सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

फेरि बल्झियो एनसेलको कर विवाद

आयकर तिर्न पत्राचारपछि सर्वोच्च पुग्यो एनसेल, मंगलबारलाई सर्‍यो पेशी

काठमाडौं : दुई वर्षअघि सर्वोच्च अदालतले टुंगोमा लगाएको एनसेलको कर विवाद फेरि बल्झिएको छ । ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा चित्त नबुझेपछि एनसेलले फेरि सर्वोच्च गुहारेको हो ।

गत पुस १० मा पाँच वर्षअघिको आयकर बुझाउन भन्दै ठूला करदाता कार्यालयले एनसेललाई पत्र काटेको थियो । कार्यालयले करिब ६० अर्ब रुपैयाँ आयकर तिर्नुपर्ने दाबी गरेको छ । २०७२ को साउन १ देखि चैत २९ सम्मको आयकर निर्धारण गरेको हो ।

ठूला करदाता कार्यालयबाट जारी भएको कर निर्धारणको सूचना र सो सूचना जारी गर्ने सम्बन्धमा भएका सबै निर्णयहरु बदर गर्न एनसेलको माग छ । रिटको अन्तिम किनारा नलागेसम्म कर निर्धारण कार्यान्वयन नगरी यथास्थितिमा राख्‍न उसले अन्तरिम आदेशसमेत मागेको छ ।  एनसेलको रिटमाथि आजै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ  हुने गरी पेशीमा चढेको थियो । हेर्न नभ्याइने भएपछि भोली (मंगलबार) लाई पेशी तोकिएको सर्वोच्चले जानकारी दिएको छ ।

ठूला करदाता कार्यालयले २०७६ मंसिर १९ मा गरेको पुँजीगत लाभकर निर्धारण गरेको थियो । एनसेलले पुँजीगत लाभकर भुक्तानी गरिसकेको छ । आफूले सेयर कारोबारसम्बन्धी आयकर ऐन, २०५८ बमोजिमको कर दायित्व पूरा गरेको एनसेलको दाबी छ ।

ठूला करदाता कार्यालयले संसोधित कर निर्धारणको सूचना विगतमा सर्वोच्च अदालतको फैसला र आफैंले जारी गरेको कर चुक्ता प्रमाणपत्रहरूसँग बाझिन गएको एनसेलको भनाइ छ ।

एनसेलले रिट निवदेनमा भनेको छ, 'हालको विवाद विगतमा सर्वोच्च अदालतमा पेश भई पूर्ण इजलाशले दुईपटक फैसला गरी किनारा लगाई सकेको लामो विवादको एउटा अंश मात्रै हो ।'

के हो आयकर विवाद ?

आर्थिक वर्ष २०७२/७३ मा एनसेलले स्वंय कर निर्धारण गरी विवरण पेश गरेको थियो ।

२०७२ चैत २९ सम्मको स्वयंकर निर्धारण गर्दा आफ्नो सम्पत्ति तथा दायित्वको उचित मूल्यांकन नगरेको ठूला करदाता कार्यालयको दाबी छ । गत पुस १० मा कार्यालयले संशोधित कर निर्धारणको सूचना एनसेललाई पठायो । एनसेलले गरेको सम्पत्ती तथा दायित्वको मूल्यांकनलाई कार्यालयले अमान्य गरेको छ । विशेषतः एनसेलले कम्पनीको खुद मूल्यलाई आधार मानी करयोग्य आय कायम गर्नुपर्नेमा उसको जोड छ ।

स्वयंकर विवरण पेश गर्दा व्यवसाय मूल्यलाई आधार लिनुपर्ने कार्यालयको भनाइ छ । आजियाटा कारोबारको सम्बन्धमा रेनोल्ड्समा रहेका सेयरहरुबापत आजियाटा यूकेले टेलियासोनेरा नर्वेलाई तिरेको रकमलाई मुख्य आधार लिएको देखिन्छ । २०७३ असोज २१ मा एनसेलले कर अवधिको लागि स्वयंकर निर्धारण विवरण पेश गरेको थियो ।

एनसेलले आजियाटा कारोबार अन्तर्गत रेनोल्ड्समा भएका सेयरहरु र सुनिभेरा कारोबारअन्तर्गत एनसेलका सेयरहरु खरिद-बिक्री भएको मितिमा कायम रहेका आफ्ना सबै सम्पत्ति र दायित्वहरुको मूल्यांकन गरेको थियो । यो कारोबार भएको दिनको सम्पत्ति तथा दायित्वहरुको कायम भएको खूद मुल्य र किताबी मूल्यको फरक हिसाब गरी लाभ वा नोक्सानीको हिसाब गरेको थियो ।

करको प्रयोजनको लागि लाभ वा नोक्सानीको हिसाव गर्दा खूद नोक्सानी भएको देखिएको एनसेलले बताएको छ । यो हिसाबको आधारमा कर अवधिको स्वयंकर निर्धारण विवरण पेश गरेको एनसेलले जानकारी दिएको छ । करयोग्य आय कायम गरी संसोधित कर निर्धारणमा चित्त नबुझेमा प्रमाण पेश गर्न पुस १३ मा अर्को सूचना जारी गरेको छ ।