सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व

उदयपुर - माझी समुदायले धुमधामका साथ मंगलबार कोशी (लदी) पूजा मनाएका छन् । खोला तथा नदी किनारमा कोशी (लदी) पूजा मनाइएकाे हाे । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । माझी समुदायले हरेक वर्ष फागुन तेस्राे मंगलबार यो पर्व मनाउँदै आएका छन् । 

माझी समुदायको पुर्खौली थलो कोशी किनार हो । विशेष गरी पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोशी पूजालाई ठूलो पर्वको रुपमा लिने गर्छ । लदी पूजाका दिन सामुहिक रुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ । बज्रको पुजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् । पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताकाे प्रयाेग हुन्छ । 

माझी समुदायले लदीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राखे पनि सरकारले सम्बोधन नगरेको नेपाल माझी उत्थान संघ उदयपुरका सचिव दिपक माझीले बताए ।