बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

संसद्‍ले सरकारलाई सहयोग गरेन भन्‍ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

फाइल तस्वीर

काठमाडौं : सभामुख अग्‍नीप्रसाद सापकोटाले संसद्‍ले सरकारलाई सहयोग गरेन भन्‍ने कुरामा सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधि सभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताए ।

संसद्‍मा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको उनको भनाइ छ । उनले भने, ‘संसद्‍बाट सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्‍ने कुरा आइरहेको छ, जसमा सत्‍यता छैन ।’

सभामुख सापकोटाले प्रतिनिधि सभाको अधिवेसन सुरु गर्ने कुरामा सरकारले अवरोध गर्नु बेठीक भएको पनि बताए । संसदले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यै पनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधि सभालाई सञ्चालन गर्न अवरोध गरेको बताए । 

संसदले संविधान संसोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना गर्‍याे भन्‍नु गलत भएको पनि उनको भनाइ छ । संसद्‍भित्र कहिल्यै पनि प्रतिपक्ष र कुनै पनि सांसदले अवरोध नगरेको पनि बताए । पुनः संसद सुरु गर्नुपर्छ भन्‍ने आवाज उठिरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिरहेको बताए ।