको निर्णय प्रति सन्तुष्टी व्यक्त गरेका छन् । 'आयोगको निष्पक्ष निर्णय आएको छ । यो निर्णयले खुशी नै छौँ किनकी कसैलाई कारबाही पनि त भएको छैन,' नेम्वाङले भने । उनले पनि सबै मिलेर अघि बढ्ने बताए ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार नेकपाको फेरबदललाई अस्वीकार गरेको हो । अन्यथा दफा ४४ अनुसार उजुरीमा जानुपर्ने हुन्छ । आयोगको निर्णय आएर पनि उजुरीमा नगएको खण्डमा सबैको पर्खाई सर्वोच्च अदालततर्फ नै रहनेछ । प्रतिनिधि सभा पुनः स्थापित गर्ने सर्वोच्च अदालतको फैसला आएको खण्डमा प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प रहँदैन । उनी यसमा मिल्छन या अर्को पार्टी खोल्छन त्यो भविष्यले बताउला । यदि अदालतले अप्रत्यासित निर्णय गर्दै प्रतिनिधि सभा पुनर्स्थापित नगरेमा दाहाल-नेपाल समूहलाई असहज हुनेछ ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया