सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

​बहुक्षेत्रीय पोषणका लागि ४६ लाख

गलेश्वर- हिमाली जिल्ला म्याग्दीका छ ओटै स्थानीय तहमा बहुक्षेत्रीय पोषणको आंशिक प्याकेज अन्तर्गत चालू आर्थिक वर्षमा रु ४६ लाख लगानी गरिने भएको छ । गत आर्थिक वर्षदेखि नै कार्यक्रम सञ्चालनमा रहेका जिल्लाका छ ओटै स्थानीय तहका लागि चालू आर्थिक वर्षमा रु ४६ लाख थप गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सहसचिव वसन्त अधिकारीका अनुसार बहुक्षेत्रीय कार्यक्रमभित्र रहेको पोषण प्रवद्र्धनका लागि उक्त रकम लगानी गरेर आमा र बच्चाको स्वास्थ्यलाई बलियो पार्ने प्रयास गर्न लागिएको हो । उनले बेनी नगरपालिकाले रु आठ लाख र बाँकी रहेका मङ्गला, धौलागिरि, अन्नपूर्ण, रघुगङ्गा र मालिका गाउँपालिकाले समानरुपमा रु सात–सात लाख ६० हजार प्राप्त गर्ने बताए ।    
    
“यो रकम स्थानीय तहमा पठाएपछि कार्यक्रममा राखिएका शीर्षक र उपशीर्षकमा खर्च गर्नुपर्छ । यसबाट सुनौला हजार दिनका आमा र बच्चा तथा पाँच वर्षसम्मका बच्चा तथा आम नागरिक सबैको पोषणको अवस्थामा सुधार ल्याउने खालका कार्यक्रम सञ्चालन गरेको हुनुपर्छ,” सहसचिव अधिकारीले भने। । सुनौला हजार दिनको अवधिमा ८० र पाँच वर्षभित्रमा ९० प्रतिशत मस्तिष्कको विकास हुन्छ । बच्चालाई पोषणको आवश्यकता पर्ने बेला नै यही हो । यसलाई प्रभावकारी बनाउने काम स्थानीय तहको भएको उनको भनाइ थियो।

पञ्चाननब्बे प्रतिशत क्रोनिक रोग खानाका कारणबाट सुरु हुने भएकाले खानपानका विषयमा विशेष ध्यान दिन र त्यसका लागि स्थानीय तहहरूले जोड दिनुपर्ने खालका कार्यक्रम ल्याउनु आवश्यक भएकोले कार्यक्रम लागू भएका ठाउँमा सोही अनुसारको सहजीकरणको काम भइरहेको बताइएको छ।    
बालबालिकाको स्वास्थ्यमा समस्या आउन नदिन विद्यालयमा खाइने खाजा, अस्पतालमा प्रदान गरिने खाना, खाद्य सुरक्षा र सुरक्षित खाने पानीमा विशेष जोड दिनुपर्ने आवश्यकता रहेको सम्बद्ध स्वास्थ्यकर्मीका भनाइ थियो । बहुक्षेत्रीय पोषण कार्यक्रम देशका ७७ जिल्लामध्ये ७४ जिल्लाका ७२०स्थानीय तहमा कार्यान्वयन गरिएको छ । कास्की, चितवन, काठमाडौँ, भक्तपुर र ललितपुरमा भने यो कार्यक्रम लागू गरिएको छैन ।