शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

मध्यपश्‍चिमाञ्‍चल विश्‍वविद्यालयअन्तर्गतका क्याम्पस प्रमुखद्वारा संयुक्त राजीनामा

सुर्खेत : मध्यपश्‍चिमाञ्‍चल विश्वविद्यालयअन्तर्गतका  चार क्याम्पस प्रमुख र दुई जना निर्देशकले संयुक्त राजीनामा दिएका छन् । विश्‍वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्रपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले संयूक्त रुपमा राजीनामा दिएका हुन् ।

विश्‍वविद्यालय अन्तर्गतका मानविकी तथा सामाजिक शास्त्र संकाय केन्द्रीय क्याम्पस प्रमुख तेजविक्रम बस्नेत, इन्जिनियरिङ संकायका क्याम्पस प्रमुख सोनालाल यादव, शिक्षा शास्त्र संकायका क्याम्पस प्रमुख जस्विर रोका, व्यवस्थापन संकायका क्याम्पस प्रमुख दिपकसिंह रावत, कानुन संकायका डाइरेक्टर अर्जुनबहादुर एडी र मुसुमका डाइरेक्टर डा. सुशील शाहीले सामूहिक राजीनामा दिएका हुन् ।

क्याम्पस सञ्‍चालनको क्रममा उपकुलपतिले हस्तक्षेप गरेको, बजेट निकासा केन्द्रीय क्याम्पसबाटै हुने व्यवस्था गरेको, क्याम्पस सञ्चालनका लागि प्राध्यापकहरूको नियुक्त रोकेको लगायतका आरोप उनीहरुले लगाएका छन् । यता विश्‍वविद्यालयका उपकुलपति सिंहले आफूले शैक्षिक गुणस्तर सुधारका निम्ति सबै क्याम्पस प्रमुखलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएको भन्दै निर्देशन मान्‍न नचाहनेले राजीनामा दिएको बताए । उनले गलत मागलाई प्रश्रय दिने गरी आएको राजीनामा स्वीकृत हुने पनि बताए ।