मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

कमल थापा भन्छन्– ‘म एमसीसीको विरोधमा छैन, जनतामा व्याप्त आशंका निराकरण होस्’

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालसँगको अमेरिकी सहयोग सम्झौता– मिलेनियम च्यालेन्ज कम्प्याक्टको विरोधमा नभएको बताएका छन् । इकागजसँग कुरा गर्दै थापाले एमसीसीको अनुदान सहायताको विषयलाई लिएर जनतामा व्यापक आशंका रहेकोले त्यसको निराकरण होस् भन्ने चाहेको उल्लेख गरेका छन् । 

‘म एमसीसी सम्झौताको विरोधमा छैन, यो सहायता पूर्वाधार विकासमा उपयोग हुँदैछ,’ उनले भनेका छन्, ‘तर यसमा रहेका कतिपय प्रावधानको अपव्याख्याले जनतालाई भ्रमित पारेको छ ।’ 

थापाले आफ्नो तर्फबाट सञ्चारमाध्यममार्फत् र जनताको बीचमा रहँदा यसबारेमा बुझाउने प्रयास गरेको पनि बताए । 

उनले जनतामा यो हदसम्मको भ्रम फैलिएकाले त्यसलाई निराकरण गर्नु सरकारको प्राथमिक दायित्व भएको भनेका छन् । थापाले अहिले विरोधमा रहेका सबै दल र नेताहरू २०६८ यता एमसीसीसँगको साझेदारीलाई अघि बढाउन भूमिका खेलेको तर सडकमा र जनताको बीचमा गएर भ्रम छर्ने द्वैध चरित्रले जवाफदेहीता समाप्त पारेको बताएका छन् ।