बसाहा सिँचाइ कुलो पक्की बनाइँदै

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका-४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गरिने भएको छ । स्थानीय किसानलाई व्यावसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई दीर्घकालीन बनाउन पक्की स्तरोन्नति गर्न लागिएको हो ।
चौदण्डीगढी नगरपालिका-४ को तीन दोभाने पहरे खोलामा मुहान राखेर स्तरोन्नति गर्न लागिएको कुलो ५७ लाख रुपैयाँको लागतमा बन्न लागेको हो । कुलो स्तरोउन्नति गर्न नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको २०-२० प्रतिशत बजेट तथा ३० प्रतिशत साना सिँचाइ कार्यक्रम (एसआइपी) को लागत सहभागितामा योजना निर्माण हुन लागेको हो ।
स्वीस सरकारको सहयोगमा जिल्लामा सञ्चालित एसआईपीले सो योजामा २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ बेहोर्ने जनाइएको छ । त्यस्तै चौदण्डीगढी नगरपालिका, प्रदेश सरकार र संघीय सरकार प्रत्येकले ११ लाख ५० हजार १ सय ६२ रुपैयाँका दरले ३४ लाख ५० हजार ४ सय ८६ रुपैयाँ बेहोर्ने नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।
योजना निर्माणमा कुल लागतको १० प्रतिशत स्थानीय किसानको जनसहभागिता अनिवार्य गरिएको छ । यसरी कुल ५७ लाख ५० हजार रुपैयाँ लागतमा पक्की सिँचाइ कुलो निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ ।
वर्षौँदेखि सञ्चालन हुँदै आएको सो बसाहा क्षेत्र कै सब भन्दा पुरानो सिँचाइ कुलो हाल सम्म कच्ची भएकाले वर्षायाममा पहिरो र बाढीले भत्काएर अवरोध हुने गरको थियो । वर्षेनी भत्कने तथा बिग्रने गर्दा किसानलाई समस्या पर्दै आएकोमा नगरपालिकाले कुलोलाई पक्की र दीर्घकालीन योजनाको रूपमा विकास गर्न चालु वर्ष बजेटको व्यवस्था गरेको हो । नगरपालिका एक्लैले सञ्चालन गर्न पर्याप्त श्रोत अभाव भएकाले प्रदेश, संघ र एसआइपीसँग साझेदारीमा पक्की कुलो बनाउन लागेको हो।
बसाहा क्षेत्रका एक सय ७० घरधुरी परिवार लाभान्वित हुने कुलोको लम्बाइ एक हजार नाै सय मिटर रहेको छ । जसमध्ये एक हजार तीन सय मिटरसम्म पक्की ढलान हुनेछ भने बाँकी ६ सय मिटर भने यसअघिकै कुलोलाई स्तरोन्नति गर्ने कार्यक्रम रहेको फिल्ड सुपरभाइजर इन्जिनियर सन्तोष साहले बताए । उनका अनुसार कुलोको चौडाइ ५० सेन्टिमिटर र उचाइ ४० सेन्टिमिटर रहनेछ ।
चौदण्डीगढी नगरपालिकाका ६५ प्रतिशत नागरिक कृषिमा आधारित भएर जीविकोपार्जन गर्दै आएको नगरपालिकाले जनाएको छ । कृषिलाई मुख्य पेसा भएकाले यसलाई व्यावसायिक र उद्यमको रूपमा विकास गर्न नगरपालिकाले हरेक क्षेत्रमा सहुलियत दिँदै आएको तथा प्राथमिक्तामा राखेर बजेट छुट्याउने गरेको जनाएको छ। नियमित पानी बगि रहने पहरे खोलामा मुहान बनाएर कुलो ल्याइने भएकाले यसले स्थानीय किसानको उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले बताए ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया