मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

कमल थापाले भने- पार्टी फुटायो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ

फाइल फाेटाे

काठमाडौँ - कमल थापाले नयाँ पार्टी खोल्नु आफ्नो बाध्यता रहेको बताएका छन् । राप्रपा परित्याग गरेका थापाले राप्रपाबाट अलग भएपछि चुपचाप बस्न नमिलेको बताउँदै नयाँ सिर्जना गर्नु बाध्यता भएको बताएका हुन् । उनले पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिएको आरोपसमेत लगाएका छन् । 

आज ट्विट गर्दै थापाले पार्टी फुटायो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लागेको बताए । उनले लेखेका छन्, 'म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।' 

थापाले पार्टी भित्र पनि बस्न नदिने र बाहिर निस्कदा पनि सुख नपाउने गुनासो गरे । राप्रपाको महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि थापाले असन्तुष्टि जनाएका थिए । उनले केही दिन अघि मकवानपुरमा आयोजित एक कार्यक्रममा पार्टी परित्याग गरेको घोषणा गरेका थिए । अहिले उनी नयाँ पार्टी खोल्ने अभियानमा लागेका छन् ।