नेपालमा झन् झन् बढ्दै छारेरोगका बिरामी

काठमाडौँ–काठमाडौँ कपनकी १८ वर्षीया इभाङ्का रानालाई विगत छ वर्षदेखि छारे रोग देखिएको छ। उनलाई १२ वर्षको उमेरदेखि नै छारे रोग देखिएको हो। उनलाई पूरै जिउ काम्ने र बेहोस हुने लक्षण रहेको छ।
“छारेरोग देखिनै बित्तिकै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेको हुँ”, उनी भन्छन्, “नियमित औषधि सेवनले छारेरोग नियन्त्रणमा आएको छ ।” औषधि सेवनले रोग कम हुने उनको अनुभव छ ।
सुरुसुरुमा उनमा छारेरोगको लक्षण दिनहुँ हुने गर्दथ्यो । पछि औषधि सेवनले महिनामा सातदेखि आठ पटकसम्म शरीर काम्ने र ढल्ने लक्षण देखिएकामा अहिले भने नियमित औषधि सेवनले लक्षण घटेर चारदेखि पाँच पटक मात्र हुने गरेको छ । उनी ढल्नुअघि कमजोर महसुस हुने, मांसपेसीले काम नगरेको हुने र काम्नेसँगै तथा त्यसको पाँचदेखि छ मिनेटभित्रमा ढल्ने र बेहोस् हुने गर्नुहुन्छ ।
“ढल्नेबेलामा टाउको दुख्ने र थाहा नहुने जस्ता समस्या हुन्छ”, उनी भन्छन्, “त्यसपछि म बेहोस हुन्छु र ढल्ने गर्दछु ।” उनलाई प्रायः बिहान उठ्ने बेला र साँझ सुत्ने बेला शरीर काम्ने गर्दछ । दिउँसो भने कहिलेकाहीँ मात्र शरीर काम्ने गरेको उनको भनाइ छ । कपनकी राना एउटा उदाहरण मात्र हो । उहाँजस्ता हजारौं छारेरोगी नेपालमा छन् ।
के हो छारेरोग, कसरी लाग्छ ?
महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरका उपनिर्देशक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा सुमन भट्टराईले नेपालमा प्रति एक हजारमा ७.३ जनामा छारेरोगको समस्या देखिने गरेको बताए । उनकाअनुसार छारेरोग बालबालिकादेखि वृद्धवृद्धासम्म लाग्ने गरेको छ । कसैलाई जन्मिँदा नै मानिसको मस्तिष्कमा अक्सिजन नपुगेर छारेरोग लाग्न सक्ने डा भट्टराई बताउँछन् । मानिसको उमेर बढ्दै गएपछि प्यारालाइसिस, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस जस्ता समस्याले गर्दा पनि छारेरोग देखिने गरेको उनले प्रष्ट पारे।
“छारेरोग ५० प्रतिशतमा कारण खुल्ने हुन्छन्, तर ५० प्रतिशत भने कारण नदेखिने खालको हुन्छ”, उनले भने, “नून, क्याल्ससियम र सुगरको मात्रा कम भए पनि पनि छारेरोग देखिने गर्दछ ।” छारेरोग मानिसको मस्तिष्कमा आउने कुनै पनि अस्वाविक विद्युतीय तरङग हो । त्यसले मस्तिष्कको भागलाई अनियन्त्रित गर्दछ । त्यस्तो बेला मानिसको सचेतना र अरु गतिविधि अस्वभाविक देखिने उनी बताउँछन् ।
छारे रोगका लक्षण
चिकित्सकका अनुसार नेपालमा देखिने जनरललाज्ड टोनिकक्रोनिक छारेरोग हो । यस्तो प्रकारको रोगमा मानिसको सबै भाग काप्ने गर्दछ । यो छारेका सुरुमा मानिस एक्कासि बेहोस हुने, हात खट्टा काम्ने, कहिले खुम्चने र कहिले खुल्ने, हातखुट्टाको झट्का दिने र शरीर कम्पन्न हुने गर्दछ । साथै शरीरको एकै भागमा मात्र पनि छारे देखिन सक्छ जसलाई फोकल इपिलेप्सी भनिन्छ । यस्तै मानिसमा जिब्रो टोक्ने, मुखमा फिँज आउने, आँखा सेतो भाग पल्टिएको, दिसापिसाब आएको लक्षण पनि हुने गर्दछ ।
छारेरोग भएका मानिसमा जटिलता केही नभएमा एकदेखि पाँच मिनेटभित्रमा होस आउन सक्दछ । बिरामी होसमा आए पनि टाउको दुख्ने, वाकवाकी लाग्ने, केही बिर्सिए जस्तो हुने (के हो के हो), निद्रा लागेको जस्तो हुने र केही समय १० देखि १५ मिनेटभित्रमा सामान्य अवस्थामा आउने गर्दछ ।
छारेरोगका बिरामी बेहोस भएर लड्नुभन्दा अगाडि छोटो समयका लागि इन्द्रेणी देखिएको, शरीरमा विद्युतीय तरङग आएको महसुस गर्ने र पेटमा केही असहज महसुस हुने जस्तो पनि समस्या आउने पाटनस्थित मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा वासुदेव कार्की बताउन्छन् । छारेरोग जुनसुकै ठाउँमा हुनसक्ने भएकाले दुर्घटनासमेत निम्तिन सक्ने उहाँले प्रष्ट पारे।
“लामो समयमम्म उपचार नगरेर छारेरोगले दुर्घटना निम्त्यााउन सक्छ”, डा कार्कीले भने, “यसले मानिसमा मनोसामाजिक, वौद्धिक र व्यक्तित्वमा पनि समस्या ल्याउँछ, छारेरोग दीर्घ प्रकृतिको स्यानुसँग सम्बन्धित स्वास्थ्य समस्या भएको र उपचार नगर्दा यसले अरु जटिलता ल्याउनसक्ने भएकाले समयमा नै उपचार गर्नुपर्दछ ।”
मधुमेहको जटिलता, मिर्गौलाका बिरामी, कलेजोका बिरामी, टाउकोमा चोटपटक लागेका, ट्युमर (मासु पलाएको), दिमागमा सङ्क्रमण जस्ता बिरामीलाई छारेरोग देखिने सम्भावना बढी हुने डा कार्कीको भनाइ छ । छारेरोगको उपचार यस्ता रोगलाई छुट्टयाएर गर्नुपर्दछ ।
नियमित औषधि सेवनबाट नियन्त्रणमा हुन्छ
छारेरोग नियमित औषधिको सेवनबाट निको पार्न सकिन्छ । डा कार्कीका अनुसार छारेरोगको लक्षण देखिनासाथ औषधि खाएपछि यो रोग निको हुन्छ । उनले लक्षण नदेखिएको तीनदेखि पाँच वर्षसम्म औषधि नियमित खाँदा निको हुने बताए । गर्भावस्था, सुत्केरी र स्तनपान गराइरहेका महिलाले चिकित्सकको सल्लाहमा नियमित स्वास्थ्य जाँच गरेर मात्र औषधि सेवन गर्नुपर्दछ । नवजात शिशुमा हुने जन्मजात ओठतालु फाट्ने जस्तो समस्या आउने गर्दछ । छारेरोग मानिसमा हुने तनाव, रक्सी सेवन, अनाश्यक औषधिको परिवर्तन, धूमपान, हार्मोन परिवर्तनले गर्दा बढ्दो रुपमा रहेको छ ।
यद्यपि सबै काम्ने बिरामी छारेरोगका बिरामी नहुने न्युरोलोजिष्ट डा भट्टराईले प्रष्ट पारे । “निद्रामा हातखुट्ट झस्किने, सुतेको बेला तर्सने, कसैको मुख चलाइरहने बानी जस्ता समस्या छारे नहुन पनि सक्छ”, डा भट्टराईले भने, “मनको तनावले पनि छारेरोग जस्तै लक्षण देखिन सक्छ ।”
वर्सेनी बढ्दै छारेरोग
हरेक वर्ष नेपालमा छारेरोगको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत पाँच वर्षको तथ्याङ्कले छारेरोग का बिरामीको सङख्यामा वृद्धि हुँदै गएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार नेपालमा छारेरोगको सङ्ख्या पनि बढिरहेको हो।
प्रणालीका तथ्याङ्क अधिकृत पुष्प श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ मा २४ हजार ५३२ जनामा छारेरोग लागेको पुष्टि गरे । यसअघि आव २०७३÷७४ मा १५ हजार ६४७ जनामा मात्र छारेरोग पुष्टि भएको थियो । श्रेष्ठका अनुसार आव २०७४÷७५ मा १८ हजार ३८८, आव २०७५÷७६ मा १९ हजार ६४४ र आव २०७६÷७७ मा २१ हजार १६४ जनामा छारेरोग देखिएको छ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया