अर्थतन्त्र खुम्चिँदा सेयर बजारमा उछाल किन अस्वाभाविक ?

काठमाडौं : बिहीबार सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ऐतिहासिक बिन्दूमा पुग्यो । ४४ वर्षको इतिहासमा पहिलोपटक नेप्से दुई हजार चार सय बिन्दूको नजिक पुगेको छ । नेप्से परिसूचकले यसअघिको रेकर्ड यही मंसीर १७ मा तोडेको थियो ।
पछिल्लो तीन सातायता नेप्सेको उकालो यात्रा रोकिएको छैन । कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले बन्दाबन्दी लगाएपछि ४९ दिन बन्द भएको सेयर बजार खुल्ने बित्तिकै घटेर १२२६ बिन्दूमा पुगेको थियो । बैशाखको अन्तिम कारोबार दिन यो १२०१ बिन्दूमै झर्यो ।
असार १५ मा सेयर बजार परिसूचक- नेप्से ११८८ बिन्दूसम्म पुग्यो । पछिल्लो सात महिनामा सेयर बजार दुई गुणाले बढेको देखिन्छ । यसबीचमा नेपाल पुनर्बीमा कम्पनीको सेयरलाई उदाहरण लिने हो भने, पुनर्बीमा कम्पनीको सेयर सुरुवाती कारोबारमा प्रतिकित्ता ३८२ रुपैयाँबाट प्रति कित्ता १५ सय १५ रुपैयाँ पुगेको छ । अर्थात, पुनर्बीमा कम्पनीका लगानीकर्ताले चार गुणा नाफा कमाए । यति कम समयमा अन्य क्षेत्रमा लगानी गरेर नाफा आर्जन गर्न सम्भव छैन ।
पछिल्लो समय सेयर बजारमा सूचीकृत कम्पनीहरूको संख्या वृद्धि, बैंकहरूको थप सेयर निष्काशनले सेयरको आपूर्ति अधिक बढेको छ । त्यस आधारमा सेयर बजार यसअघिको रेकर्ड तोडेर अघि बढ्नु अस्वभाविक होइन । तर अर्थतन्त्र खुम्चिदों छ, अधिकांश कम्पनीहरूको नाफा ओरालो लागेको छ । यस्तो अवस्थामा सेयर बजारमा उछाल आउनु अस्वभाविक रहेको जानकारहरू बताउँछन् ।
सट्टेबजारमा उछाल आउँदा अर्थतन्त्र किन कमजोर ?
सेयर बजारलाई अर्थतन्त्रको ऐना पनि भनिन्छ । अर्थतन्त्रलाई प्रतिबिम्बित गर्ने प्रमुख सुचकमध्ये सेयर बजार पनि एक हो । सेयर बजारले सही रूपमा अर्थतन्त्रलाई किन प्रतिबिम्बित गर्न सकेन ? नेपाल मात्रै होइन छिमेकी मुलुक भारत लगायतका देशहरूमा समेत यस्तै प्रवृत्ति देखिएको छ । भारतको अर्थतन्त्र त सन् २०२० मा १०.३ प्रतिशतले खुम्चिएको प्रक्षेपण छ । अमेरिका र युरोपमा पनि यस्तै प्रवृत्ति देखापरेको छ ।
यद्यपि, अर्थतन्त्रमा लगानीका अन्य क्षेत्र संकुचन भएकाले लगानीकर्ता सेयर बजारमा ओइरिदाँ विश्वभर सेयर बजारमा ‘वेभ’ आएको हो । नेपालमै पनि २०७२ सालको महाभूकम्प र नाकाबन्दीपछि नेपालको सेयर बजार उच्चतम् बिन्दूमा पुगेको थियो । त्यतिबेला नेप्सेले यसअघिको उच्च रेकर्ड बनाएको थियो । जबकी भुकम्प गएको वर्ष मुलुकको आर्थिक वृद्धिदर ०.०१ प्रतिशतमा खुम्चिएको थियो ।
विश्व बैंकको पछिल्लो अध्ययनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ० दशमलव ६ प्रतिशतमा सीमीत रहने प्रक्षेपण गरेको छ । अघिल्लो वर्षमा आर्थिक वृद्धिदर ० दशमलव २ प्रतिशत रहेको उसको अनुमान छ ।
अर्थतन्त्रको ऐना मानिने सेयर बजारले मुलुकको आर्थिक असमानताको स्पष्ट दृश्य छर्लंग पारेको अर्थविद् केशव आचार्य बताउँछन् । किनकी धेरै मानिसहरू दैनिक छाक टार्न समस्यामा हुँदा हुनेखाने वर्ग भने सेयर बजारमा लगानी बढाइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरू पनि लगानी गर्ने ठाउँ सेयर बजारलाई बनाए । ब्याज सस्तो भएपछि लगानीकर्ता पनि ऋण लिएरै लगानी गर्न हौसिएकाले अहिले बजारमा उछाल आएको उनको विश्लेषण छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले विगतमा चालेको कदमले मुलुकको आर्थिक क्रियाकलाप ठप्प भयो । यसले माग र आपूर्तिबीचको सन्तुलनलाई खलबलायो ।
गत बैशाख ८ गते विश्व बैंकले प्रकाशन गरेको एउटा ‘डेटा ब्लग’मा कोभिड-१९ का कारण विश्वमा कम्तीमा ४ करोड ९० लाख व्यक्ति गरिबीको रेखामुनि धकेलिने उल्लेख थियो। त्यसमध्ये दक्षिण एसियामा १ करोड ६० लाख गरिब थपिने प्रक्षेपण गरिएको थियो । राष्ट्र बैंकको पछिल्लो प्रक्षेपणले उद्योग व्यवसायमा कार्यरत २२ प्रतिशत कामदारले रोजगारी गुमाएको देखाएको छ । मुलुकको खस्किदाें अर्थतन्त्रका कारण गरिबी बढीरहेको छ ।
राष्ट्र बैंककै तथ्यांकअनुसार कोभिड-१९ ले रेमिट्यान्स आप्रवाहमा ठूलो असर परेन । कोभिड-१९ ले लगानीका प्रमुख क्षेत्रहरू प्रभावित छन् । जसले पैसा हुने र धनीमानी वर्गका लागि सेयर बजार छिटो लगानी गरेर प्रतिफल लिने ठाउँ भएको आचार्यको भनाइ छ । ‘कोभिड-१९ ले गरिब वर्गलाई के खाने, कसरी बाँच्ने चिन्ता छ भने पैसा हुने वर्ग लगानी सुरक्षित हुने ठाउँको खोजिरहेका छन् । बजारमा अत्यधिक तरलताको उपलब्धताले सेयर बजारमा पैसा गएको हो,’ उनले भने ।
सेयर बजार बाहेक सट्टेबाजले लगानी गर्ने ठाउँ घरजग्गा हो । सरकारले कित्ताकाट खोले पनि सर्वोच्च अदालतले रोकिदिएपछि घरजग्गा कारोबार बढ्न सकेको छैन । सुनमा लगानी गर्न अन्तर्राष्ट्रीय बजारकै प्रभावस्वरुप सुन महंगिएको छ । पर्यटन, कृषि तथा लगानीका अन्य आकर्षक क्षेत्र प्रभावित छन् । पैसो हुनेहरूका लागि सेयर बजार लगानीको सजिलो र छिटो माध्यम भएको उनको भनाइ छ ।
अर्कोतर्फ बैंकहरूले निक्षेपमा ब्याज घटाएपछि मानिसहरू बैंकमा पैसा राख्नुभन्दा लगानी गर्न उत्प्रेरित भएका छन् । बैंकले निक्षेपमा दिने ब्याजदरसँग सेयर लगानीमा प्रत्यक्ष सम्बन्ध छ । मुद्दती निक्षेपमा पनि राम्रो ब्याज आउने अवस्था छैन ।
साधरण निक्षेपको ब्याजदरको तुलनामा मुद्रास्फिती बढी छ । राष्ट्र बैंकका अनुसार पछिल्लो चार महिनाको औसत मुद्रास्फिती ४.०५ प्रतिशत छ । लामो समयदेखि अधिक तरलताको स्थिति छ । अपेक्षा अनुसार कर्जाको माग समेत छैन ।
अधिक तरलता खेपेका बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाइरहेका छन् । कोभिड-१९ सुरू हुनुअघि अधिकतम करीब साढे ९ प्रतिशतसम्म ब्याज व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएका थिए । अहिले वाणिज्य बैंकहरूले मुद्दती निक्षेप घटाएर न्यूनतम् ३ प्रतिशतसम्म झारेका छन् ।
सेयर बजारमा आउने उतारचढावमा लगानीकर्ताको ‘मनोवैज्ञानिक’ प्रभाव अर्को मुख्य कारण भएको अर्थविद् आचार्य तर्क गर्छन् । पूर्व अर्थमन्त्री युवराज खतिवडा र बजारबीचको सम्बन्ध सधै पानी बाराबार चल्यो । सार्वजनिक कार्यक्रममा उनले गरेका भाषण र उनको सेयर बजारप्रतिको दृष्टिकोणलाई लिएर लगानीकर्ताहरूले आफ्नो मनोबल कमजोर बनाउने गरेको टिप्पणी समेत भयो । ‘सरकारले सेयर बजारसँग कस्तो संवाद गर्छ भन्ने विषयले महत्व राख्छ,’ आचार्यले भने ।
सेयर बजार बढाउने अर्को कारण हो, ब्रोकर कमिसन । केही समय अगाडी मात्रै धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा ऋण खुकुलो पारेको कारणले सरकार सेयर बजारप्रति सकारात्मक रहेको सन्देश प्रवाहित भएको आचार्यको तर्क छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया