दुई महिनापछि खुल्यो जोमसोम उडान
कास्की : पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना भाइरस सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो ।
जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । “समिट एयरले शनिबार र आइतबार दुई÷दुई वटा चार्टड फलाइट गरेको छ,” उनले भने, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।” पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच÷पाँच वटा उडान भर्दै आएका छन् ।
हवाई उडान चालु भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिकदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् ।
हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगी फर्कनका लागि टिकट बुकिङ हुन थालेको छ । स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ ।
अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । घाँसा प्रहरी चौकीका अनुसार दैनिक एक हजार ५०० पर्यटक सडक मार्ग भएर मुस्ताङ भित्रिएका छन् । चौकीका इञ्चार्ज मनबहादुर कार्कीले दैनिक तीन सयको हाराहारीमा मोटरसाइकल, स्कार्पियो जीप र बसमा पर्यटक मुस्ताङ भित्रिएका बताए ।
मुक्तिनाथ मन्दिर, कागबेनीलगायत धार्मिक र पर्यटकीयस्थलमा चहलपहल बढेको छ । मुक्तिनाथ मन्दिरका कर्मचारी रवीन सुवेदीले गर्मी बढ्नाका साथै कोरोना सङ्क्रमण दर पनि घटेपछि तीर्थयात्रीको आगमन हुन थालेको बताए । रासस

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण सुरू

निजी क्षेत्रसमेतको सहभागीतामा कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन समिति गठन

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए,सबैभन्दा धेरै भारतीय

सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव: नाट्टा

पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

प्रतिक्रिया