बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

आयोगमा दल विवाद महाशाखा प्रमुख सरुवा हुनुको अर्थ

काठमाडौं : निर्वाचन आयोगमा सत्तारुढ दल नेकपा विभाजन सम्बन्धी कानूनी आधार जाँच्‍न पुराना नजीर र कानुन अध्ययनमा व्यस्त महाशाखा प्रमुख सरुवा परेमा छन् । महाशाखा प्रमुखमा सहसचिव लक्ष्मीप्रसाद गौतम कार्यरत थिए । उनी विगतमा दलहरू कसरी विभाजन भए र त्यसमा सर्वाेच्च अदालतका प्रतिपादित नजिरहरू अध्ययन गर्दै थिए ।

नेकपा विभाजनमा उनीबाट प्रधानमन्त्रीको पक्षधर नेकपालाई ‘असहयोग’ हुने आशंकामा सरुवा गरिएको देखिन्छ । गौतमलाई नेपाल कानुन सुधार आयोग पुर्‍याइएको छ । उनी निर्वाचनमा सरुवा भएको नौ महिना मात्रै बित्दैथियो । निर्वाचनको मिति घोषणा र दल विभाजनसम्बन्धी विवाद आयोगमा पुगेपछि सरुवा भएपछि आयोगकै निर्णय प्रभावित पार्न खोजिएको आशंका गरिँदैछ । उनले तीन दिनअघि सरुवा पत्र पाएका हुन् ।

आयोगकै उच्च अधिकारीहरू भन्‍छन्, ‘सरकारले योजनाबद्ध ढंगले सरुवा गरेको हो । नत्र जुन महाशाखामा सत्तारुढ दलको विवाद पुगेको छ, त्यही महाशाखा प्रमुख सरुवा गर्नुले प्रभावित गर्ने सुनियोजित खेल भन्दा अर्काे के हुन सक्छ र ?’

त्यो ठाउँमा गृहमन्त्रालयका कानुन महाशाखाका सहसचिव पुस्कर सापकोटालाई खटाइएको छ । त्यसअतिरिक्त आयोगमा प्रधानमनत्री केपी शर्मा ओलीको समूहलाई असहयोग गर्ने र निर्वाचन प्रभावित गर्ने गरी ‘अनुकूलका पात्र’ लैजाने तयारीमा सरकार रहेको बुझिएको छ ।