आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

आफ्नो ओटिपी र पासवर्ड कसैलाई नदिनुहोस् : साइबर ब्यूरो

काठमाडौँ - नेपालमा पछिल्लो समय विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सर्वसाधारणलाई सचेत गराएको छ । ब्यूरोले एक सूचना जारी गर्दै ब्यूरोले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा जोखिम हुनसक्ने भएकाले सतर्क अपनाउन आग्रह गरेको हो । 

यस्ता भ्रामक कुरामा विश्वास नगर्न साथै कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड र ओटीपी वा संवेदनशील विषयको जानकारी कोही कसैलाई पनि नदिई प्रविधिको दुरुपयोग तथा ठगी हुन बाट सतर्कता अपनाउन ब्यूरोले अनुरोध गरेको छ ।

‘पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, इमो लगायतका विभिन्न सोसल एप्समार्फत भिडिओ, अडियो तथा टेक्स्ट म्यासेज गरी मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहहको गोप्य सूचना लिने तथा तपाईलाई चिठ्ठा परेको छ भन्दै ट्याक्स क्लियरेन्स गर्नुपर्ने भएकाले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको ब्यूरोले जनाएको छ ।

साथै नेपाल राष्ट बैंक भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्धारा समय समयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा जारी भएका सूचना समेतबाट जानकारी लिन ब्यूरोले अनुरोध गरेको छ ।