शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

‘रेमिट्यान्सले देश चलाउने श्रमिकलाई मताधिकार हुनुपर्छ’

काठमाडौँ : दक्षिण एसियाली ट्रेड युनियन परिषद् सार्कटुकका महासचिव एवं ट्रेड युनियन कांग्रेसका पुर्व अध्यक्ष लक्ष्मण बहादुर बस्नेतले वैदेशिक रोजगारीमा रहेका कामदारहरुले कार्यस्थलबाटै मतदान गर्न कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।      

बुधबार राजधानीमा नेपाल पोलिसी ईन्स्टिच्युट एनपिआईद्वारा आयोजित नीति संवाद शृङ्खलामा महासचिव बस्नेतले यस्तो धारणा राखेका हुन् । महासचिव बस्नेतले भने, ‘वैदेशिक रोजगारीबाट दुखगरी पठाएको पैसाले नेपालमा शिक्षा, स्वास्थ्य, दैनिकी लगायत अर्थतन्त्रलाई धानेको छ तर त्यसको बदलामा राज्यले उनीहरुप्रती कुनै कल्याणकारी कार्यक्रम ल्याउन सकेको छैन ।’ 

जिडिपिमा ३० प्रतिशत भन्दाबढी योगदान रेमिटेन्सको छ, त्यसैले कार्यस्थलबाट मतदान गर्ने व्यवस्थाकालागी कानुन बनाएर अगाडि बढ्न जरुरी भइसकेको छ ।  कार्यक्रममा सहभागी आप्रवासी कामदारबारे अधिकारकर्मीहरुले आप्रवासी कामदारहरुले कार्यस्थलबाटै मतदान गर्न पाउने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

सर्वोच्चले २०७४ मै विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन फैसला गरेको थियो । कार्यक्रममा साउदी अरेबिया, कतार, मलेसिया र भारत लगायत देशमा कार्यरत आप्रवासी कामदारहरु समेत सहभागी थिए । रासस