रअ प्रमुखसँग कूटनीतिक आचारसंहिता विपरीत प्रधानमन्त्रीको भेट किन?

काठमाडाैं : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर निकाय रिर्सच एण्ड एनालाईसिस विङ (रअ) प्रमुख सामान्तकुमार गोयलको नेपाल भ्रमण र भेटघाट कूटनीतिक मुल्यमान्यता र आचारसंहिता विपरित भएको बताएका छन । उनको भ्रमण भएको चार दिनपछि सत्तारुढ दलकै प्रवक्ताले आफ्नो धारणा बाहिर ल्याएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख गोयलबीचको भेट प्रति कटाक्ष गर्दै पूर्व परराष्ट्र मन्त्री श्रेष्ठले यस्तो भेटले मुलुकको राष्ट्रिय सार्वभौकिता र राष्ट्रिय हित कमजोर पार्ने समेत बताएका छन ।
नेता श्रेष्ठले आफ्नो सामाजिक संजाल (फेसबुक, ट्विटर) मा नै यस्ता कुरा सार्वजनिक गरेपछि दल भित्र यसबारे थप बहस सुरु भएको छ । ‘विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत छ, यस्तो भेट किन ?,’ उनले प्रश्न गर्दै भनेका छन, ‘यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा गत बिहीबार राति ‘रअ’ का प्रमुख गोयलसँग लामो भेटवार्ता गरेका थिए । निजी भ्रमणको क्रममा विशेष विमानमा भुटानबाट काठमाडौं आर्लेका गोयलसँग प्रधानमन्त्रीले गरेको भेटबारे विभिन्न कोणबाट आलोचना भैरहेको छ । सत्तारुढ दललाई समेत कुनै जानकारी नदिई यसरी गोप्य भेटघाट गर्नुले दलभित्र नै ठूलो आशंका पैदा भएको छ । उनी काठमाडौंमा करिव २० घण्टा विताएर बंगलादेश तर्फ लागेको स्रोतले जनाएको छ ।
कार्यकारी प्रमुखले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना विदेशी नागरिकलाई भेट गर्नु, यसको नोट नराख्नुलाई राष्ट्र हित विपरित कार्यको संज्ञा दिइने गरिन्छ । यही कोणबाट नेकपा भित्र छलफल भइरहेको छ । प्रधानमन्त्री ओली र गोयल भेटबारे नेकपामा समेत जानकारी थिएन । यस्ता भेटवारे पार्टीमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको नेता श्रेष्ठको भनाइ छ ।
‘मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो । मुलुकका प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचि विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादा विपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको,’ आफ्नो व्यक्तिगत विचार भन्दै श्रेष्ठले आफ्नो वालमा लेखेका छन्, ‘‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।’
विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्ने अभ्यास रहेको पनि उनले स्पष्ट पारेका छन । त्यस्तो भएको नदेखिएको भन्दै आफ्नो धारणा ब्यक्त गरेका छन, ‘यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’
गोयलले अन्य पूर्व प्रधानमन्त्रीहरुसँग पनि भेट गरेको भनिएको भए पनि उनीहरुले त्यसको खण्डन गरेका छन । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र एमाले बरिष्ठ नेता माधवकुमार नेपालले गोयल नभेटेको वक्तब्य जारी गरिसकेका छन । प्रधानमन्त्री ओलीले गोयलसँग भेटवार्ता भएको जानकारी सचिवालय मार्फत बाहिर ल्याएका थिए । उनको यो भेट र गोयलको करिव २० घण्टा काठमाडौं बसाईबारे लगतार बहस भैरहेको छ ।
विशेष गरी प्रधानमन्त्री ओली पछिल्लो समय दलको निर्णयभन्दा आफ्नै शैलीबाट अघि बढिरहेकाले अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपाल लगायतको समुह ओलीसँग रुष्ट छन । उनीहरुले पद्धतिमा सरकार अघि बढ्न पर्ने भन्दै आएपनि अोलीको विरुद्धमा जान भने सकेका छैनन । यही समयमा गोयलको भ्रमण हुनु र ओलीसँग लामो छलफल गर्नुलाई उनीहरुले ओलीको शैलीलाई झन आशंकाको दृष्टिबाट हेरेका छन । ओलीको यो भेटघाट र शैलीलाई कूटनीतिज्ञ एवं राजनीतिक अन्य नेतृत्व र बुद्धिजिवीले समेत राम्रो मानेका छैनन ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया