‘कोभिड नियन्त्रणमा सरकारको भूमिका प्रशंसनीय’

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा पोखरामा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिमः सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले विभिन्न भेरियन्टका रुपमा देखापरेको कोभिड–१९ ले विज्ञान र प्रविधिलाई समेत चुनौती दिँदै गइरहेको जनाउँदै नेपाल जस्तो मुलुकमा खोपको सहजता र अन्य व्यवस्थापनका कार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि केही सहज भएको बताए । उनले अझै पनि महामारी पूर्ण रुपमा निर्मूल नभइसकेकाले स्वास्थ्य सतर्कतासहित मापदण्ड पालना गरेर मात्र गतिविधिहरु गर्नुपर्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले पछिल्लो राजनीतिक घटनाक्रमले नागरिकलाई निराश बनाएको जनाउँदै देशको समृद्धि, सुशासन र विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए । महामारी रोकथामका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा जनप्रतिनिधि चनाखो भएर गृहकार्य गर्ने र रणनीतिक योजनाहरु बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले २०७६ पुस २८ मा नेपालमा पहिलो पल्ट कोभिड–१९ सङ्क्रमित देखा परेको र तत्कालीन समयमा कोभिड परीक्षण रोकथामका कार्य गर्न निकै जटिल र चुनौती रहे तापनि मन्त्रालयले समुदायलाई सुसूचित गराएर महामारी नियन्त्रणका लागि काम गरेको बताए ।
उनले पिसिआर ल्याब नहुँदा तत्कालीन समयमा हङकङमा परीक्षणका लागि पठाउनु परेको स्मरण गर्दै अहिले नेपालमा १०२ पिसिआर ल्याबहरु रहेको जानकारी दिए । डा मिश्राका अनुसार सरकारले २०७७ साल माघ १४ मा खोप कार्यक्रम सञ्चालन गरेकामा हालसम्म तीन करोड ६० लाख ९९ हजार १६९ ले पहिलो र दोस्रो डोज खोप लगाएका छन् । त्यस्तै आठ लाख ४२ हजार ५९० जना बुस्टर डोज खोप लगाएका छन् । उनले कूल जनसङ्ख्या ७३ प्रतिशतले पहिलो र ५८ प्रतिशतले दोस्रो डोज लगाएको जानकारी दिए ।
त्यसैगरी हालसम्म ६४ लाख एक हजार १६ जनामा पिसिआर परीक्षण गरिएको छ भने ११ लाख १३ हजार ५४४ सङ्क्रमित सङ्ख्या रहेको थियो । कोभिड–१९ का कारण ११ हजार ९१३ जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४३५ रहेको छ । उनले हाल कोभिड सङ्क्रमण सङ्ख्या ओरालो लाग्दै गएको जनाउँदै समुदायस्तरबाटै जनचेतना जगाउन सके आगामी दिनमा महामारीबाट जोगिन सकिने बताए ।
विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कोभिडले हरेक मानिसको जीवनशैली परिवर्तनका लागि धेरै कुरा सिकाएको बताए । महामारीलाई नकारात्मक रुपमामात्र लिएर निराश हुनुभन्दा महामारीपश्चात् परिवारको महत्वसँगै पारिवारिक पुनःमिलनमा समेत भूमिका खेलेको कुरालाई पनि स्मरण गर्नुपर्ने बताए ।
योग ध्यानको महत्वलाई उजागार गर्दै चिकित्सा क्षेत्रमा समेत कोभिड–१९ ले क्रान्ति ल्याएको उनको भनाइ छ । महामारीको अवस्थाले शारीरिक, मानसिक साथै आर्थिक अवस्थाको सामना गर्नुपर्ने स्थितिले मानसिक स्वास्थ्यमा समेत असर पारेको र यसतर्फ झन् सचेत हुनुपर्ने आवश्यकता उनले औल्याए ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका रणनीतिक साझेदारी र नेतृत्व सञ्चारका वरिष्ठ परामर्शदाता डा सुनुर वर्मा, आपत्कालीन कार्यक्रमका प्रमुख डा आलिसानगोकोटानो, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना केन्द्रका निर्देशक सुनिलराज शर्मा, मेडिकल अफिसर खोप कार्यक्रमका डा. विनोद बुरा र मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख श्री सागर दाहाल लगायतले कोभिड–१९ को समयमा प्रदेशसभाको भूमिका, सामुदायिक संयन्त्रको स्थापना, जनस्वास्थ्यका मापदण्ड, संसद्को भूमिका, मन्त्रालयको रणनीतिक योजनाहरुमा छुट्टाछुट्टै प्रस्तुति राखेका थिए ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादव, मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी लगायतले कोभिड–१९ को विषयमा आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशका सचिव लगायतको उपस्थिति रहेको र लगत्तै यो कार्यक्रम सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गरिने सञ्चार संयोजक छिरिङ गुरुङले जानकारी दिए । रासस

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया