जसलाई हुन्छ दीर्घ कोभिडको जोखिम

वैज्ञानिकहरूका अनुसार धेरै उमेर अनि सुरुमै थुप्रै लक्षणहरू देखिनेहरूमा 'दीर्घ कोभिड' अर्थात् लामो समयसम्म स्वास्थ्य समस्या निरन्तर देखा परिरहने अवस्था हुन सक्छ । उक्त अध्ययनमा प्रत्येक बीस जना सङ्क्रमितमध्ये एक जनालाई कम्तीमा आठ सातासम्म कोभिडको असर रहिरहने अनुमान गरिएको छ ।
किङ्स कलेज लण्डनले गरेको अध्ययनमा महिला, अधिक तौल भएका तथा दमका रोगीलाई यस्तो जोखिम धेरै हुने देखिन्छ । उक्त अध्ययनको उद्देश्य सुरुमै कुन बिरामीहरूमा दीर्घ कोभिडको धेरै जोखिम छ भन्ने पत्ता लगाएर सोही अनुरूप उपचार गराउनु रहेको छ ।
कोभिड लक्षण अध्ययन एपमा लक्षण देखिएका बिरामी तथा तिनको परीक्षण नतीजा राखेर उक्त अनुसन्धान गरिएको थियो । वैज्ञानिकहरूले आँकडाको अध्ययन गरेर कस्ता मानिसलाई दीर्घ कोभिड हुने सम्भावना हुन्छ भनेर पत्ता लगाउने कोशिश गरेका छन् । अनलाइनमा प्रकाशन गरिने भनिएको नतिजाले कसलाई दीर्घ कोभिड हुनसक्छ र कस्ता अवस्थाले यो जोखिम बढ्छ भन्ने देखाउँछ ।
केले बढ्छ जोखिम ?
'पहिलो सातामै पाँच थरीभन्दा धेरै लक्षण देखिनु भनेको पनि एउटा जोखिम हो,' किङ्स कलेज लण्डनकी डा. क्लेर स्टिभ्सले बीबीसी न्यूजलाई बताइन् । कोभिड-१९ भनेको केवल खोकीमात्र होइन, यो भाइरसले शरीरका विभिन्न अङ्गमा असर पार्न सक्छ ।
तर कसैले यदि खोकी, थकान, टाउको दुखाइ र पखाला अनि गन्ध हराउनु जस्ता सबै लक्षण बेहोरेका छन् भने उनीहरू केवल खोकीमात्र लागेकाभन्दा दीघ कोभिडको बढ्ता जोखिममा हुन्छन् । अनि यस्तो जोखिम उमेर अनुसार बढ्दै जान्छ । ५० वर्षभन्दा बढीको हुनु र महिला हुनु बढ्ता जोखिम हुन्छ ।
डा स्टिभ्स भन्छिन्: 'प्रारम्भिक आँकडामा हामीले पुरुषहरू गम्भीर कोभिडको शिकार हुने र ज्यान गुमाउने बढी जोखिममा रहेको पाएका थियौँ । अहिले चाहिँ दीर्घ कोभिड हुने जोखिम महिलामा धेरै पाइएको छ ।' दम तथा फोक्सोको रोगबाहेक दीर्घ कोभिड गराउने जोखिम बढाउने अन्य शारीरिक अवस्था पाइएन ।
कस्तो हुन्छ दीर्घ कोभिड ?
दीर्घ कोभिडको यकिन लक्षण प्रत्येक बिरामीमा फरक-फरक पाइन्छ तर एउटा साझा लक्षण भने निरन्तरको थकान हो । ४८ वर्षीया बोर्नलाई मार्च महिनामा ज्वरो र खोकी आयो । सास फेर्न पनि गाह्रो भएपछि स्वास्थ्यकर्मीले अक्सिजन दिए ।
उनी अस्पताल भर्ना भइनन् । तर अक्टोबर लागिसक्दा समेत उनी दीर्घ कोभिडबाट ग्रसित छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ तर पनि उनलाई बेलाबेला गम्भीर अस्वस्थ्यता अनुभव भइरहन्छ । आफ्नो कुकुरलाई डुलाउन लैजाने जस्तो साधारण काम गर्न पनि उनलाई गाह्रो हुने गर्छ ।
उनले भनिन्: 'मलाई अचम्मसँग जोर्नी दुख्ने गर्छ र दुई साता अगाडि मैले स्वाद तथा गन्ध पूर्णत: गुमाएँ । लाग्छ जीउभरि सुन्निएको छ ।' यस्तो अवस्था बेहोर्ने उनी एक्ली होइनन् ।
अध्ययनको अनुमान अनुसार:
- प्रत्येक सातजनामध्ये एकजना कम्तीमा चार साता बिरामी पर्छन्
- प्रत्येक २० जनामध्ये एकजना कम्तीमा आठ साता बिरामी पर्छन्
- प्रत्येक ४५ मध्ये एकजना कम्तीमा १२ साता बिरामी पर्छन्
किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कस्ता सङ्क्रमित दीर्घ कोभिडको खतरामा छन् भन्ने पत्ता लगाउने कम्प्युटर कोडको निर्माण गरेका छन् । यो एकदमै भरपर्दो त छैन । तर यसले कसलाई दीर्घ कोभिड होला भनेर करिब ६९ प्रतिशत बिरामीहरूको भने ठ्याक्कै अनुमान गर्न सकेको छ ।
साथै चाँडै निको भएपनि पछि दीर्घ कोभिड हुनसक्ने एक चौथाइ बिरामीको पनि यसले ठ्याक्कै अनुमान गर्न सक्यो । डा. स्टिभ्स भन्छिन्: 'हामीलाई लाग्छ यो एकदमै महत्त्वपूर्ण छ किनभने यसबाट हामीले जोखिममा रहेकाहरूलाई दीर्घ रोग लाग्नै नदिन कस्ता रणनीति अँगाल्नु पर्छ अनि लागिहाले कस्ता उपचारात्मक काम गर्नु पर्छ भन्ने पत्ता लगाउन सघाउ पुग्छ ।' कोभिड लक्षण अनुसन्धान समूहका अगुवा प्राध्यापक टिम स्पेक्टर भन्छन्: 'मृत्युको साथसाथै हामीले दीर्घ कोभिडबाट ग्रसित हुनेहरूका बारेमा पनि सोच्नु महत्त्वपूर्ण छ ।'
स्वास्थ्य तथा सामाजिक स्याहारसम्बन्धी मन्त्री म्याट ह्यान्कक भन्छन्: 'कोभिड लक्षण समूहले गरेको अध्ययनको नतिजा गम्भीर छन् । यसले आम मानिस, खासगरि युवा वर्गलाई, कोभिड १९ कति गम्भीर छ र यसका सम्भाव्य खतरनाक परिणाम कस्ता हुन्छन् भन्ने बारे सजग गराउनुपर्छ ।'
यूकेको सरकारले दीर्घ कोभिडका लक्षणबारे जनचेतना जगाउने उद्देश्यका साथ नयाँ फिल्म बनाएको छ । राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले इङ्ग्ल्याण्डको हरेक भूभागमा दीर्घ कोभिडका उपचार केन्द्र सुरु गर्न एक करोड पाउण्डको प्याकेज घोषणा गरेको छ । (बीबीसी)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया