शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

काठमाडौँको ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरियो

फाइल फाेटाे

काठमाडौँ- काठमाडौँको ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ ।  ढुंगेअड्डाको सडक पेटीमा आज बिहान दुईवटा कुकर फेला परेको थियो । प्रहरीले उक्त कुकरमा बम भएको आशंका गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो । सो शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले बताएको छ । उक्त नक्कली कुकर बममा तार जोडेर खतरा लेखेको देखेपछि स्थानीयहरु त्रसित भएका थिए ।

 शंकास्पद वस्तु भेटिएपछि सो क्षेत्रमा जाने सवारी राेकिएकाे थियाे । प्रहरीले कंलकीबाट सवारीसाधनलाई थानकोटपट्टि जान दिएको थिएन । शंकास्पद वस्तुको डिस्पोजसँगैं सवारी साधन चल्न थालेका छन् ।