शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

उडिरहेको जहाजभित्र वर्षगाँठ मनाउने क्याप्टेनलाई स्पष्टीकरण

ग्राफिक्स : यमन मानन्धर

काठमाडौं : नेपाल वायु सेवा निगमकी क्याप्टेन भावना गिरी पन्तलाई उडिरहेको विमानमा वैवाहिक वर्षगाँठ मनाइएको बारे निगमले स्पष्टीकरण सोधेको छ । क्याप्टेन पन्तले गत माघ २४ गते काठमाडौंबाट दुबई गएको न्यारोबडी (९एन एयरबस ३२०) मा आफ्ना काकाकाकीको वैवाहिक वर्षगाँठ आयोजन गरेको समाचार इकागजले प्रकाशित गरेको थियो ।

निगमको फ्लाइट अपरेशन डाइरेक्टर क्याप्टेन दिपुराज ज्वार्चनले वर्षगाँठ मनाउने क्याप्टेन पन्तलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको बताए । ‘यो खबर थाहा पाएपछि हामीले क्याप्टेन पन्तलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र काटेका छौं,’ ज्वार्चनले इकागजसँग भने ।

क्याप्टेन पन्तले ३६ हजार फिटमा उडिरहेको विमानमा आफ्ना काकाकाकीसहित केक काटेर वर्षगाँठ मनाउने बन्दोबस्ती गरेकी थिइन् । जहाजभित्र कोभिड र सुरक्षा प्रोटेकलका कारण मास्क खोल्न पाइँदैन । दुई मिटरको दूरी कायम गर्नैपर्ने र अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निगमको मानक सञ्चालन प्रक्रिया (एसओपी) छ । त्यस्तै सुरक्षा प्रोटोकलमा पनि उडिरहेको जहाजमा क्याबिन क्यू्रलगायत कसैले पनि अन्य गतिविधि गर्न बर्जित छ । 

उडिरहेको जहाजभित्र जन्मोत्सव, विवाहोत्सव लगायतका गतिविधि गरेर निगमका विमानचालक तथा विमान परिचारिकाहरु विवादमा र कारबाहीमा पर्दै आएका छन् । यसअघि गत वैशाखमा वरिष्ठ एयर होस्टेस निलीमा शाही पनि उडिरहेको जहाजभित्र आफ्नो जन्मोत्सव मनाएको कारण तीन महिना भूमिस्थ (ग्राउण्डेड) भएकी थिइन ।