सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु

फाइल फोटो

दमौली : तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष शवको भिरबाट तल ३०–४० मिटर तल खसेको थियो । वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए । 

“वडा कार्यालयबाट निस्किए पनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ, भिरबाट लडेको अवस्थामा शव भेटियो,” उनले भने । उनका अनुसार शवको मुचुल्का गरेर शवपरीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको छ । वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । रासस