आपत्कालीन कार्य सञ्चालन केन्द्र तयार

वीरेन्द्रनगर : सुर्खेत जिल्लामै वीरेन्द्रनगर नगरपालिकाले पहिलो आपत्कालीन कार्य सञ्चालन केन्द्र तयार गरेको छ । नगर क्षेत्रभित्र हुने विपद्का घटनाहरुको न्यूनीकरण तथा रोकथामका लागि गरिने गतिविधि अब नगरपालिकाले यही केन्द्रमार्फत सञ्चालन गर्ने जनाएको छ ।
केन्द्रमा कम्तीमा सात दिनका लागि पुग्ने खाद्यान्न तथा खानेपानीको मौज्दात वा आपूर्ति सुनिश्चितताको तथ्याङ्क रहनेछ भने आपत्कालीन अवस्थाका लागि अत्यावश्यकीय औषधि, महिला तथा शिशुलाई आवश्यक सेनिटरी प्याड, डाइपरजस्ता सामग्री राखिनेछ । केन्द्र सञ्चालनका लागि आवश्यक कार्यालय तथा मसलन्द सामग्री, आपत्कालीन उद्धारका लागि सामग्री, सूचना तथा सञ्चारका साधनहरु रहनेछन् ।
नगरप्रमुख देवकुमार सुवेदीले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र व्यवस्थापन कार्यविधि निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टोपबहादुर दर्लामीको संयोजकत्वमा गठित कार्यदलले कार्यविधिको मस्यौदा तयार पारिसकेको र कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गर्नेछ ।
कार्यविधिमा पूर्वतयारी, प्रतिकार्य व्यवस्थापन, पूर्वसूचना, सुरक्षा, सूचना तथा सञ्चार, द्रुत क्षति लेखाजोखा, केन्द्र रहने स्थान, व्यवस्थापन कर्मचारीलगायत विभिन्न विषय उल्लेख गरिएको छ । नगरपालिकाको यो केन्द्र सञ्चालनका लागि नगर प्रमुखको संयोजकत्वमा निर्देशन समिति हुनेछ । सोही समितिबाट केन्द्र सञ्चालन हुनेछ ।
नगरप्रमुख सुवेदीले केन्द्रको औपचारिक उद्घाटनपछि मात्र यहाँबाट विपद् न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका बाढी, नदी कटान, भूक्षय तथा पहिराको उच्च जोखिममा रहेको क्षेत्रमा पर्दछ । बर्सेनि यहाँ बाढी र डुबानका कारण ठूलो क्षति हुने गरेको छ । रासस

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो

करेन्ट लागेर छात्राको मृत्यु

प्रतिक्रिया