बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

कालीकोट- कालीकोटको पलाँता र पचालझरना गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् ।    
    
पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलगायतको टोलीले चार किलोमिटर र्‍याफ्टिङ गरेर अध्ययन सुरु गरेको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए ।    
    
कर्णाली नदीको बहुप्रयोग योजनाअन्तर्गत ¥याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरिएको उनले बताए । “यहाँको पर्यटक प्रवद्र्धन र रोजगारी अभिवृद्धिका लागि गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरेको छ”, उनले भने, “सम्भाव्यता अध्ययन सफल भएको छ । अब छिट्टै नै कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्नेछौँ ।” उनले हामी पचालझरना आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको पर्खाइमा छौँ भन्दै पचालझरना हेर्न आउने पर्यटकलाई दृष्टिगत गरेर गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्ने योजना अगाडि सारेको बताए।    
    
कर्णाली नदीमा र्‍याफ्टिङको सफल परीक्षण भएको र्‍याफ्टिङ पर्यटन व्यवसायीले मनराज सिंम्खडाले बताए। “कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाका रुपमा चिनिएको छ । यसको उचाइ ३,८१ मिटर रहेको छ”, उनले भने, “नेपाल सरकारको ६४औँ र कर्णाली प्रदेश सरकारको ४०औँ पर्यटकीय गन्तव्यको सूचीमा यसलाई राखिएको छ ।”    
    
गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पचालझरना पुग्न आठ किलोमिटर सडक र होमस्टे निर्माण गरिएको छ । पचालझरना हेर्न आउने पर्यटकलाई लक्षित गरी गत वर्षदेखि सञ्चालन गरिएको होमस्टेमा विदेशी पर्यटक न्यून मात्रामा आउने गरेका छन् । पचालझरनामा पर्यटक भित्रियाउनका लागि पूर्वाधार निर्माणका काम जारी रहेको उनले बताए।