शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

१७ नेपालीको शव लिन निगमको वाइडबडी आज राति मलेसिया जाँदै

काठमाडौं : नेपाल वायुसेवा निगमको एउटा वाइड बडी जहाज मलेशियामा शव लिन आज बेलुकी ११ बजे उड्ने भएको छ । निगमको उक्त जहाज भोलि शनिबार ८ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले मलेसियामा रहेका ३७ मध्ये १७ शव ल्याउने जानकारी दिए । रोजगारका लागि मलेसिया गएका नेपालीहरु विभिन्न कारणले मृत्यु भएपछि उनीहरुको शव नेपाली दूतावासको समन्वयमा मलेसियामै राखिएको छ । सरकारले शव ल्याउन उचित बन्दोबस्ती नगर्दा लामो समयदेखि ती नेपालीहरुको शव परिवारले बुझ्न पाएका छैनन् ।

उनले निगमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा शव ल्याउन लागिएको प्रबन्ध निर्देशक पौडेलले बताए । खालि जहाज उडाएर मलेसिया पठाउन लागिएको  हो । मलेसिया जाने जहाजले एकजना पनि यात्रुलाई बोक्ने छैन । कोरोनाकालमा मलेसिया जानेभन्दा पनि उताबाट यता आउनेको संख्या धेरै हुन्छ ।
विदेशमा गएका नेपालीहरुले पठाएको पैसा (रेमिट्यान्स) ले सरकारको अर्थतन्त्र चलेको छ । तर नेपालकै लागि आफ्नो ज्यान दिने ती मृतक नेपालीहरुको शव ल्याउन सरकारले चासो दिएको छैन । 

पौडेलका अनुसार एकपटक मलेसिया गएर आउँदा निगमलाई ५० देखि ६० लाख रुपैयाँ घाटा पर्छ । ‘अर्कोपटकदेखि हामी यसी खर्च गर्न सक्दैनौं,’ पौडेलले शुक्रबार इकागजसँग भने । अन्तर्राष्ट्रिय नियमानुसार कुनै पनि विमानले १८ वटाभन्दा बढी शव बोक्न पाउँदैनन् ।

सन् २०२० मा मलेसियामा दुई सय ७५ नेपालीको मृत्यु भएको थियो । विगतमा नियमित उडान हुँदा यस्तो समस्या आउँदैनथ्यो, तर कोभिडका कारण उडान नभएको र पछिल्लो तीन महिनादेखि केही सीमित उडान हुँदा करिब २४० शव नेपाल पठाइसकिएको मलेसियाका लागि राजदूत उदयराज पाण्डेले टेलिफोनमा इकागजलाई केही दिनअघि बताएका थिए ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले मलेसियादेखि काठमाडौंसम्म शव ल्याउँदाको खर्च रोजगारदाताले बोहोर्ने बताए । नेपाली दूतावासले खर्च बेहोर्न नसक्ने बेहोराको पत्राचार गरेमा बोर्डले उक्त खर्च बेहोर्ने पनि श्रेष्ठले बताए । ‘यो नै अन्तर्राष्ट्रिय अभ्यास हो,’ उनले इकागजसँग भने, ‘काठमाडौं ल्याएपछि शव घरसम्म पुर्‍याइदिने, परिवारलाई राहत दिने र बालबच्चा पढाउन छात्रवृत्ति दिने काम बोर्डले गर्छ ।’