बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन

पर्सा- वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ ।    
    
कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको नीति ल्याएपछि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको हो ।    
    
महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ३५ करोड ३३ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२६ प्रतिशत बढी हो । गत आर्तिक वर्षको पहिलो सात महिनामा महानगरपालिकाले रु २५ करोड ५५ लाख ८३ हजार राजस्व सङ्कलन गरेको थियो ।    
    
महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न सङ्घ संस्थलाई सम्पत्ति करमा छुट दिने निर्णय गरेपछि यसमा पाँच प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डले जानकारी दिए।    
    
उनका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा रु १० करोड ५० लाख ९३ हजार र घर बहाल कर शीर्षकमा रु चार करोड १४ लाख राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सम्पत्ति कर शीर्षकमा रु १० करोड २१ हजार तथा घर बहाल कर शीर्षकमा रु तीन करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो।    
कोरोना सङ्क्रमणका कारण विभिन्न बाधा अड्चन खेप्दै आएका नगरवासीलाई चैत मसान्तसम्म सम्पत्ति कर र व्यवसाय कर बुझाए पाँच प्रतिशत छुट दिनेजस्ता आर्कषक योजनाले महागरपालिकाको कर सङ्कलनमा सकारात्मक प्रभाव परेको बताइएको छ ।