सफाइमा नम्बर वान बन्ला त कीर्तिपुर ?

काठमाडौं : कीर्तिपुस्थित बाघभैरव मन्दिरको दाहिनेपट्टि सानो गल्ली छ । गल्लीमा मकैका घोगामा दानाहरुजस्तै मिलेर बसेका घरहरु छन् । ती घरहरू एकापसमा भिन्न छन् । रंग मात्रै होइन, बनावट पनि एक घरको अर्काे घरसँग मिल्दैन । कुनै घरका इँटा माटाले जोडिएका छन्, त कुनैका बालुवा सिमेन्टले । तर, थुपै्र कुराहरुमा फरक भए पनि यी घरहरुको एउटा कुरामा भने समानता छ । त्यो हो- गल्लीका हरेक घरको ढोकाबाहिर हरियो रंगको डस्टबिन राखिएका छन् जसमा ‘स्वच्छ हराभरा कीर्तिपुर’ लेखिएका छन् ।
कीर्तिपुर नगरपालिकाको वडा नं १ मा रहेको यो गल्लीका सडक सफा छन् । केही घरको ढोकाबाहिर फुलका गमला पनि छन् । डस्टबिनमा लेखिएजस्तै कीर्तिपुरलाई स्वच्छ हराभरा बनाउने प्रयास यो गल्लीमा गरिएको देखिन्छ ।
कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन शाखाका ज्ञानबज्र महर्जनका अनुसार केही समयअघि नगरपालिकाका केही वडाले आफ्ना वासिन्दालाई यस्ता डस्टबिन बाँडेका हुन्, जसले गल्ली सफा राख्ने काम गरेको छ ।
‘यो कीर्तिपुरलाई सफा राख्न गरिएको सानो प्रयास हो,’ उनी भन्छन्, ‘पूरै कीर्तिपुर सफा भइसकेको छैन । हामी सफा गर्ने प्रयासमा गर्दैछौँ ।’
कीर्तिपुर नगरपालिकाले विभिन्न कार्ययोजना बनाउनुका साथै विभिन्न प्राइभेट संघसंस्था सँग समन्वय गरी नगर सफा राख्ने काम गरिरहेको छ । त्यसबापत प्राइभेट कम्पनीले नगरपालिकालाई उल्टै पैसा तिरिरहेको छ । त्यस्तै नगरपालिकाले कीर्तिपुर फोहोर व्यवस्थापन सेवा प्रा.लिसँग पनि सहकार्य गरेको छ ।
यसले कीर्तिपुरका विभिन्न ठाउँमा कुहिने र नकुहिने फोहोर फरक दिन फरक समयमा फरक गाडीले उठाउँछ । घरकै दैलोमा पुगेर कुहिने र नकुहिने फोहोर संकलन भइरहेको छ । हरियो गाडीले कुहिने फोहोर र खैरो गाडीले नकुहिने फोहोर संकलन गरिरहेका छन् । कुहिने फोहोरलाई कम्पोष्ट मल उत्पादन तथा पुनः प्रशोधन केन्द्रमा लगि मल बनाउँछ । प्लास्टिक जन्य सामाग्रीहरुको व्यवस्थापन फरक तरिकाले गर्छ ।
नगरपालिकाले ‘टिपनटापन फोहोर संकलक’ पनि चार जना भर्ती गरेको छ, जसले कीर्तिपुर नगरको चारैतिरको रिङरोड क्षेत्रमा फ्याँकिएका फोहोरहरु दिनभर संकलन गर्छन् ।
त्यस्तै नगरपालिकाले स्थानीयलाई नै सरसफाइमा ध्यान दिन जनचेतना दिनको लागि जनसहभागितामा नै सफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाल क्लब, महिला समुह लगायत विभिन्न समुहरुलाई समेत यस कार्यबारे सूचना दिई स्वयंसेवकको रुपमा सफाइ गर्न लगाइरहेका छन् ।
त्यस्तै राति-राति आँखा छली चोभार क्षेत्रमा फोहोर फ्याक्न आउनेहरु टन्नै हुने नगरपालिकाका फोहोर व्यवस्थापन शाखाका ज्ञानबज्रले बताए । उनीहरुलाई पनि समातेर पटकपटक दण्ड दिइसकिएको छ । कुनै पनि ठाउँमा फोहोर फालिरहेको भेटिएमा स्थानीयले प्रहरीकहाँ उजुरी गरेपछि उनीहरु समातिन्छन् र कारवाही गरिन्छ । त्यसकारण स्थानीय नै जागरुक हुनुपर्ने उनले बताए ।
जबसम्म स्थानीय सचेत हुँदैनन्, तबसम्म नगरपालिकाले मात्रै सफा गरेर नगर सफा नहुने फोहोर व्यवस्थापन शाखाका ज्ञानबज्र बताउँछन् । उनी भन्छन्, ‘स्थानीयले पनि पहल गरे मात्रै नगर सफा हुने हुन्छ ।’
त्यस्तै पहिले कीर्तिपुरको विभिन्न स्थानमा खुल्ला डम्पिङ साइट थियो । कीर्तिपुरकै बाघभैरव मन्दिरको पछाडिपट्टि रहेको डम्पिङ साइट पनि अझै सफा भइसकेको छैन । कीर्तिपुरमा भएका यस्ता डम्पिङ साइटहरु पनि विस्तारै हटाउँदै जाने उनले दावी गरे । भने, ‘मन्दिरहरुमा डस्टबिन राखिएको छ, तर पुजाहरु हुँदा भोज खाएर मानिसहरु जथाभावी खाएका प्लास्टिकका सामानहरु फालिदिन्छन् । त्यस्तै मन्दिर वरपर घुम्न जाने पर्यटकहरु पनि खानेकुरा खाएर फोहोर फ्याँकिदिन्छन् । यसलाई व्यवस्थापन गर्न हामी कार्ययोजना बनाउँदै छौँ ।’
त्यस्तै आन्तरिक र बाह्य पर्यटकका लागि सडकमा फोहोर नगर्नको लागि सन्देश दिने उद्देश्यले सूचना पनि सार्वजनिक गर्न लागेको उनले बताए । चम्पादेवी जाने रुट पनि सफा राख्नको लागि केही दूरीमा डोको राख्ने तयारी भइरहेको उनले सुनाए ।
‘हामीले आफ्नो तर्फबाट कीर्तिपुरलाई सफा राख्न कोशिस गरिरहेकै छौँ,’ उनी भन्छन्, ‘यसमा हामीले मात्रै कोशिस गरेर पुग्दैन । स्थानीय र यहाँ आउने पर्यटक दुबैको साथ चाहिन्छ । तब मात्रै कीर्तिपुर पूर्णरुपमा सफा हुन्छ ।’

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया