आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

सरकारी छापको दुरुपयोगगरी विज्ञप्ति प्रकाशन

सुर्खेत : मालपोत कार्यालय सुर्खेतका कर्मचारीले छापको दुरुपयोगगरी प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् । कीर्तेगरी एउटा व्यक्तिको नाममा रहेको जग्गा अर्काको नाउमा गरेको भन्दै मालपोतका नासु विश्वरुप साँवदलाई प्रहरीले पक्राउ गरेपछि त्यसको बचाउमा उनीहरूले विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले कार्यालयको लेटर हेडविनै हस्ताक्षरगरी छापमात्रै लगाएर विज्ञप्ति प्रकाशन गरेका छन् ।

विरेन्द्रनगरका सौगात रावतको जग्गा मालपोत कार्यालयद्वारा कीर्तेगरी अर्काको नाममा नामसारी गरिदिएपछि अनुसन्धानका लागि प्रहरीले बुधबार नासु साँवदलाई पक्राउ गरेको थियो । घटनाको विषयमा छानबिन भइरहेको अवस्थामा कार्यालयको लेटरहेडविना नै पक्राउको बचाउमा कर्मचारीले विज्ञप्ति प्रकाशन गरेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरका सौगात रावतको नाममा रहेको कित्ता नम्बर ३१११ को जग्गा उनलाई थाहै नदिई अर्काको नाममा गर्ने काममा सहयोग गरेको आरोपमा नायब सुब्बा साँवदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बुधबार मालपोत कार्यालयका नासु साँवदलाई पक्राउ गरेको हो । उक्त जग्गा असार आठ गते कित्ताकाटगरी बिक्री गरिएको खुलेको छ । 

रावतको नाममा शंकरचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये ४ कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिका नाममा बिक्री भएको खुलेको छ । आफ्नो जग्गाको नक्सा लिनको लागि नापी कार्यालयको कम्प्युटर सिस्टममा कित्ता नम्बर भिडाउँदा नभेटिएपछि खोजी गरिएको रावतले बताए । उनले जग्गा भएको क्षेत्रको ट्रेस नक्सा हेर्दा जग्गा अर्केको नाममा बिक्री भएको खुलेको बताए । 

जग्गा नामसारी गराउने कार्यको मुख्य योजनाकार वीरेन्द्रनगर–२ भुरेली बस्ने ३२ वर्षीय सन्तोष ठाकुर भएको रावतले बताए । साँवदसँगै जग्गा नामसारी गराउने कार्यमा आवश्यक कागजात लिखित गर्ने अम्बरसिंह कटुवाललाई पनि प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताए ।

कार्यालयको लेटर हेडविनै खाली ठाउँमा छाप प्रयोग गरिनु अनाधिकृत भएको अधिवक्ता दुर्गा सापकोटाले बताए । कर्मचारीले प्रयोग गरेको छाप पनि लत्पतिएको उनको भनाइ छ । ‘सरकारी कार्यालयमा कार्यालयको लेटरहेड बिना नै विज्ञप्ति निकालिनु अनधिकृत हो’ अधिवक्ता सापकोटाले भने, ‘यसमा छाप पनि लत्पतिएकोले यसको छापको दुरुपयोग भएको छ ।’