आधुनिक र प्राविधिक शिक्षाका नायक नारायण सिग्देल
‘पढ्दै कमाउँदै कार्यक्रम’का कोरियोग्राफर शिक्षक

काठमाडौँ - नेपालमा फलाम खानी छ । तर सियो पनि विदेशबाट आयात गर्नुपरिरहेको छ । खानी भएर के गर्नु ? खेतीपाती गर्नेदेखि खानेकुरा उत्पादनमा आयातकै भर पर्नुपर्छ ।
६० प्रतिशत घरमा अहिले पनि चुल्हो बल्छ । दाउरा बालेर खाना पकाइन्छ । तर खरानी आयात गरेर काम चलाउनुपर्छ । सुन त बालुवामा खोजे केही मिल्न सक्छ । तर नुन किन्नैपर्छ ।
यद्यपि, हरेकका घरमा फलाउन सकिने खुर्सानी पनि आयात गर्नुपर्ने बाध्यता छ । यसको फेहरिस्त लामो छ । निर्यात दैनिक घट्दो छ । अनि आयात दैनिक बढ्दो छ । नेताहरूलाई एमसीसीको चिन्ता छ । जनतालाई आफ्नो भोक प्यारो छ । देशको आत्मनिर्भर अर्थतन्त्रका विषयमा सोच्ने फुर्सद कसलाई छ ?
सुर्खेतको बड्डीचौरमा रहेको जनज्योती माध्यामिक विद्यालयका शिक्षक नारायण सिग्देल अहिले यस्तै प्रश्नको जवाफ खोजिरहेका छन् । यसको आधाउधि उत्तर खोज्न उनले आफूले पढाइरहेको विद्यालयलाई नमूना बनाएका छन् । स्कुलमै पढ्ने विद्यार्थीलाई हलो जोत्ने, माछा पाल्ने, मौरी पाल्ने काम गराएर पँैसा कमाउने बनाएका छन् ।
हिजो स्कुल पढेपछि रोजगारीका लागि भारत जाने विद्यार्थी अहिले गाउँघरमै केही व्यापार व्यवसाय गरिरहेका छन् । अनि आफ्नो स्कुलमा लागू गरेको पढ्ने, पढाउने र कमाउने कार्यक्रम देशभरका विद्यालयमा लागू गर्ने सरकारी कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।
आखिर यो सबै कसरी सम्भव भयो ? वास्तविकता थाहा पाउन तनहुँदेखि सुर्खेतको बड्डीचौर पुग्नुपर्छ ।
तनहुँदेखि सुर्खेत बड्डीचौरसम्म
कर्णालीको प्रवेशद्धार जुम्ला जाने कर्णाली राजमार्गमै पर्छ, सुर्खेतको बड्डीचौर । जहाँबाट २०० मीटरको दूरीमा जनज्योती माध्यामिक विद्यालय पर्छ । २०३९ सालमा स्थापना भएको यो विद्यालयमा जागिर खानका लागि २०४६ सालमा तनहुँबाट सुर्खेत पुगेका हुन्, सिग्देल । जतिबेला विद्यालयमा कक्षा ७ सम्म पढाइ हुन्थ्यो ।
अवस्था नाजुक थियो । विद्यार्थी कम थिए । शिक्षक झन् थोरै । पठनपाठन ठिकै । आशा र उत्साह लगभग शून्य । विद्यार्थीले पढ्ने र शिक्षकले पढाउनेबाहेक यो विद्यालयमा अर्थोक हुँदैन्थ्यो ।
तर सिग्देलले जाँगर चलाए । चक डस्टर मात्रै होइन, उनले दिमाग चलाए । विद्यार्थीका मन पढेँ । विद्यालयको प्रागण हेरे । वर्षामा चुहिने स्कुलको टिनको छाना पनि हेरे । अवस्था भद्रगोल थियो ।
यसरी हुँदैन । उनलाई लाग्यो, यो अवस्था फेर्नुपर्छ । फेर्न सकिन्छ । उनलाई आफ्नो मन र परिवर्तनमा विश्वास थियो । तर त्यो गफले होइन, इच्छाशक्तिले मात्रै सम्भव छ भन्ने पनि उनलाई थाहा थियो ।
सुरु आफैँबाट गरेँ । विद्यार्थीमा उत्साह भरे । शिक्षकमा प्रोत्साहन । अभिभावकमा आशा र भरोसा राखे । यही लगावले उनी २०४८ सालमा विद्यालयका प्रधानाध्यापक नियुक्त भए । अब जिम्मेवारी काँधमा आइलाग्यो ।
उनले पहिलो कदम उठाए । कक्षा ८ सम्म पठनपाठन हुने व्यवस्था मिलाए । यसका लागि विद्यालयमा चन्दा संकलन गरेर ७५ हजार रुपैयाँसम्म संकलन गरे । हौसला बढ्यो । त्यसपछि विद्यालयको पठनपाठन कक्षा १० सम्म पुर्याए ।
यो सजिलो थिएन । उनले महायज्ञसम्म लगाएका छन् । विद्यालयमा कक्षा थप्न, अनुमति लिन र प्राविधिक विषयको पठनपाठनका लागि महायज्ञ लगाएर भएपनि आवश्यक रकमको जोहो गरेका छन् ।
उनले यति गरेपछि जनज्योति माध्यामिक विद्यालय बन्यो । जुन मामुली एक पढ्ने र पढाउने ठाउँ मात्रै थिएन, शिक्षकका लागि घर थियो । विद्यार्थीका लागि भविष्य बनाउने र पैँसा कमाउने कारखाना । यसका लागि उनले झण्डै तीस वर्ष संघर्ष गरे ।
ओठमा जुँगाको रेखी लागेका बेला उनले थालेको आधुनिक र प्राविधिक शिक्षाको अभियानले झण्डै तीन दशकपछि मूर्तरुप पायो । अनि देशी विदेशीका नजरमा पर्यो । जसको चर्चा मात्रै भएन, नेपालको आधुनिक र प्राविधिक शिक्षाको नेतृत्व लिन सफल भयो ।
‘विद्यार्थीलाई पढाएर मात्रै हुँदैन, सीप दिनुपर्छ । अर्थात ‘स्कील’ त्यो भनेको पाँच वटा अक्षरले बन्छ । त्यसरी नै योजना, संरचना र कार्यक्रम बनाएर लागू गर्नुपर्छ,’ २०७२ सालमा क्यापिटल एफएमको स्टुडियोमा सिग्देल सर भन्थे, ‘यदि स्कीलको ‘एस’ भएन भने विद्यार्थी ‘किल’ हुन्छ । अर्थात मारिन्छ ।’
आधुनिक र प्राविधिक विद्यालयको जग
सिग्देल सरका शब्दमा त्यतिबेला जनज्योतिका विद्यार्थी स्कुलमै मारिन विवश थिए । पढायो । प्रमाणपत्र दियो । पठायो । तर सीप दिइएन । विद्यार्थी बेरोजगार भए । पैँसा कमाउन भारत र खाडी देश लागे । धेरै जिवित फर्किए । कति उतै मारिए । फर्केकाहरू पनि फेरि विदेश जानुपथ्र्यो । घरमा हलो जोत्न विद्यार्थी लजाउँथे । गाउँघरमा हलो जोत्न लजाउने विद्यार्थी विदेश गएर शौचालय सफा गर्थे । अहिले पनि गरिरहेकै छन् । भारी पनि बोक्छन् ।
यो देखेर उनको मन अमिलो भयो । यो पचासको दशककै कुरा हो । काम सानो ठूलो हुँदैन । उनले मन फेरे । प्रण गरे । विद्यार्थीलाई स्कुलमै हलो जोताउनुपर्छ । खेत खन्न लगाउनुपर्छ । माछा पाल्न लगाउनुपर्छ । भैँसी पाल्नुपर्छ । गाई बाख्रा चराउनुपर्छ । घाँस काट््नुपर्छ । स्कुलमै कृषिकर्म गर्नुपर्छ । पैँसा आउने रोजगारीको बाटो देखाउनुपर्छ ।
यो एउटा काम थियो । सीप सिकाउने बाँकी काम पनि स्कुलमै गर्नुपर्नेमा उनले सबथोक अगाडि सारे । विद्यार्थीलाई चित्त बुझ्यो । शिक्षकले आँट गरे । अभिभावकले काँध थापे । सिग्देलले पाइला अघि बढाए ।
यो काम नेपालमा सीटीइभीटीले गर्दै आएको थियो÷छ । उनले अनुमति लिए । स्कुलमै सीटीइभीटीले पठनपाठन थाले । कृषिविज्ञानको अनुमति पनि लिए । स्कुलमै पढाउन थाले ।
विद्यार्थीलाई पढ्न बाहिर जानुपरेन । उनको काम गर्ने शैली अलग थियो । रोचक थियो । शिक्षक र विद्यार्थीको मन रम्यो । उनको मन पनि जनज्योतीमै जम्यो । विद्यालयको पठनपाठन नमूना बन्यो । हिजो मूश्किलले एक सय विद्यार्थी हुने स्कुलमा आज सयौँ विद्यार्थी छन् । क्याम्पस बनिसक्यो । धेरैजसो प्राविधिक विषयको पठनपाठन हुन्छ ।
स्कुलमै तरकारी उत्पादन हुन्छ । भैँसी पालिएको छ । गाई, बाख्रा, बंगुर र माछापालन व्यवसाय चलिरहेको छ । पैँसा बाहिर जाँदैन । उल्टै स्कुलमै कमाइ हुन्छ । विद्यार्थी काम गर्छन् । पैँसा कमाउँछन् । व्यवसाय गर्नेका लागि स्कुलले ऋण पनि दिन्छ । विद्यार्थी पढाई सकेर व्यवसायी बन्छन् । अरुलाई रोजगारी दिन्छन् । गाउँघरमै पैँसा कमाउँछन् ।
जुन कामको चर्चा स्थानीय पत्रपत्रिकादेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियामा समेत भइसकेको थियो । तर सरकारले सुनेन । बरु दाताले सहयोग गरे । स्थानीयले चन्दा दिए । तर पनि सरकारले उनको काम सुरुमा पत्याएको थिएन । आधारभूत सहयोगबाहेक अरु पाउन ढुंगाका चिउरा चपाउनुसरह थियो । उनले हार मानेनन् । किनकी यसलाई बड्डीचौरको एक स्कुलमा सीमित पार्नु थिएन ।
‘हामी अब सैद्धान्तिक ज्ञान दिन छाडौँ । विद्यालय नमूना बनाउन मात्रै होइन, विद्यार्थीलाई सीप दिनतिर लागौँ,’ संघीय लोकतान्त्रिक गणतन्त्रपछिको समृृद्ध नेपाल बनाउने नेताहरूले सपना बाँडिरहेका बेला सिग्देल भन्थे, ‘ठूलो भाषण दिएर स्कुल राम्रा बन्दैनन् । विद्यार्थी काम लाग्दैनन् ।
साना साना कुरामा विद्यार्थीलाई स्कुलमै सबै सीप र व्यवसाय गर्ने सबैथोक दिएर पठाऔँ । अनि मात्रै केही परिवर्तन हुन्छ ।’ उनले भनेजस्तै शिक्षाका गफ धेरै भए । तर वास्तविकता केही छैन । अभिभावक गुणस्तरका नमूना बोर्डिङ स्कुललाई ठानिरहेका छन् । पसिना बगाएर छोराछोरीको फी तिरेपछि गुणस्तरीय शिक्षा पाइरहेको भ्रममा बाँचिरहेका छन् । तर सिग्देल फरक बाटो लागे । हार खाएनन् ।
सिंहदरबारमा लबिङ, पढ्दै कमाउँदै कार्यक्रमको कोरियोग्राफी
२०७६ सालको चिसो महिनामा कृषि मन्त्रालयको कुर्सीमा घनश्याम भुसाल मन्त्री बन्न पुगे । केही कृषिबिटका पत्रकार कृषि क्रान्ति गर्ने सपना बाँडेका भुसाललाई बधाई दिन मन्त्रालय पुगेका थिए ।
बाहिर पत्रकार कृषिमन्त्रीलाई कुरिरहेका थिए । भित्र सिग्देल सर उनै मन्त्रीलाई अब स्कुल स्कुलमा कृषि पेशा र व्यवसायलाई कसरी आधुनिकीकरण गर्ने भनेर पाठ पढाइरहेका थिए ।
उनले राम्रै सुझाव दिए । सबै प्रस्ताव पेश पनि गरे । तर वैज्ञानिक र कृषि क्रान्तिको गफ दिएर कहिल्यै नथाक्ने घनश्याम भुसालले माखो मारेनन् । सिग्देलका कुरा सुनेनन् ।
जेनतेन झण्डै एक वर्ष मन्त्री भुसाल कृषि मन्त्री बने । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि भुसाल मन्त्रीको कुर्सी छाडेर सडकमा पुगे । ओलीतिर धारे हात लगाउँदै गाली गर्न थाले ।
सिग्देल सरका कुरा सबै सुन्थे । तर कहिल्यै लागू गरेनन् । गणतन्त्रपछिका सबै शिक्षामन्त्रीलाई उनले आफ्नो स्कुलको सुत्र नभनेका होइनन् । कृषिमन्त्रीलाई पनि त्यसैगरि नसुनाएका होइनन् । गिरिराजमणिदेखि घनश्याम भुसाललेसम्म एक कानले सुनेर अर्को कानले उडाए ।
तर पनि उनले हिम्मत हारेनन् । जनज्योतीको प्रयोग, प्रमाण र सफलताको स्रोत उनले निरन्तर सिंहदरबारमा सुनाइरहे । तर कसैले राम्ररी सुनेनन् । सुनेपनि त्यसलाई राष्ट्रिय बजेटमा समावेश गरेर लागू गर्न चाहेनन् ।
ओली सरकार ढलेर देउवा सरकार बन्यो । अर्थमन्त्री बने कर्णालीकै जनार्दन शर्मा । उनले पुरक बजेटमा पहिलोपटक जनज्योतीको सुत्राधार ‘पढ्दै कमाउँदै कार्यक्रम’ समेटे । पहिलो चरणमा देशका विभिन्न ३० वटा विद्यालय छनौट गरियो ।
१४ करोड बजेट बिनियोजन गरिएको छ । अहिले पनि विभिन्न विद्यालयमा यो कार्यक्रम लागू भएको छ । अब सैद्धान्तिक ज्ञान मात्रै होइन, गाउँघरमै भइरहेका व्यवसायलाई स्कुलदेखि नै व्यवस्थित गरेर सञ्चालन गर्न सक्ने गरि आधुनिक र प्राविधिक ज्ञान दिने यो कार्यक्रमको उद्धेश्य हो ।
यसले उनी खुशी छन् । सिंहदरबारमै कर्मचारीले सिग्देललाई अगाडि राखेर कार्यविधि बनाए । त्यसलाई मस्यौदा गरे । शिक्षा मन्त्रालय, कृषि मन्त्रालयसँग मिलेर बनाइएको कार्यविधिमा अर्थ मन्त्रालयले पूरा साथ दियो ।
अहिले पहिलो चरणमा छनौट भएका विद्यालयमा पुगेर कार्यक्रम संयोजकका हैसियतमा सिग्देल पढ््दै कमाउँदै कार्यक्रमको लक्ष्य, उद्धेश्य र नेपाललाई आत्मनिर्भर बनाउने बाटोमा देशलाई लैजाने सुत्र सिकाइरहेका छन् ।
तर पनि उनले देशलाई कसरी उत्पादनमा आत्मनिर्भर बनाउने भन्ने प्रश्नको उत्तर खोजिरहेका छन् । बुधबा यसबारे जिज्ञासा राख्दा भने, ‘कार्यक्रम धेरै स्कुलमा राम्रोसँग लागू भएको छ । तर मैले त हामीले खाने खुर्सानीदेखि खरानीसम्म पनि ठूलो मात्रामा आयात भइरहेको सुन्दैछु । यसरी त कसरी देश बन्ला खोई ?’
यसरी पक्कै देश बन्दैन । उनलाई राम्रोसँग थाहा छ । तर उनी थाहा पाएर बसेका छैनन । सरकार शिक्षामा विदेशी ऋण खोजेर सुधार कार्यक्रम ल्याउन लागिरहेका बेला उनी विद्यालयमै विद्यार्थीलाई पढाउने र पढ्दै कमाउँने कुरा सिकाइरहेका छन् ।
त्यही कुरा देशभरका विद्यालयमा लागू गर्न कार्यक्रम ल्याएका सिग्देल नेपाली माटो, अवस्था, परिस्थिती र सुहाउँदो शिक्षाका नायक हुन् । जो बाहिर गफमा आधुनिक र प्राविधिक भनिन्छ । त्यसको ‘रियल’ प्रयोग उनले गरिरहेका छन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया