सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

मुक्तिनाथ च्यवनधाममा कृत्रिम हिमाल

फाइल फोटो

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा कृत्रिम हिमाल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु २० लाख लगानीमा कृत्रिम हिमाल निर्माण गरिएको हो । 

यहाँ रहेको १०८ धाराको माथिपट्टि निर्माण गरिएको कृत्रिम हिमालको महाशिवरात्रिको अवसरमा मङ्गलबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले कृत्रिम हिमालको उद्घाटन गर्दै मुक्तिनाथ च्वयनधाम गण्डकी प्रदेशकै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको बताए ।  

कृत्रिम हिमाल निर्माणसँगै उक्त ठाउँ आकर्षक देखिएको र यहाँ आन्तरिक पर्यटकको चहलपहल सुरु भएको धामका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । अन्नपूर्ण हिमश्रृङ्खलाको झल्को दिने गरी हिमालय आकृति निर्माण गरिएको छ । 

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम पथको सुरुआती बिन्दु हो । सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम पथ यहीँबाट सुरु हुन्छ । च्यवनधामको नजिकै सेती नदीमा बग्ने पानीको वहावले कुँदेर बनाएको प्राकृतिक ढुङ्गे बगैँचाले जोकोहीलाई लोभ्याउन सक्छ । 

च्यवनधामलाई तनुहँकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीवासीसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङले बताए । मिनी मुक्तिनाथको अवधारणा भएको हुँदा पूर्वाधार निर्माणमा नगरले वर्षेनी बजेट विनियोजन गर्दैआएको छ । 

पृथ्वी राजमार्ग नजिकै सेती नदी रहेको छ । गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो त्यो नदी छेउको थुम्को पवित्र धाम बनेको छ । झकिझकाउ मन्दिर ठड्याइएको छ । धार्मिक पर्यटकको गतिलो गन्तव्य बनेको छ । रासस