६ पृष्ठ लामो दाहाल-नेपालको अपिलमा के छ ?

काठमाडौं : नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले देश र संविधान जोगाउन आन्दोलनमा उत्रिन नेता कार्यकर्तालाई अपील गरेका छन् ।
नेता कार्यकर्तालाई सम्बोधन गर्दै जारी गरिएको ६ पृष्ठ लामो अपीलमा दाहाल-नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा व्यवस्था मासिने जोखिम रहेको भन्दै त्यसलाई जोगाउन आन्दोलनमा उत्रिन आह्वान गरेका हुन् ।
‘अहिले दुर्घटनामा परेर अस्पतालको ओछ्यानमा अचेत भएर लडिरहेको घाइतेको जस्तो अवस्थामा संविधान पुगेको छ’ दाहाल-नेपालद्धारा जारी अपीलपत्रमा भनिएको छ, ‘संविधानको कार्यान्वयन र रक्षा गर्नुपर्ने प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो दायित्व बिर्सेर गरेको षडयन्त्रमुलक प्रहारले संविधान घाइते भएको छ । घाइते भएको संविधानलाई सहज ढंगबाट पुनः स्वस्थ्य र सुचारु पार्ने अभिभारा यतिबेला सर्वोच्च अदालतको काँधमा आइपरेको छ ।’
चार वटा बुँदामा अपील पत्र जारी गरेका दाहाल-नेपालले ओलीको प्रतिगमनविरुद्ध एक हुन सबैलाई आह्वान गरेका छन् । यस्तै दोस्रो बुँदामा प्रधानमन्त्री ओलीले फैलाएका भ्रमबारे स्पष्ट हुन पनि दाहाल नेपालले आग्रह गरेका छन् ।
आफूलाई काम गर्न नदिएको, घेराबन्दी गरेको भन्दै प्रतिनिधिसभा विघटन गरेको दाबी गर्ने ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन छाडेर व्यवस्थाकै घाटी निमोठ्नु गलत रहेको दाहाल-नेपालको भनाई छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधान, संघीयता र गणतन्त्र सिध्याउन लागेको दाहाल नेपालको आरोप छ ।
देश जोगाउनका लागि सबैले ओलीको प्रतिगमनविरुध्द आवाज उठाउनुपर्ने भन्दै दाहाल-नेपालले आवश्यक परेको खण्डमा सडक आन्दोलनमा उत्रिनुपर्नेमा पनि जोड दिएका छन् । व्यवस्था जोगाए मात्रै देश जोगिने भन्दै उनीहरुले प्रजातान्त्रिक व्यवस्था नै मास्ने कदमविरुद्ध सबै एकजुट हुन आह्वान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्चको संवैधानिक इजलासमा दैनिक सुनुवाइ भइरहेको मुध्दामा बहस गर्न साढे ३ सय वकिलले नाम टिपाएका छन् ।
सर्वोच्चमा चर्को बहस भइरहेका बेला विभाजमा पुगेको दाहाल नेपाल समूहको नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक समाजले सडक आन्दोलन पनि गरिरहेका छन् ।

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

प्रतिक्रिया