बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

हाम्रो लडाइ गलत विचारविरुद्ध हो : नेपाल

ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लैजाने दुष्प्रयास गरे : खनाल

काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले आफुहरूको लडाइँ गलत विचारविरुद्ध भएको बताएका छन् । सोमबार कार्यालय पेरिसडाँडामा प्रदेश-२ का नेता कार्यकर्तासँगको छलफलमा अध्यक्ष नेपालले आफुहरूको लडाइ गलत विचारविरुद्ध रहेको बताएका हुन् । 

पार्टीभित्र विवाद पद र कुर्सीको हानाथापका लागि नभइ पार्टीलाई विचार, विधि, पद्धती र राम्रो कार्यशैली अघि बढाउन भएको उनको भनाइ छ । गलत विचारविरुद्धआफूहरूले कुरा उठाइरहेको उनले बताए । 

अध्यक्ष नेपालले प्रतिनिधि सभा भंग हुने आधार नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव गराउने इच्छा नभएको र संकटकाल लगाएर अथवा तानाशाह लादेर भएपनि सत्तामा बसिरहन चाहेको जिकिर उनको छ । 

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले विगत ३ वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लैजाने दुस्प्रयास गरेको बताए । समाजवादी बाटो छोडेर भद्दा किसिमको पुँजिवादी उदारवाद अपनाएका कारण पार्टीमा प्रश्‍न उठ्दै गएको उनको भनाइ छ । ओलीले झापाको दमकमा अर्बौँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उनले आरोप लगाए । 

नेता खनालले प्रतिनिधि सभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशीता तथा गणतन्त्रमाथिको आक्रमण भएको बताए । प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिक्रान्तिको दिशातर्फ धकेल्ने कोसिस गरिरहेको उनको भनाइ छ ।