सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

सस्तोमा यात्रा गरेर देश घुम्ने दश तरिका

पाँचतारे होटल होइन, होमस्टे रोज्नुहोस्

निशा राईको फेसबुकबाट

यात्रामा निस्किन सबैलाई मन पर्छ । तर, काहिलकाहीँ आर्थिक कारण कतिपयले यात्रा नगर्ने निर्णय गर्छन् । खर्चको डरले हामी आफैँ पनि हत्तपत्त घुमघाममा निस्किने आँट गर्दैनौँ । समय र इच्छा भए पनि पैसाको कारण धेरैलाई घुमफिरमा निस्किनु असम्भव जस्तै लाग्छ । तर, स–साना कुरामा मात्रै ध्यान दिने हो भने यात्रामा निस्किँदा हामीले सोचेभन्दा बढी बचत गर्न सक्छौँ । थोरै खर्चमा पनि धेरै ठाउँ घुम्न सक्छौँ ।

सस्तोमा यात्रा गर्ने केही तरिका यस्ता छन्ः

१. अफ सिजनमा निस्किनुहोस्

यात्रामा निस्किनुपूर्व आफू कुन समयमा निस्किन लागेको छ, निश्चित गर्नुपर्छ । सस्तो यात्रा गर्ने एउटा उपाय भनेको अफ सिजनमा यात्रामा निस्किनु हो । अफ सिजनमा यात्रा गर्दा ट्राभल खर्च कम पर्छ । बसोबास र खानपान सस्तो पर्छ । त्यस्तै, अफ सिजनमा यात्रा गर्दा अनावश्यक भीडभाडबाट मुक्ति पाइन्छ । आफूले खोजेजस्तो सेवा सुविधा पनि पाइन्छ । विशेष अवसरमा सबैकुरा महँगो हुने भएकाले त्यस्तो बेलामा यात्रामा निस्किनु हुँदैन । त्यस्तो समयमा होटलको माग बढी हुने भएकाले निकै महँगो पर्न जान्छ । तर, अफ सिजनमा यात्रा गर्दा आफू जाने ठाउँको मौसमबारे भने राम्रोसँग जानकारी लिएर जानुपर्छ । 

२. अग्रिम बुकिङ गर्नुहोस्

यात्रामा निस्किनुपूर्व यातायातदेखि होटलसम्मको अग्रिम जानकारी लिनुपर्छ । सकेसम्म सबैकुरा अग्रिम बुकिङ गर्नुपर्छ । प्लेन÷गाडी, होटल र आदि अगाडि नै बुकिङ गर्दा सस्तो पर्न जान्छ । त्यहाँ पुगेर मुड अफ गर्नुपर्दैन । अग्रिम बुकिङ गर्दा अलपत्र पनि परिँदैन । कति खर्च लाग्छ भनेर यात्रामा निस्किनुभन्दा अगाडि नै अन्दाज गर्न सकिन्छ । खानपान, आवास र अन्य प्याकेजहरूको बारेमा पहिल्यै जानकारी भइसकेको हुन्छ । यसबाट उक्त खर्च आफूले बेहोर्न सक्ने÷नसक्नेबारे पहिला नै जानकारी हुन्छ । त्यसैले अग्रिम बुकिङ गर्नु पैसा बचत गर्ने एउटा गज्जबको तरिका हो ।

३. प्लेनको सट्टा गाडी रोज्नुहोस् 

प्लेनको यात्रा महँगो हुन्छ । त्योभन्दा गाडीको यात्रा सस्तो पर्न जान्छ । त्यसैले धेरै टाढाको यात्रा नभएको खण्डमा प्लेनभन्दा गाडी रोजेको राम्रो । प्लेनको खर्च कटाउँदा कहिलेकाहीँ त्यसले बसोबास र अन्य खर्चको लागि समेत मद्दत मिल्छ । समय थोरै हुँदा प्लेनमै यात्रा गर्न सकिन्छ । तर, पर्याप्त समय हुँदा गाडीको यात्रा लाभदायी हुन्छ । 

४. रातिको समय टेन्ट वा यातायातमा बिताउनुहोस्

यात्रामा निस्किँदा रातको समय यातायात वा आफैँले लगेको टेन्टमा बिताउँदा कम खर्च लाग्छ । आफैँले टेन्ट लिएर हिँड्दा यात्रा निकै सस्तो पर्छ । तर, कहिल्यै टेन्टमा बसेको अनुभव नभएकालाई भने यो उपाय उपयुक्त नलाग्न सक्छ । तर, खर्चको हिसावले यो एकदमै सस्तो पर्छ । रातको समय टेन्ट वा यातायातमा बिताउँदा हामीले होटलको खर्च बचाउन सक्छौँ । 

५. समूहमा यात्रा गर्नुहोस्

एक्लै यात्रामा निस्किनुभन्दा समूहमा निस्किँदा गर्दा सस्तो पर्छ । धेरैजना यात्रा गर्दा खानेदेखि बस्नेसम्मको खर्च हुन्छ । त्यसैले यात्रा गर्दा सकेसम्म समूहमा गर्नुपर्छ । समूहमा यात्रा गर्दा खर्चको हिसावले मात्र नभएर गारोसाह्रो पर्दासमेत एकअर्काको सहयोग मिल्छ । 

६. पर्यटकिय स्थलको छनोट नगर्नुहोस् 

कम बजेटमा यात्रा गर्नको लागि सावधानीपूर्वक गन्तव्य छनोट गर्नुपर्छ । ठूला सहर र पर्यटकका आकर्षण केन्द्रहरू महँगा हुन्छन् । त्यसैले यात्राको लागि गन्तव्य छनोट गर्दा अपरिचित, मानिसहरू मुस्किलले पुग्ने ठाउँ छान्नुपर्छ । परिचित वा सामाजिक सञ्जालमा भाइरल भएको ठाउँमा धेरैले बुक गर्न खोज्छन् । धेरैजनाले बुक गर्न खोज्दा त्यो ठाउँ खचाखच र महँगो हुन्छ । त्यहाँका होटलहरू टुरिस्टलाई लक्षित गरिने हुनाले महँगो हुन्छ ।

७. पाँचतारे होटल होइन होमस्टे रोज्नुहोस्

घुम्न जाँदा पाँचतारे होटलमै बस्न पर्छ भन्ने छैन । ठाउँअनुसार हामीले होमस्टे पाउँछौँ । त्यहाँ बस्दा त्यहाको लोकल मानिसहरूसँग पनि सम्पर्क बढाउन सकिन्छ । उक्त ठाउँबारे थप जानकारी प्राप्त गर्न सकिन्छ । होटलभन्दा होमस्टेमा मौलिक खानपानको स्वाद पनि लिन सकिन्छ । होटेलभन्दा होमस्टे निकै सस्तो पनि पर्न जान्छ ।

८. विद्यार्थी हुनुहुन्छ भने आइडीकार्ड लिएर हिड्नुस्

कुनै म्युजियम वा घुम्ने स्थलमा विद्यार्थी आइडीकार्डले छुट पाउन सहयोग गर्छ । आईडी कार्डको सहायताले अरु धेरै ठाउँमा डिस्काउन्ट मिल्छ । विभिन्न खेल वा टिकटहरूमा विद्यार्थीहरूले छुट पाउने भएकाले घुम्न निस्क्दिा आफ्नो कार्ड बोकेर हिँड्नुपर्छ । कतिपय ठाउँमा कार्डले गर्दा यातायातमा पनि छुट पाउन सकिन्छ । त्यसैले यात्रा गर्दा पैसा बचाउने यो एउटा उपाय हुन सक्छ । 

९. पानी पिउने बोतल आफ्नै लैजानुहोस्

यात्रामा निस्किँदा आफ्नै पानीको बोतल लैजानुपर्छ । पुनः प्रयोग गर्न मिल्ने खालको पानीको बोतल वातावरण र आफ्नो खल्ती दुवैको लागि राम्रो हुन्छ । यात्रामा निस्किँदा पानीको बोलल सधैँ आफूसँग राख्नुपर्छ । आफू बाहिर निस्किनुभन्दा पहिला बोतल बोके नबोकेको ख्याल राख्नुपर्छ । यसरी आफ्नो बोलत लिएर हिँड्दा बाटोमा धेरै बोतल किनिरहनु पर्दैन । खर्च पनि बच्छ । 

१०. गाइडको खर्च बचाउन सामाजिक सञ्जालको प्रयोग गर्नुहोस्

अहिलेको समयमा सामाजिक सञ्जाललाई हामीले ट्राभल गाइडको रुपमा प्रयोग गर्न सक्छौँ । फेसबुक, इन्स्टाग्राम र युट्युबको माध्यमबाट हामीले धरै कुराहरू पत्ता लगाउन सक्छौँ । धेरैजनाले आफ्नो अनुभव त्यहाँ सेयर गरिरहेका हुन्छन् । कहाँ जाने कसरी जानेदेखि कति खर्चमा पुग्न सकिन्छ जस्ता धेरै कुरा हामीले सामाजिक सञ्जालबाट थाहा पाउन सक्छौँ । त्यस्तै, आफू कस्तो ठाउँमा बस्ने, के खाने सबैकुरा हामीले यात्रामा जानुपूर्व नै जानकारी लिन सक्छौँ । अनुभवी पर्यटकहरूद्वारा प्रकाशित पुस्तकको माध्यमबाट पनि ती कुराहरू थाहा पाउन सकिन्छ । त्यहाँ आफू घुम्न जाने ठाउँको बारेमा रोचक स्थानहरू, सस्तो होटल र खानपानबारे जानकारी दिइएको हुन्छ ।