आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

तुलसीपुर - दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा  बालश्रमिक  रहेको  पाइएको हो । बेस  संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८   बालबालिका  श्रममा रहेको खुलेको हो ।

उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये  १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीले जानकारी दिए। 'हामीले उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गर्‍यौँ, सुक्ष्मरूपमा त्यहाँको अवस्था पनि हेर्‍यौँ, त्यहाँ धेरै बालबालिका श्रमिक रहेको पाइएको हो', उनले भने । 

अहिले इँटा उद्योगमा बालश्रमिक राखेको तथ्याङ्क सार्वजनिक गरेर  उनीहरुलाई उद्धार  गर्न सङ्घसंस्थाले चासो देखाएका छन् । उपमहानगरपालिकाले उद्योगमा बालश्रमिक राख्न नपाउने नीति–निर्माण  भइसकेको र कार्यान्वयनको चरणमा  रहेको  सामाजिक  विकास  समिति  संयोजक कुमार लामिछानेले जानकारी दिए ।

अहिले  इँटा  उद्योगमा काम गर्ने बालबालिकाहरू नभई  आश्रित परिवारका रहेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी  समितिका अध्यक्ष प्रेमनाथ योगीले बताउए ।