मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

‘सरकार परिवर्तनबारे प्रधानमन्त्रीको बोलीमा कुनै संकेत देखिएन’

फाइल फोटो

काठमाडौँ : एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता अनौपचारिक भएको टिप्पणी गरेका छन् । देउवा र ओलीको भेटमा सहभागी एमाले उपाध्यक्ष पौडेलले एमसीसी पारित गर्ने विषयमा कुराकानी भएपनि थप कुनै छलफल नभएको बताए ।

साथै उनले तत्काल सरकार परिवर्तन वा सत्ता गठबन्धनमा हलचल आउन सक्नेबारे प्रधानमन्त्री देउवामा कुनै संकेत नदेखिएको पनि बताए । प्रधानमन्त्री देउवाले एमालेसँग एमसीसी पारितका लागि सहयोग गर्न आग्रह गरेका थिए ।  जवाफमा एमालेले पहिला आफूहरुका माग सम्बोधन हुनुपर्ने अडान राखेको पौडेलले बताए ।

‘प्रधानमन्त्रीज्यूले एमसीसी पारित गर्न सहयोग गर्नुपर्छ भनेपछि हामीले पहिला माग र मुद्दा सम्बोधन गर्नुस भनेका छौँ । त्यसमा पनि हाम्रा माग सम्बोधन गरेर सदनमा भाग लिने वातावरण मिलाउनुस् । एमसीसीमा हाम्रा दृष्टिकोण लिएर सदनमा उपस्थित हुने वातावरण बनोस् भन्यौ,’ उनले इकागजसँग भने, ‘तर एमसीसीका विषयमा कुरा चल्दै गर्दा प्रधानमन्त्री देउवाको बोलीमा सरकार परिवर्तनको सवालमा त्यस्तो संकेत देखिएन ।’