शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

पोखराका पथप्रदर्शकलाई स्थलगत तालिम

फाइल फोटो

कास्की : पोखरालाई कर्मथलो बनाएर पथप्रदर्शन गरिरहेका पर्यटनकर्मीलाई स्थलगत सीप विषयक सात दिवसीय तालिम पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश समितिको आयोजनामा सुरु भएको तालिम फागुन १९ गतेसम्म चल्ने सङ्घका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए ।  पदयात्रा र पर्वतीय पर्यटनमा लागेका पथप्रदर्शकको दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।

तालिममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनात्मक सहयोग, काठमाडौँ इन्भाइरोमेण्टल एजुकेशन प्रोजेक्ट किप नेपालको साझेदारी, उद्योग पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेशको सहयोग छ । 

तालिमको उद्घाटन कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्वतीय पर्यटनबाट व्यवसायीले अपेक्षित लाभ लिन नसकेको बताउँदै पर्वतीय गतिविधिको थप प्रचारप्रसार गर्नुपर्ने र आवश्यक जनशक्तिलाई तालिम दिएर थप व्यावसायिक बनाउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेशका कार्यालय प्रमुख काशीराज भण्डारीले पर्वतीय पर्यटनका विविध आयाम र दक्ष जनशक्तिको महत्वबारेमा प्रकाश पारेका थिए । नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेशसँगको सहकार्यमा यस अगाडि थुप्रै कार्यक्रम गरिसकेको र आउँदा दिनमा पनि निरन्तरता दिने उनको भनाइ थियो ।

किप नेपालका प्रमुख कार्यकारी अधिकृत इयान वालले तालिममा दिइने विषयवस्तुबारे प्रकाश पारे । यस किसिमको तालिम पोखरामा पहिलोपटक भएको दाबी गर्दै सङ्घले तालिममा पर्वतीय पर्यटनमा अतिआवश्यक नक्सा अध्ययन, कठिन परिस्थितिमा दिशा पत्ता लगाउने कला, प्राथमिक उपचार, तारा अध्ययन, कथावाचनलगायतमा छलफल गरिने जनाएको छ । रासस