एक करोड लगानीमा निकुञ्जमा घाँसे मैदान बनाउने तयारी

चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेश गरेको छ । वर्षैभरी व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदूर कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको हो । एक वर्षमा रु एक करोड हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ । हालसम्म निकुञ्जभित्रका मैदान वर्षमा एक पटक मात्र व्यवस्थापनको काम गर्ने गरिन्छ । ठूला ढड्डी र मिचाहा प्रजाती फालेर घाँसे मैदानलाई व्यवस्थित गर्ने गरिन्छ ।
उहाँले घाँसे मैदान आफै बन्न दिनुपर्ने भए पनि यहाँको भू–बनोट फरक भएकाले व्यवस्थापन गर्नुपरेको जानकारी दिनुभयो । उनले भने“ निकुञ्जभित्रका घाँसे मैदान पहिलेका मानवबस्ती भएकाले मिचाहा प्रजाती, ढड्डी र बुट्यान धेरै पलाउदा नियमित व्यवस्थापन गर्नुपरेको हो ।” निकुञ्ज स्थापना हुनुअघि मानवबस्ती भएका क्षेत्रपछि निकुञ्जको घाँसे मैदान बनेका हुन् ।
निकुञ्जभित्र आठ हजार ९९५ दशमलब २ हेक्टर यस्ता मैदान छन् । यसमध्ये बजेटका आधारमा अधिकतम घाँसे मैदानको व्यवस्थापन गर्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू वर्षमा बजेट कम आएकाले थोरै मात्र घाँसे मैदान निर्माणको काम गरिँदै छ । यसवर्ष ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै छ भने ३०८ हेक्टर पुरानोलाई व्यवस्थापन गरिँदै छ ।
यसवर्ष घाँसे मैदान निर्माणका लागि रु २५ लाख र व्यवस्थापनका लागि रु ३८ लाख ३५ हजार बजेट निकासा भएको छ । तिवारीका अनुसार गतवर्ष ७०० हेक्टर घाँसेमैदान निर्माण र ४०० यस हेक्टर व्यवस्थापन गरिएको थियो । निर्माणका लागि गएको वर्ष रु तीन करोड ५० लाख र व्यवस्थापनका लागि रु ९९ लाख ५७ हजार खर्च गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ६०० हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । सो आवमा रु तीन करोड १० लाख खर्च गरिएको थियो । व्यवस्थापनमा रु २८ लाख ९९ हजार खर्च भएको निकुञ्जले जनाएको छ। सोहीवर्ष ५७ दशमलब ७९ हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको थियो । कोभिडका कारण बजेट कटौती हुँदा घाँसे मैदान निर्माणमा बजेट अपुग भएको उनले बताए।
उनले भने “यो बजेट अत्यन्त न्यून भयो । ”चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्र्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जभित्रको घाँसे मैदान राम्रो व्यवस्थापन हुन नसकेमा वन्यजन्तु मानवबस्ती आउन सक्ने बताए। घाँसे मैदान व्यवस्थापन र नयाँ निर्माणमा निकुञ्जले खर्च गर्नुपर्ने उनको भनाइ छ । निकुञ्जभित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजाती खानाका लागि मानवबस्ती प्रवेश गर्ने र दुःख दिने उनको भनाइ छ ।
मानव र वन्यजन्तु बिचकोद्वन्द्व कम गर्नका लागि निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थित हुनुपर्ने विज्ञ बताउछन् । निकुञ्जमा ६९४ गैँडासँगै बाघका आहारा प्रजाती चित्तल, जरायो, बँदेल जस्ता वन्यजन्तुका लागि घाँसे मैदान आवश्यक पर्दछ । कोभिडका कारण पर्यटक घटेसँगै मध्यवर्तीमा खर्च हुने रकम न्यून भएको छ। यसका कारण मध्यवर्ती सामुदायिक वनले घाँसे मैदानमा खर्च गर्नका लागि बजेट अभाव छ ।
पर्या–पर्यटनमा काम गर्ने सामुदायिक वनमा पर्यटक घुम्न न्यून आउँदा आम्दानी हुन पाएको छैन । यसले पनि दुर्लभ वन्यजन्तुको बासस्थान व्यवस्थापन राम्रो हुनसकेको छैन ।

दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

प्रतिक्रिया