‘श्रमिकको शोषण गर्नेलाई कारबाही हुन्छ’

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिबद्धता बताएका छन् । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीच हुने संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा मन्त्रालयले सरोकारवालासँग गरेको छलफलमा उनले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताए ।
आफूले श्रमिकको हितमा परिणाममुखी काम गर्दै आइरहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाबाट सहयोगको अपेक्षा गरिएको बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरुलाई सरकारले हदैसम्मको कारवाही गर्ने उनको भनाइ थियो ।
नेपाल र युएईबीच हुने संयुक्त कार्यसमिति बैठकमा नेपालले न्यूनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुनःएकीकरण तथा पुनःस्थापना कार्यक्रम सञ्चालन जस्ता विषयलाई प्राथमिकता दिने उनले बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमिकमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताए ।
उनले बैठकमा नेपालले सातवटै प्रदेशमा सञ्चालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्यूनतम पारिश्रमिक वृद्धिलगायत एजेण्डा नेपालले प्रस्तुत गर्ने बताए ।
कार्यक्रममा सहभागीले युएईमा रहेका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई नेपालले प्राथमिकता दिनुपर्ने बताएका थिए । नेपाल र युएईबीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक युएईमा हुँदैछ ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा त्यहाँको सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ जाँदैछ । सोही क्रममा नेपाल–युएई संयुक्त कार्यसमितिको बैठक पनि आयोजना हुनेछ । रासस

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया