सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

कर्णाली प्रदेशसभामा दुई विधेयकमाथिको छलफल जारी

फाइल फोटो

काठमाडौँ : कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको आठौँ बैठकमा दुई विधेयकमाथि छलफल जारी रहेको छ । प्रदेशसभामा विसं २०७७ कात्तिक २१ गते दर्ता भएको ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयक र कात्तिक २५ गते दर्ता भएको ‘सूचना, प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ माथिको छलफल जारी रहेको छ ।

सभामुख राजबहादुर शाहीले समय दिएसँगै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सहकारी ऐन, पहिलो संशोधन गर्न बनेको विधेयक सामान्य छलफलका लागि सभासमक्ष प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यत्रय पद्ममा खड्का, रातो कामी र विमला केसीले भाग लिएका थिए । 

यस्तै आमसञ्चार प्रतिष्ठान विधेयक आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले सामान्य छलफलका लागि सभामा प्रस्तुत गरेसँगै प्रदेशसभा सदस्य गुलाबजङ्ग शाह, मीनासिंह राखाल, दल रावल र सीताकुमारी नेपालीले छलफलमा भाग लिएका थिए ।

प्रदेशसभा सदस्यले सहकारी ऐनको संशोधन गर्न बनेको विधेयक र आमसञ्चार प्रतिष्ठान विधेयकमाथि राखेका जिज्ञासा र सुझावमा कृषि र कानून मन्त्रीद्वय शाहीले जवाफ दिए ।

सभामुख शाहीले दुवै विधेयकमाथिको सामान्य छलफल आज समाप्त भएको बताउँदै कर्णाली प्रदेशसभा नियमावली, २०७४ को परिच्छेद १५, व्यवस्थापन कार्यविधिको नियम ९ को उपनियम १ अनुसार संशोधनको सूचना पेश गर्न प्रदेशसभा सदस्यलाई ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी दिए । अर्को बैठक बिहीबार १ बजे बस्ने जनाइएको छ । रासस