शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

एक यस्तो इमानदार इन्जिनियर, जो उपचार खर्च नभएर अस्पतालमा छटपटाइरहेछ

तस्बिर नियाजकाे फेसबुकबाट ।

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्व वरिष्ठ इन्जिनियर नियाज अहमदको उपचार खर्चका लागि नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ पदाधिकारीहरुले सार्वजनिक अपील गरेका छन् । पूर्व जलस्रोत सचिव डा. द्वारिकानाथ ढुंगेल, पूर्व ऊर्जा सचिव हरिराम कोइराला, एसोसियसन अफ इलेक्ट्रिकल इन्जिनियर्सका अध्यक्ष डिल्लीबहादुर शाक्य, उत्तरगंगा जलविद्युत् कम्पनीका पूर्व सीइओ शिवबालक गिरीलगायत प्राधिकरणका बहालवाला तथा पूर्व कर्मचारीहरुले अहमदको उपचारका लागि सबैको सहयोगको अपील गरेका हुन् ।

केही दिनअघि न्यूरो अस्पताल, बाँसबारीको सघन कक्षमा अहमदको ब्रेन ट्यूमरको उपचार भइरहेको छ । पारिवारिक स्रोतका अनुसार आर्थिक अभावका कारण उनको उपचार प्रभावित भएको छ । प्राधिकरणका इमानदार र निष्ठावान इन्जिनियर अहमदको राजधानी उपत्यकामा आफ्नै घर छैन । उनी डेरामा बस्छन् । सामाजिक सञ्जालमा उनको उपचारका लागि खर्च जुटाउने अभियान पनि चलेको छ । 

उनले कुलेखानी तेस्रो (१४ मेगावाट) मा मुख्य परामर्शदाताका रुपमा काम गरेका थिए । ठेकेदार र आयोजनाका कर्मचारीले सुरुङको करिब २ किलोमिटर खण्डमा लाइनिङ नगरी पैसा खान खोजेका थिए । अहमदले यो प्रयासलाई रोकेपछि तत्कालीन आयोजना प्रमुख चिढिएका थिए । 

अहमदले कुलेखानीमा परामर्शदाताका रुपमा काम सुरु गर्नुअघि आयोजनाको काम १७ प्रतिशत मात्र सकिएको थियो । अहमदले काम थालेपछि ७४ प्रतिशत पुर्‍याएका थिए । तर तत्कालीन व्यवस्थापनले अहमदलाई हटाई भारतीय परामर्शदातृ वाप्कोसलाई नियुक्त गराउन नेपाली एजेन्टहरु सफल भएका थिए । वाप्कोसले काम सुरु गरेकोमा झन्डै ६ वर्षपछि मात्र कुलेखानी तेस्रो हालसालै पूरा भएको हो।

अहमदको काम र इमानदारितालाई नजिकबाट चिनेका उत्तरगंगाका पूर्व सीइओ गिरीले भने, ‘उहाँ सुरुङको इन्जिनियर हो, सुरुङ खन्ने काम यस्तो छ कि अलिकति चलखेल गर्‍यो भने पनि काठमाडौंमा एउटा भव्य महल ठड्याउन सकिन्छ, तर अहमदले कहिल्यै त्यस्तो गर्नुभएन, अहिले उपचारका लागि समेत उहाँसँग पैसा भएन ।’
अहमदले कुलेखानी दोस्रो (३० मेगावाट) मा काम गरेपछि गोरखा दक्षिण बाहु प्राप्त गरेका थिए । उत्कृष्ट काम गरेका अहमदको सिफारिस तत्कालीन आयोजना प्रमुख कीर्तिचन्द ठाकुरले लैजाँदा तत्कालीन जलस्रोत सचिवले भनेका थिए, ‘यस्ता भारेभुरे (नियाज) लाई राजाले पदक दिन मान्दैनन् ।’

सचिवको यस्तो भनाइ आएपछि त्यसको प्रतिवाद गर्दै ठाकुरले नियाजलाई पुरस्कार नदिने हो भने तपाईं हामीले लिएको सुहाउँदैन । त्यसपछि ती सचिवले स्वीकृत गरेका थिए । ठाकुर पछि प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए । नियाजले मोदी जलविद्युत् पनि बनाएका थिए । मोदीमा उत्कृष्ट काम गरेको भन्दै पुनः गोर्खा दक्षिणबाहु पाएका थिए ।

गिरीका अनुसार नियाज प्राधिकरणको १० तहमा कार्यरत रहेकै बेला क्यानाडाको एउटा हाइड्रोपावर कम्पनीले मासिक १५ हजार अमेरिकी डलर तलब दिएर उतै बोलाएका थिए, तर उनी गएनन् । नियाजको भनाइ उद्धृत गर्दै गिरीले भने, ‘हामीजस्तो प्राविधिक मानिस विदेश जाने हो भने नेपाल कसले बनाउँछ ?’ नियाज कुलेखानी दोस्रोमा काम गर्दा एक दिन पनि घर गएनन् । घरबाट आउने चिठीपत्र नहेरी खाटमुनि राख्थे । घरबाट बोलावट हुन्छ, आर्थिक समस्या परिरहेका बेला काममा बाधा हुन्छ भनेर चिठी समेत नहेरी बस्ने गरेको उनीसँगै काम गरेका गिरीले बताए । कुलेखानी दोस्रो सकिएपछि थुप्रो लागेको घरबाट आएका चिठी खोली हेर्दा उनका काका डेढ वर्षअघि नै बितिसकेका रहेछन् ।

यसैबीच पूर्व ऊर्जा सचिव हरिराम काेइरालाले अहमदकाे उपचारका लागि आफूले २५ हजार रुपैयाँ सहयाेग गर्ने बताएका छन् । 

पढ्नुस् यही  किताबको अंश

मरीचमानले भने, ‘म तपैँ जस्तो काठमाडौँको कुलीन होइन, भैँसी आहाल बस्‍ने पानी खाएर हुर्केको हुँ’