शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

ओलीले चुनाव गराउन प्रतिनिधि सभा विघटन गरेका होइनन् : रिजाल

नेपालगञ्ज : नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार चुनाव गर्ने नियतमा नरहेको बताएका छ्न । प्रतिनिधी सभा विघटन गरेर चुनाव घोषणा गरेका ओलीले चुनाव गर्नका लागि प्रतिनिधि सभा विघटन नगरेको रिजालको दाबी छ ।

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगर समिति र डुडुवा गाउँपालिका समितिले शनिबार गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता रिजालले संविधान र लोकतन्त्रका लागि लडेको काँग्रेसलाई सत्ताको चिन्ता नरहेको पनि स्पष्ट पारे ।

काँग्रेसको नेतृत्वमा दुःख गरेर बनाएको संविधानलाई मिच्ने काम सरकारले गरेका कारण सडकमा आउनु परेको उनले बताए । प्रधानमन्त्री ओली अधिनायकवादको बाटोमा हिडेको नेता रिजालको आरोप छ ।

नेपालगञ्ज र डुडुवामा आयोजित विरोध सभालाई काँग्रेस बाँकेका सभापति किरण कोइराला, पुर्व सभापति गजेन्द्र हमाल, प्रदेश सांसदहरु सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, काँग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त बिष्ट, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, काँग्रेस क्षेत्र नम्बर-२ का सभापति रमेशकुमार गुप्ता लगायत नेताहरुले सम्बोधन गरेका थिए ।